कारोबार


उपभोग्य क्षेत्रमा बैंकको लगानी वृद्धिदर नियन्त्रणमा

उपभोग्य क्षेत्रमा बैंकको लगानी वृद्धिदर नियन्त्रणमा

नेपालखबर
पुस १, २०७९ शुक्रबार १३:८, काठमाडौँ

बैंक तथा वित्तीय क्षेत्रको लगानी वृद्धिदर केही नियन्त्रणमा आएको छ। लगानी बढिरहे पनि त्यसको वृद्धिदरमा नियन्त्रण आएको देखिएको हो। 

चालू आर्थिक वर्षको ४ महिनाको तथ्याङ्कअनुसार उपभोग्य क्षेत्रमा बैंकको लगानी उच्च नै रहे पनि विगतभन्दा केही नियन्त्रणमा आएको छ। 

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष (असार मसान्त)मा झण्डै ५ सय प्रतिशतले उपभोग्य क्षेत्रमा लगानी बढेको छ। 

गत आर्थिक वर्षमा ४७ खर्ब ९ अर्ब ३० करोड कुल ऋण लगानी भएको छ। त्यसमा अधिकांश रकम उपभोग्य क्षेत्रमा लगानी भएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार उपभोग्य क्षेत्रमा आधाभन्दा धेरै लगानी भएको देखिएको छ। 

कन्जुमर लोनकै शीर्षक जस्तो सुन चाँदी, फिक्स एसी रिसिप्ट, ग्यारेन्टी बण्ड, निजी सवारी, शैक्षिक खर्च, व्यक्तिगत खर्चलगायतमा ८ खर्ब ६७ अर्ब ऋण लगानी भएको छ। उपभोग्य क्षेत्र नै बढी रुपमा जोडिने होलसेल तथा रिटेल व्यवसायमा ९ खर्ब ४७ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ। 

उपभोग्य क्षेत्रको ऋण प्रवाहको वृद्धिदर हेर्ने हो भने ४ सय ६९ दशमलव ३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा १ खर्ब ५२ अर्ब रुपैयाँ रहेको ऋण प्रवाह भएको थियो। गत असारसम्ममा भने ८ अर्ब ६७ अर्ब रुपैयाँ पुगेको हो।

तर चालू आर्थिक वर्षको चार महिना अवधिमा भने २ दशमलव ८ प्रतिशत मात्रै वृद्धि देखिएको छ। 

विलासी वस्तुको उपभोगलाई सरकारले नियन्त्रणको प्रयास गरेको छ। गत वैशाख महिनामा १० उपभोग्य वस्तु आयातमा नियन्त्रण गरेको थियो। त्यो आयात प्रतिबन्ध आजदेखि पूर्णरुपमा हटेको छ। 

जसले पनि उपभोग्य क्षेत्रको लगानी नियन्त्रण आएको देखिएको हो। 

चालू आर्थिक वर्षको ४ महिना अवधिमा उपभोग्य क्षेत्रमा मात्र ८ खर्ब ६७ अर्ब ४८ करोड रुपैयाँ लगानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ३० अर्ब ७१ करोड रुपैयाँ लगानी भएको थियो। गत वर्षको तुलनामा यो वर्ष २ दशमलव ८ प्रतिशतले मात्रै वृद्धि भएको हो। 

क्षेत्रगत आधारमा कस्तो छ बैंकको लगानी वृद्धिदर?
चालू आर्थिक वर्षको ४ महिनाको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६८ अर्ब ५५ करोड (१.५ प्रतिशत) ले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३ खर्ब ६४ अर्ब ६२ करोड (८.९ प्रतिशत) ले बढेको थियो। 

२०७९ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो। 

४ महिना अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.३ प्रतिशतले, विकास बैंकहरुको ३.४ प्रतिशतले र वित्त कम्पनीहरुको ०.१ प्रतिशतले बढेको छ । 

२०७९ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७८ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.५ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो । 

आर्थिक वर्ष २०७९÷८० को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह २.५ प्रतिशतले, कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा २.४ प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.१ प्रतिशतले बढेको छ । 

४ महिना अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ४.९ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ९.७ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ४.६ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ३.६ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.८ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ३.३ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ५.६ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad