ad ad

कर्णाली


कर्णालीका यी ३ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, को कति धनी?

कर्णालीका यी ३ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, को कति धनी?

नेपालखबर
साउन ८, २०८० सोमबार १०:४८, सुर्खेत

कर्णाली प्रदेशका तीन मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। नेपाली कांग्रेसबाट मन्त्री बनेका तीनजनाको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो। 

आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बीसीले पदमा नियुक्ति पाएको ९४ दिनपछि आइतबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। कांग्रेसबाट उनीहरू तीनै जना गत वैशाख ७ गते मन्त्री पदमा नियुक्त भएका थिए। 

अर्थमन्त्री सिंह : मोबाइल मात्रै १० वटा
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सार्वजनिक सम्पत्ति विवरणअनुसार कांग्रेसका तीन मन्त्रीमध्ये सबैभन्दा धनी आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह देखिएका छन्। उनीसँग विभिन्न कम्पनीका दुई लाख मूल्य बराबरका १० वटा मोबाइल छन्। 

जाजरकोटको बारेकोट गाउँपालिका घर भएका अर्थमन्त्री सिंहसँग सोही गाउँपालिकाको वडा नम्बर ८ मा पुर्ख्यौली २ वटा घर, जाजरकोटकै भेरी नगरपालिका–३ मा साढे तीनतलाको पक्की घर छन्। 

यस्तै मन्त्री सिंहले बारेकोट–८ मा अंश भागबाट ३ रोपनी जग्गा र बाँकेको कोहलपुर–६ मा १.५ कठ्ठा जग्गा ऋण सापटबाट प्राप्त गरकोे उल्लेख गरेका छन्। उनको चल सम्पत्तिमा २० तोला सुन र १५ तोला चाँदी छ भने सुन विभिन्न स्रोतबाट ५ लाखमा र चाँदी ५० हजारमा खरिद गरिएको उल्लेख छ।

यस्तै उनले ऋण सापट र अन्य स्रोतबाट जाजरकोटमा रहेको लक्ष्मी बैंकमा २ लाख रकम मौज्दात रहेको र एनएमबी बैंक सुर्खेतमा सेवा सुविधाबापतको १ लाख रकम मौज्दात रहेको उल्लेख गरेका छन्। उनले धितोपत्र, सेयर वा ऋणपत्र विवरण शीर्षकमा सेयर लगानी उल्लेख गरे पनि कुन कम्पनी भन्ने खुलाएका छैनन्। 

उनीसँग ६० लाख मूल्यपर्ने इसुजु हाइलेन्डर गाडी छ भने ३२ लाख पर्ने बोलेरो जिप र २ लाख ५० हजार बराबरको स्कुटर व्यवसायबाट जोडेको देखाएका छन्। कुन व्यापार हो भन्ने चाहिँ खुलाइएको छैन। 

वनमन्त्री : दैलेख र सुर्खेतका ठाउँठाउँमा घरजग्गा 
दैलेख गुराँस गाउँपालिका–६ घर भएका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले गुराँस गाउँपालिका–६ मा ३ हजार ७८० वर्ग मिटर क्षेत्रफलमा घर र वीरेन्द्रनगर–१० सुर्खेतमा २ वटाघर रहेको र ती सबै  पुर्ख्यौली सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरेका छन्। 

साथै उनीसँग गुराँस गाउँपालिका–६ दैलेखका तीन ठाउँमा, वीरेन्द्रनगर–१० सुर्खेतका दुई स्थानमा जग्गा रहेको र त्यसको स्रोत पनि उनले पैत्रिक सम्पत्ति नै उल्लेख गरेका छन्। 

उनीसँग १५ तोला सुन, ३० तोला चाँदी र १५ केजी तामा छ। त्यो पनि पैत्रिक सम्पत्ति भएको उनले जनाएका छन्। तीनवटा बैंकमा गरी ४ लाख २ हजार बराबर रकम मौज्दात रहेको उनले भनेका छन्। साथै उनीसँग त्यो भन्दा बढी ऋण रहेको दाबी गरेका छन्। 

उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख ऋण लिएको र त्यसमध्ये अहिलेसम्म ११ लाख रुपैयाँ मात्र तिरिएको छ। एनएमबी बैंकबाट पनि उनले २० लाख नै ऋण लिएको उल्लेख गरेका छन्। र, त्यसमध्ये अहिलेसम्म १ लाख मात्र ऋण तिरेको उनले जनाएका छन्। 

सामाजिक मन्त्री : नौ स्थानमा जग्गा, ८५ तोला सुनचाँदी
सुर्खेतको सिम्ता गाउँपालिका–६ घर भएका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलसँग नौ स्थानमा जग्गा छन्। पोखरेलसँग सिम्ता–६ मा पैत्रिक सम्पत्तिबाट प्राप्त एउटा घर र सिम्ता गाउँपालिकाका ९ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। ती सबै पुर्ख्यौैली रहेको उनले उल्लेख गरेका छन्।

मन्त्री पोखरेलसँग २५ तोला सुन र ६० तोला चाँदी छन्। सुनमा १० तोला ९ लाख ५० हजारमा खरिद गरिएको र बाँकी पैत्रिक सम्पत्ति भएको उनले उल्लेख गरेका छन्। यस्तै  चाँदी ३५ तोला ४० हजारमा खरिद गरिएको र बाँकी पैत्रिक सम्पत्ति रहेको उनले जनाएका छन्। सुर्खेतस्थित लक्ष्मी बैंकमा १ लाख ७० हजार रकम मौज्दात रहेको जानकारी दिँदै मन्त्री पोखरेलले सो रकम तलब र कृषि पेसाबाट आर्जन गरेको उल्लेख गरेका छन्। 

यस्तै मन्त्री पोखरेलले १ भैँसी र ३० वटा कुखुरा पालन गरिरहेको बताएका छन्। साथै उनीसँग २५ हजारको मोबाइल, ४० हजारको टीभी, २८ हजारको फ्रिज र २५ हजारको घडी रहेको उल्लेख गरेका छन्। उक्त सामग्री विभिन्न ठाउँबाट खरिद र उपहार आएको उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .