कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमानस्थलमा एटिआर-७२ जहाजबाट आजदेखि नियमित उडान सुरु भएको छ।
सुर्खेत विमानस्थलमा गत कात्तिक ३० मा एटिआर जहाजमार्फत् परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको थियो। परीक्षण उडान सफल भएपछि नियमित उडान सञ्चालन गरिएको भएको हो।
प्राधिकरणका उच्च अधिकारीसहित ७० यात्रु लिएर बुध्द एयरको एटिआर जहाजले सुर्खेतमा पहिलो व्यावसायिक उडान भरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए।
बुद्ध एयरको एटिआर ७२ जहाजले काठमाडौँ-सुर्खेत गन्तव्यमा दैनिक एक उडान गर्नेछ। यसअघि कम्पनीले ४७ सिट क्षमताको एटिआर–४२ जहाजमार्फत् उक्त गन्तव्यमा दैनिक एउटा उडान गर्दै आएको थियो।
हाल काठमाडौँ-सुर्खेतसम्मको हवाई भाडा रु १४ हजारसम्म तोकिएको छ। ठूला जहाजमार्फत् उडानका लागि विमानस्थलको क्षमता विस्तार गरिएको प्राधिकरणले जनाएको छ।
यसअघि कोभिड(१९ महामारी पूर्व निजी क्षेत्रको श्री एयरलाइन्सले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको थियो। कोभिडपछि भने उक्त गन्तव्यमा नियमित उडान हुन सकेको थिएन। यद्यपि बजारको अवस्था हेरी छिट्टै उक्त गन्तव्यमा उडान सञ्चालनको योजना रहेको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले बताए।
बुद्ध एयरको नियमित उडानपछि यती एयरको एटिआर जहाजले पनि उडान भर्ने प्राधिकरणले जनाएको छ। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सुर्खेतमा एटिआर जहाजले उडान गर्ने योजना रहेको बताए।
बुद्ध एयरले सन् २०१३ को फेबु्रअरी १ बाट बिचक्राफ्ट १९०० डी (१८ सिट) बाट सुर्खेत उडान सुरु गरेको थियो भने विगत पाँच वर्षदेखि एटिआर–४२ बाट नियमित उडान सञ्चालन गर्दै आएको थियो। एटिआर-७२ जहाजमार्फत उडान सञ्चालन गर्दा काठमाडौँ(नेपालगञ्ज रुटको हाराहारीमा न्यूनतम भाडादर कायम हुने कम्पनीले जनाएको छ। रासस
330
Shares

प्रतिक्रिया