कर्णाली


बजेट निर्माणमा कर्णालीका अर्थमन्त्रीलाई कसले दियो धम्की?

बजेट निर्माणमा कर्णालीका अर्थमन्त्रीलाई कसले दियो धम्की?

दिनेश बुढा
असार ३, २०८० आइतबार १९:३६, सुर्खेत

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार भेटघाट कार्यक्रम गरेको छ। बजेट प्रस्तुत गरेपछि पहिलो पटक अर्थ मन्त्रालयको आयोजनामा आइतबार पत्रकारसँग भेटघाट गरिएको हो।

कार्यक्रममा बोल्दै अर्थमन्त्री बेदराज सिंहले बजेट निर्माणका क्रममा आफ्नो निजी सचिवालयका व्यक्तिहरूलाई प्रलोभन आएको बताए।

उनले भने, ‘बजेट बनाउँदा योजना हाल्नका लागि सरकारी निकायकै मातहतका व्यक्तिहरुबाट मेरो सचिवालयका साथीहरुलाई बार्गेनिङ्ग, दबाब र धम्की तमाम कुरा आएका छन्। जसले हिजो परम्परावादी हिसाबले त्यहीँ काम गरेर बस्नु भएको रैछ। उहाँहरुले कोसिस गर्नुभएको रहेछ। ती सबै प्रमाण हामीले सुरक्षित राखेका छौँ।’

साथै मन्त्री सिंहले प्रदेश योजना आयोगका मान्छेबाट बजेटमा दबाब र बार्गेनिङ आएको बताए। उनले आफूसँग विचौलियाहरूका सबै प्रमाण सुरक्षित राखिएको र आवश्यक परे सार्वजनिक गर्ने दाबी समेत गरे।

‘म कहाँ नै नआएपनि हाम्रो सचिवालयमा विभिन्न प्रकृतिका म्यासेज, टेलिफोन, विभिन्न किसिमका आग्रह, प्रलोभन र बजेट निर्माणलाई प्रभाव पार्ने धम्कीसमेत आए,’ उनले भने,‘ कतिपयले पैसा बुझ्न आउनुस् भने, कसैले चेक लैजानूहोस् समेत भने। ती सबै कुराहरुलाई हामीले रेकर्ड गरेर राखेका छौँ। आवश्यक परे सार्वजनिक पनि गर्नेछौँ।’

यस्तै, मन्त्री सिंहले प्रदेश योजना आयोगमा कार्यरत केही व्यक्तिबाट आएका त्यस्ता कुरालाई आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीलाई पठाइदिएको र कारबाही गर्ने कुरा उपाध्यक्षको नै रहेको बताए। उनले भने, ‘योजना आयोगबाट मात्रै हैन, यस्ता विभिन्न प्रकारबाट प्रलोभनहरू आएका छन्।

‘केन्द्रमा अहिले चर्चित शरणार्थी प्रकरण छ, एक ठाउँमा लहरो तान्दा पहरो गएको छ, त्यही स्टाईलमै राज्यको ढुकुटीमाथि विचौलिया प्रवेश गर्नेहरुको पनि त्यस्तै चक्र रहेछ। कोही जागिरमा आबद्ध मान्छेहरू पनि छन्, सबैलाई हामीले लिपिबद्ध गरेर राखेका छौँ। बिस्तारै कानुन, ऐन, नियम अनुसार अगाडि बढाइने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .