ad ad

कर्णाली


माल्टा प्रकरण : ज्यानको सुरक्षा माग्दै प्रशासन पुगे पीडित, उपमेयरसहित ३ जनाविरुद्ध उजुरी

कमानसिंहविरुद्ध पक्राउ पुर्जी जारी
माल्टा प्रकरण : ज्यानको सुरक्षा माग्दै प्रशासन पुगे पीडित, उपमेयरसहित ३ जनाविरुद्ध उजुरी

फाइल तस्बिर : पीडितहरू


दिनेश बुढा
साउन १३, २०८० शनिबार १०:१५, सुर्खेत

सुर्खेतमा रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी गरिएको ठगी प्रकरणले ठूलो रूप लिँदै गएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का कमानसिंह कामीबाट ठगिएको दाबी गर्नेहरू यस विषयमा आवाज उठाउँदा पीडक पक्षबाट उल्टै ज्यान मार्ने धम्की आएको भन्दै स्थानीय प्रशासन गुहार्न पुगेका छन्। 

आकर्षक रोजगारीमा माल्टा पठाउने आश्वासन दिई गुर्भाकोट नगरपालिकाकै दर्जनौँ युवासँग लाखौँ असुलेर ४३ वर्षीय कमानसिंह सम्पर्कविहीन भएको आरोप छ। यो कुरा सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आफूहरूलाई हत्या गर्ने धम्की आएको भन्दै सुरक्षा माग गरी  पीडितहरूले शुक्रबार (साउन १२ गते) जिल्ला प्रशासन कार्यालय (सुर्खेत) मा निवेदन दिएका हुन्। 

यसरी निवेदन दिनेमा गुर्भाकोट नगरपालिका–४ सहारे बस्ने हरिबहादुर वली र गुर्भाकोट–९ बोटेचौरका नन्दलाल घर्ती, तुलबहादुर बुढा, छविकुमार खत्री, लक्ष्मी पुन र दीपक वली छन्। 

निवेदकहरूले आफूलाई दलित अभियन्ता भन्ने व्यक्तिले ‘भेरी नदीमा चोपलेर, ढुंगाले हानेर एक–एकलाई सखाप पारिदिन्छु’जस्ता धम्की दिएको उल्लेख गरेका छन्। 

पीडितहरूले जिल्ला प्रशासनमा दिएको निवेदनमा ठगी विषयलाई दलित समुदायसँग जोडी दैलेखको नारायण नगरपालिका–५ निवासी खगेन्द्र सुनार, सुर्खेतको भेरीगंगा नगरपालिका–९ बस्ने टेकबहादुर बस्याल र सुर्खेतकै गुर्भाकोट नगरपालिकाकी उपमेयरसमेत रहेकी मैना विकले यही साउन ११ गते भिडिओमार्फत आफूहरूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्। उपमेयर मैना विक ठगीको आरोप लागेका कमानसिंहकी पत्नीसमेत हुन्। उनीहरूलाई कानुनबमोजिम कारबाही गर्न निवेदकहरूले माग गरेका छन्। 

यस्तो छ उजुरी
२०८०/०४/११ गतेका दिन मोबाइलमा भिडिओमार्फत हामीमाथि उल्लेखित पीडित निवेदकहरूलाई ज्यान मार्ने, भेरी नदीमा चोपलेर, ढुंगामुढा गरी एक–एकलाई सखाप पारिदिन्छु’ दलित आन्दोलनबाट नै मार्ने धम्की दिने पीडक व्यक्ति खगेन्द्र सुनार भन्ने व्यक्ति जिल्ला दैलेख नारायण नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी वर्ष ४५ कोले हामी पीडितलाई भिडिओमार्फत ज्यान मार्ने धम्की दिने अन्य व्यक्ति जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका–९ बस्ने अन्दाजी वर्ष ३३ को टेकबहादुर बस्याल र अर्को विपक्षी जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका–९ बस्ने वर्ष ४० को मैना वि.क यी तीनै जनाले मिली भिडिओ बनाई हामीहरूलाई ज्यान मार्ने धम्की दिने र मैना वि.क.को श्रीमान् कमानसिंह कामी निम्न कसुरदार मैना वि.क.ले निजको श्रीमान् कमानसिंह कामीले हामी पीडितहरूलाई वैदेशिक रोजगारको सिलसिलामा माल्टा देश पठाउँछु भनी हामीबाट नगद र भौचर गरी प्रतिव्यक्ति रु २ लाख ५० हजार लिई सम्पर्कविहीन भएको साथै निजको घरमा जाँदा विपक्षी मैना वि.क. स्वयं मतियार बनी भगाएको खुल्न आएकोले हामी पीडित जम्मा ९ जनाले जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा किटानी जाहेरीसमेत दिएका थियौँ। 

एक्कासि हाल आएर हामी पीडितहरूलाई भिडिओमार्फत दलित समुदायसँग जोडिएर हामीलाई ज्यान मार्ने धम्की दिएको हुँदा श्रीमान् प्रमुख जिल्ला अधिकारीसँग ज्यान सुरक्षा गरी पाऊँ भनी हामी सामूहिक पीडितहरूको नम्र निवेदन पेस गरेका छौँ। साथै निजहरूलाई सामाजिक सञ्जालमार्फत गरिएको अपराधको कसुरअनुरूपको कारबाही गर्नका लागि निज विपक्षीहरू झिकाई पाऊँ। भिडिओ प्रमाणसहित हामीले निवेदकहरू उपस्थिति छौँ। श्रीमान्‌को जो आदेश।

यसैबीच जिल्ला प्रशासन कार्यालयले उक्त निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको छ। 

प्रशासकीय अधिकृत सूर्यबहादुर थापाद्वारा जारी पत्रमा लेखिएको छ, ‘प्रस्तुत विषयमा सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका वडा नं. ९ बस्ने तुलबहादुर बुढालगायतका निवेदकहरूले मिति २०८०/०४/१२ गते यस कार्यालयमा दिनुभएको सक्कलै निवेदनसहितका कागजात पाना ४ (चार) यसैसाथ संलग्न राखी पठाइएको छ। बेहोरा सोही निवेदनबाट अवगत गरी आवश्यक कारबाही हुन आदेशानुसार अनुरोध छ।’

यस्तै जिल्ला प्रशासन कार्यालयले पत्रमा जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गर्दै ‘निवेदन मागबमोजिम निजहरूको जिउ ज्यानको सुरक्षाका लागि सुरक्षा निगरानी गरिदिनू’ भनेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मणबहादुर शाहीले उजुरी आएको पुष्टि गरे।

उनले भने, ‘पहिला ठगीको काम गर्दै छौँ। ज्यान मार्ने मुद्दा दर्ता भएको छैन, ठगीको काम पहिला गर्नुपर्‍यो भनेर।’

कमानसिंहविरुद्ध पक्राउ पुर्जी जारी
ठगी आरोप लागेका कमानसिंह कामीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ। अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै उनको खोजी थालिएको प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .