कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएकी दैलेखकी भीमा बलामीको शव अस्पतालै रहेको छ। गत चैत २९ गते दैलेखको आठबीस नगरपालिका–९, पिपलकोट घर भएकी २२ वर्षीय भीमा तामाङ (बलामी)को उपचारको क्रममा मृत्यु भएको थियो।
मृत्यु भएको एक साता बित्तिसम्दा पनि भीमाको शव अस्पतालमै रहेको हो। हालसम्म शवको पोष्टमार्टमसमेत गरिएको छैन।
भीमा चैत २८ गते दिउँसो करिब ३ बजेको समयमा पाठेघर सफा गर्ने भनेर अस्पताल पुगेकी थिइन्। त्यसपछि चिकित्सकहरूले भीमाको स्वास्थ्य जाँचपछि पाठेघरमा रगत जमेको र पानी फोका जस्तो फोहरदेखिपछि सफा गर्नुपर्ने बताए।
सोही अनुसार भीमालाई अस्पतालमा भर्ना गरिएको थियो। भोलिपल्ट दिउँसो करिब २ बजेतिर भीमाको उपचार सुरू गरेका थिए। तर, दिउँसो तीन बजेतिर उपचारको क्रममा भीमाको मृत्यु भएको थियो।
हिँडेर उपचारका लागि अस्पताल पुगेकी भीमाको पाठेघर सफा गर्ने क्रममा मृत्यु भएको खबर सुनेपछि आफन्तजन अस्पतालले लापरबाही गरेको भन्दै प्रदर्शनमा उत्रिएका थिए।
उक्त छलफलबाट कुनै सहमित नभएपछि आफन्त थप असन्तुष्ट बनेका थिए। पीडित पक्ष र अस्पतालबीच कुनै सहमति नभए पनि दुई दिनदेखि आन्दोलन रोकिएको छ भने सहमतिका लागि छलफल जारी रहेको छ।
आफन्तको आन्दोलनका कारण मृतकको पोस्टमार्टमसमेत भएको छैन।
अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने, ‘भीमाको शव पोष्टमार्टम कोठामा राखिएको छ। आफन्तसँग बारम्बार वार्ता हुँदा पनि हालसम्म कुनै निष्कर्ष निस्किएको छैन। त्यसैले पोष्टमार्टमसमेत गरिएको छैन।’
यता कर्णाली प्रदेश सरकारबाट सञ्चालनमा रहेको सरकारी अस्पताल भएका कारण मृतकलाई कुनै क्षतिपूर्ति दिने व्यवस्था नभएको अस्पतालले जनाएको छ।
‘प्रदेश अस्पताल सरकारी अस्पताल हो। यहाँ उपचारका क्रममा मृत्यु भएका बिरामीलाई क्षतिपूर्ति दिने व्यवस्था छैन,’ अस्पताल व्यवस्थापनमा रहेका एक अधिकारीको भनाइ छ, ‘हालसम्म कर्णाली प्रदेश सरकारले त्यस्तो कुनै कानुन पनि बनाएको छैन। हालसम्म यस्ता खालका बिरामी १५ सय बढीले उपचार गराएका छन्। तीमध्ये करिब ५ जनाको मृत्यु भएको छ। जसमा गम्भीर र जटिल खालको समस्याका कारण घटना घट्ने गर्दछ। डाक्टरको लापरबाहीले मात्रै हैन।’
भीमाका आफन्तहरूले उनकी ८ महिने छोरीको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्यमध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेन्टी र घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन्।
प्रदेश अस्पतालले छानबिन समिति गठन गरेर घटनाको विषयमा अनुसन्धान गर्ने जनाएको छ।
सूचना अधिकारी बस्नेतले भने, ‘पालनपोषण, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी अस्पतालले गर्न सक्दैन भन्ने कुरा आफन्तहरूसँग पहिलादेखि नै हुँदै आएको छ। अझै सहमति भएको छैन। अब अर्को कुनै तरिकाबाट वार्ता गरेर निकास त निकाल्नुपर्ने होला।’
यता प्रदेश अस्पतालका निर्देशक खड्काले कर्णालीका मुख्यन्त्री यामलाल कँडेल, अस्पताल तथा भीमाका आफन्तको बीचमा छलफल भएको बताए।
उनले भने, ‘मुख्यमन्त्रीज्यूले भनेअनुसार आवश्यक परे एक जनालाई कार्यालय सहयोगीको जागिर खुवाउने, १८ वर्ष उमेर नपुगुन्जेल नझिक्ने गरेर खाता खोलेर पैसा जम्मा गर्नका लागि व्यक्तिगत सहयोगको आह्वान गर्ने, सामाजिक विकास मन्त्रालयबाट एउटा कार्ड बनाएर उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउने मौखिक प्रतिबद्धता भएको हो।’
मुख्यमन्त्रीले नै भनेपछि अस्पताल कार्यान्वयन गर्न तयार रहेको उनले बताए।
उनले थपे, ‘यस विषयको छलफल पहिला पनि भएको थियो। आज (शुक्रबार) दिउँसो पनि यही कुरा भएको छ। सोहीअनुसार पोष्टमार्टम गर्ने र शव बुझ्ने कुरा भएर आफन्तहरू जिल्ला प्रहरी कार्यालय जानुभएको थियो। आज सबै प्रक्रिया सके पनि दाहसंस्कारका लागि ढिला हुने भएपछि भोलि बिहान पोष्टमार्टम गर्ने र शव बुझ्ने भन्ने कुरा सुनिएको छ।’
Shares
प्रतिक्रिया