हिमाली जिल्ला हुम्ला दुर्गम भएकाले सधैँ पाठ्यपुस्तकको समस्या झेलिरहेका विद्यार्थीले यो शैक्षिक सत्रमा भने समयमै किताब पाउने भएका छन्। कहिले सडक समस्या त कहिले हवाई सेवा नियमित नहुँदा समस्या भोगिरहेका हुम्लासहित कर्णालीका हिमाली जिल्लाका विद्यार्थीले यस शैक्षिक सत्र सुरु भएसँगै पुस्तक पाउने भएका हुन्। हुम्लाका चार गाउँपालिकामा पुस्तक पुगिसकेका छन् भने तीन पालिकाका लागि आजदेखि ढुवानी गरिँदै छ।
जिल्लाको दक्षिण भेगमा रहेका सर्केगाड, चङ्खेली, ताँजकोट र अदानचुली गाउँपालिकामा तीन दिनअगाडि नै पाठ्यपुस्तक पुगिसकेका हुन्।
जिल्लाको माथिल्लो भेगका सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका लागि भने पाठ्यपुस्तक आजदेखि ढुवानी गरिने भएको हो। हवाई मार्गमार्फत ढुवानी गर्दा जहाजले समयमा ढुवानी नगर्ने भएकाले पैदल मार्गमार्फत ढुवानी गरिने ढुवानीको जिम्मा लिएका ज्ञानबहादुर रोकायाले बताए। उनका अनुसार तीन पालिकाका लागि शनिबार (आज) देखि नेपालगन्जबाट पैदल मार्ग भएर ढुवानी गरिने छ।
शनिबार पुस्तक ढुवानी सुरु गरी एक हप्ताभित्र पैदल मार्गबाटै सदरमुकाम पुग्ने रोकायाले बताए। उनले तीन पालिकाका ५८ सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक पुर्याउने जिम्मा लिएका छन्।
यहाँ तीन वर्षयतादेखि नयाँ शैक्षिक सत्र वैशाखमा सुरु हुने गरेको छ। कोरोना महामारीका समयमा पठनपाठनमा समस्या भएपछि यहाँका स्थानीय तहले वैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गरिरहेका हुन्।
तीन वर्षअघि फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने र मङ्सिरको अन्तिमसम्म वार्षिक परीक्षा सकेर यहाँका शिक्षक हिउँदे बिदा बस्ने गरेका थिए। कोरोना सङ्क्रमणपछि हिउँदे बिदा भए पनि चैतमा वार्षिक परीक्षा सम्पन्न गरेर वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न थालिएको मानसरोवर उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए। रासस
Shares

प्रतिक्रिया