गण्डकी


‘सरकारले गाउँमै अस्पताल ल्याइदिएपछि’ निसेलढोरवासी खुसी

‘सरकारले गाउँमै अस्पताल ल्याइदिएपछि’ निसेलढोरवासी खुसी

बागलुङको दुर्गममा पर्ने निसेलढोर बस्ती


नेपालखबर
असार ३, २०८० आइतबार १९:४०, ढोरपाटन

‘केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाहीँ हामी आफैँ पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर  अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको छ’, निसीखोला गाउँपालिका–५ का कमला विकले भने। 

विकका चार छोराछोरी छन्। उनीहरु बिरामी पर्दा एक दिन खर्चेर अस्पताल जानु पर्दथ्यो। तर यसै साता गाउँपालिकाले निसेलढोरमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सामान्य उपचारका लागि अस्पताल पुग्नैपर्ने बाध्यता हटेकामा उनीलगायतका स्थानीय खुसी छन्। 

निसेलढोर बागलुङको दुर्गममा पर्ने बस्ती हो। निसेलढोरका अधिकांश स्थानीय घुम्ती बसाइ गर्ने गर्छन्। असोज लागेपछि निसीखोला गाउँपालिका–५ को निसी गाउँ झर्ने र बर्खा लागेपछि निसेलढोर जाने स्थानीयको परम्परा नै हो। कहिले लेक त कहिले बेँसी गर्ने हुँदा निसेलढोरमा अहिलेसम्म स्वास्थ्य संस्था स्थापना हुन सकेका थिएन। 

एकदशक अगाडिसम्म निसेलढोरमा बाह्रै महिना बस्नेको सङ्ख्या निकै कम थियो। अहिले सडक सञ्जालले जोडिएपछि स्थायीरुपमा ६० घर परिवार बसिरहेका छन्। बिरामी हुँदा घरेलु ओखतीमुलो गर्दै आएका स्थानीयले अब स्वास्थ्य संस्थामा उपचार गराउनुका साथै औषधिसमेत पाउने भएका छन्। गाउँमा स्वास्थ्य संस्था नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था थियो। अब कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने उनको विश्वास छ। 

‘सहर बजारभन्दा धेरै टाढा छौँ, गाउँमा डाक्टर थिएन्, अस्पताल थिएन, कोही बिरामी भयो भने झाँक्रीधामी गर्ने गर्थ्यौं, धामीझाँक्रीले निको नबनाए मात्रै अस्पताल जान्थ्यौँ’, उनले भने, ‘अस्पताल लैजाँदै गर्दा कतिले त बाटोमै ज्यान गुमाए, अब त्यसरी अकालमा कसैलाई पनि मर्नपर्ने छैन, सरकारले गाउँमै अस्पताल ल्याइदियो, हामीहरु धेरै खुसी भएका छौँ।’

सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि गाउँका सबै नागरिकले सहज रुपमा सेवा पाउने अवस्था भएको स्थानीय प्रेमबहादुर पुनको भनाइ छ। यतिका वर्षसम्म सामान्य स्वास्थ्योपचारका लागि हजारौँ खर्च गर्नुपरेको भन्दै अब जटिल किसिमका रोगबाहेक अन्य उपचार गाउँमै गराउन पाइने भएपछि उनले खुसी व्यक्त गरे। सरकारले दुर्गमको स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखेर औषधि र उपकरणको कमी हुन नदिन आग्रह गरे। 

उनी भन्छन्, ‘हामीहरु धेरै टाढा छौँ, अस्पताल सञ्चालनमा आयो भन्ने मात्रै नहोस् यहाँबाट प्रवाह हुने सेवा गुणस्तरीय र प्रभावकारी बनोस्, हामीहरु सामान्य उपचारका लागि ठूलाठूला अस्पतालमा जान नपरोस्, यसलाई राज्यले विशेष प्रथमिकतामा राख्न जरुरी छ।’

यहाँ सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनका लागि निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको थियो। गाउँपालिकाले तत्कालका लागि घर भाडामा लिएर एकजना अनमी र एक जना कार्यालय सहयोगी राखी सेवा विस्तार गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले जानकारी दिए। आगामी आवमा गाउँपालिकाले प्रदेश सरकारसँग सहकार्य गरी भवन निर्माण गरेर सेवालाई थप गुणस्तरीय र प्रभावकारी गराउने उनको भनाइ छ। 

निसीखोला गाउँपालिकामा स्वास्थ्यचौकी चारवटा, आधारभूत स्वास्थ्य एकाइ दुईवटा, सामुदायिक स्वास्थ्य एकाइ दुईवटा गरी आठ स्वास्थ्य संस्था सञ्चालनमा रहेको उनले बताए। अहिले वडा नं ४ को झिम्पामा पालिकास्तरीय १० शय्याको आधाभूत अस्पताल निर्माणको अन्तिम चरणमा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्दको भनाइ छ। निसेलढोरमा अहिलेसम्म विद्युत्‌को पहुँच पुगेको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .