ad ad

अन्तर्वार्ता


अमेरिका नेपाललाई साईबर सुरक्षामा सहयोग गर्न तयार छः डेब भेनावेल (अन्तर्वार्ता)

अमेरिका नेपाललाई साईबर सुरक्षामा सहयोग गर्न तयार छः डेब भेनावेल (अन्तर्वार्ता)

दीपक खरेल
भदौ १४, २०७६ शनिबार ७:५६,

संयुक्त राज्य अमेरिकाको स्टेट डिपार्टमेन्टका साईबर सुरक्षा विज्ञ डेब भेनावेल अहिले नेपाल भ्रमणमा छन्। नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) का पूर्व गुप्तचर अधिकारी डेब भेनावेल कम्प्युटर नेटवर्कको दुरुपयोग, इम्फर्मेशन अप्रेशन र डिजिटल नेटवर्क गुप्तचरी तथा क्रिप्टोग्राफीका विज्ञ हुन्।

अमेरिकी सरकारका राष्ट्रिय परियोजना अन्तर्गत विश्व आतंकवाद र आतंककारी गतिविधिविरुद्धको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका उनी यो मामिलामा विश्वका एकजना प्रतिष्ठित विज्ञ मानिन्छन्। अमेरिकी हवाई सेना, एनएसए र युरोपका कुटनीतिक विद्यालयहरुबाट पुरस्कृत उनका साइबर सुरक्षाबारे दर्जनौं अनुसन्धान लेख प्रकाशित छन्। हाल म्यासर्जी कम्युनिकेसनका सह अध्यक्ष रहेका उनले त्यहाँबाट विश्वभर साईबर सुरक्षासहितका संरचना निर्माणमा महत्वपूर्ण योगदान गरिरहेका छन्।

नेपाल भ्रमणमा रहेका उनै डेब अगस्ट अन्तिम साता काठमाडौंमा थिए। नेपाल भ्रमणका क्रममा उनले सरकारी अधिकारीहरुसँग भेटवार्ता गरे, साईबर सुरक्षासम्बन्धी प्रवचन दिए। यो क्रममा उनको सुझाव रह्यो, ‘विकसित देशहरुले भोगेका चुनौती र अवसरलाई अध्ययन गर्दै अघि बढ्नु नेपालका लागि उत्तम हुनेछ।’

विश्वका ५०० भन्दा बढी ग्लोबल कम्पनीका साइबर सुरक्षा कन्सल्ट्यान्ट रहेका डेब भेनावेलसँगको संवादः

नेपाल बसाई र भेटघाट सुखद रह्यो भन्ने आशा गर्दछौं। यो क्रममा तपाईंले धेरै सरकारी अधिकारीसँग भेटवार्ता पनि गर्नुभयो। साईबर सुरक्षामा नेपालको अवस्था कस्तो पाउनुभयो?

dev venabel2

नेपाल साँच्चै रमाइलो देश रहेछ। मैले साईबर सुरक्षाको सबैभन्दा नराम्रो अवस्था भोगेर आएको छु। नेपालको अहिलेको अवस्था त्यति नाजुक छैन। भर्खरै साईबर सुरक्षा संरचना निर्माणको थालनी भएको छ। यो नेपालका लागि ठूलो अवसर हो। विश्वले सिकेका र भोगेका चुनौती र अवसरलाई अध्ययन गर्दै अघि बढ्ने मौका नेपाललाई छ। विगतमा भएका कमी कमजोरीबाट पाठ सिक्ने अवसर छ। तिनलाई हटाउँदै एउटा नयाँ सुरक्षित संरचना बनाउन नेपालका लागि प्रशस्त मौका छ।

नेपालले बैंकिङ क्षेत्रलाई लक्षित गरी केही वर्षअघि साईबर सुरक्षा नीति ल्याएको थियो। तर साईबर सुरक्षाको क्षेत्र त्योभन्दा बृहत् छ। यो भ्रमणमा तपाईंले नेपालको साईबर सुरक्षा नीतिबारे केही बुझ्ने अवसर पाउनुभयो कि?
नेपालको साईबर सुरक्षा नीति मस्यौदाको अवस्थामै रहेको बुझेको छु। नीतिमै धेरै स्पष्ट पारिए पछि काम गर्न सहज हुनेछ। अहिले मस्यौदा चरणमा रहेको त्यो नीतिमा केही विषयहरु समेट्नु पर्छ भन्ने मेरो अनुभवले बताउँछ। सहकार्यको अवस्थामा हामी ती विषयहरुबारे छलफल गर्न सक्छौं। आजको साईबर सुरक्षा नीति भनेको भोलिको राष्ट्रिय सुरक्षा नीति पनि हो। फेरि साईबर सुरक्षा भनेको सुरक्षित भौतिक संरचना निर्माण होइन। यो फरक विषय हो। यसका लागि सोही विषयलाई केन्द्रमा राखेर सोच्न जरुरी हुन्छ। त्यसैले यसमा मिहिन भएर काम गर्नुपर्दछ। केही विषयहरुलाई प्राथमिकतामा राख्न जरुरी हुन्छ। यसले नेपाललाई प्रभावकारी नीति बनाउन मद्दत पुग्नेछ।

अन्तर्राष्ट्रिय ह्याकरबाट पीडित भएका केही घटनापछि नेपाली बैंकिङ क्षेत्रले साईबर सुरक्षाको क्षेत्रमा महत्वपूर्ण कदम चालेको छ। तपाईले बैंकिङ क्षेत्रका नेतृत्व तहका अधिकारीहरुसँग पनि छलफल गर्नुभयो। अवस्था के पाउनुभयो?
नेपालको बैकिंङ क्षेत्रले मैले सोचेभन्दा धेरै राम्रो साईबर सुरक्षाको प्रबन्ध गरिरहेको रहेछ। भेटवार्ताका क्रममा उहाँहरुका कुरा सुनेर म यो निष्कर्षमा पुगेको छु। यद्यपि पछिल्ला घटनाक्रमले नेपालको बैकिंङ क्षेत्र साईबर हमलाबाट पूर्ण सुरक्षित नभएको पनि देखाउँछ। फेरि यो नेपालको एक्लो समस्या पनि होइन। खासगरी दक्षिण एशिया र विश्व नै हमलाको निशानामा छ। यस्ता हमलाबाट जोगिन बैकिंङ क्षेत्रलाई थप साईबर सुरक्षा आवश्यक छ। यो मामिलामा मैले उहाँहरुलाई सहयोग गर्ने वचन पनि दिएको छु।

3 6

बैंकिङ साईबर सुरक्षाको हकमा तपाईंको सल्लाह, सुझाव के रह्यो?

हामीबीच धेरै विषयमा आफ्ना अनुभव आदान प्रदान भए। ती सबै बैंकिङ सुरक्षा प्रणालीमा केन्द्रित थिए। यो उद्योगले सबैभन्दा उत्कृष्ट सुरक्षा अपनाउन जरुरी हुन्छ। केही नियमहरुको अक्षरश पालना र सोही अनुसारको योजना बनाएर अघि बढे साईबर हमलाबाट जोगिन सकिन्छ। यही कुरा मैले उहाँहरुसँगको भेटवार्तामा पनि भनेको छु।

साईबर ब्युरो गठन गरेको नेपाल प्रहरीका अधिकारीसँग पनि तपाईंको भेटवार्ता भएको छ। साईबर अपराधबारे नेपाल प्रहरीको बुझाइ के रहेछ? यो क्षेत्रका प्रहरी अधिकारीको क्षमता कस्तो पाउनुभयो?
नेपाल प्रहरीको साईबर ब्युरोका अधिकारीसहितको टोलीसँग मेरो भेटवार्ता भयो। अमेरिकाले साईबर अपराधविरुद्ध नेपाल प्रहरीसँग निकटमा रहेर सहकार्य गरिरहेको छ। भ्रमणका क्रममा प्रहरी अधिकृतहरुको क्षमता बुझ्ने मौका पाएँ। यसबाट म आफू निकै उत्साही छु। सबै ठाउँमा अझ राम्रो गर्नुपर्छ भन्ने हुन्छ नै केही कमजोरी पनि हुन्छन् र सुधार गर्नुपर्ने विषय पनि रहन्छन्। सामाजिक सञ्जालको विषयमा केही अप्ठयाराहरु छन्। यसका केही कारणहरु छन्।

नेपालमा अपराध भनिएका विषय अमेरिकी कानूनमा अपराध मानिँदैन। अमेरिका वाक स्वतन्त्रतामा पूर्ण विश्वास राख्दछ। यो सबै अमेरिकी नागरिकका लागि सुरक्षित गरिएको अधिकार हो। तर सामाजिक सञ्जालका अधिकांश कम्पनी अमेरिकाबाट संचालनमा छन्। सामाजिक सञ्जालमा हुने गतिविधि अमेरिकामा अपराध मानिँदैन। यही कारणले गर्दा नेपाल प्रहरीका कतिपय अनुसन्धानमा सहयोग गर्न कठिनाई भइरहेको हो। तर सामाजिक सञ्जालबाट कुनै व्यक्तिको जीवनमा असर पुगेको छ भने हामी सहयोग गर्छौं र गरिरहेका पनि छौं।

नेपाल भूराजनीतिक हिसाबले अति सम्वेदनशील ठाउँमा अवस्थित छ। भूबनोटको यो संरचना साईबर सुरक्षाको दृष्टिले चाहिँ सम्वेदनशील हो कि होइन?
भूअवस्थाको सम्वेदनशीलताको यसमा अर्थ रहला नरहला तर साईबर चुनौती जहाँबाट जता पनि हुनसक्ने भएकाले त्यो फ्रेमवर्कमा नेपाल नपर्ने कुरै भएन। यसका लागि नेपाल तयारी अवस्थामा रहनु पर्दछ। साईबर सुरक्षाको उचित प्रबन्ध नेपालले गर्नुपर्छ। हमलाकारी भौतिक रुपमा नेपालमै उपस्थित भएको पनि हुनसक्छ। यसबारेमा चुस्त सूचना संकलन संयन्त्र एवं त्यस्ता ब्यक्तिको पहिचान र उनीहरुसम्म तत्काल पुग्न सक्ने संरचना निर्माण गर्न सक्नुपर्छ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो सुरक्षा कसरी व्यवस्थित गरेका रहेछन्?
मैले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीका लगानीकर्ता एवं प्रमुख कार्यकारीहरुसँग समेत भेटवार्ता गरेँ। नेपालका आइएसपीहरुले साईबर सुरक्षामा लगानी बढाउन जरुरी छ। ठूला भवन होइन साइबर सुरक्षा इन्टरनेटभित्रको सुरक्षा हो भन्ने उहाँहरुले बुझ्नु भएको छ। भेटवार्तामा समेत त्यो महसुस गर्नुभयो। उहाँहरुसँग दीर्घकालीन योजनासहित अघि बढ्ने विषयमा कुराकानी भएको छ। मेरो अनुभवमा आइएसपीहरुले सम्पूर्ण लगानीमध्ये २५ प्रतिशत सुरक्षामा लगाउनुपर्छ।

Dev44

नीति, पूर्वाधार संरचनाको कुरा एउटा भयो। इन्टरनेट प्रयोगकर्ता सर्वसाधारणले साईबर हमलाबाट कसरी बच्ने भन्ने केही आइडिया छन्?

राम्रो प्रश्न सोध्नु भयो। म सबैभन्दा पहिला इन्टरनेट प्रयोगकर्ताहरुलाई आफूले चलाउने उपकरणमा बहुपहिचान सहितको सुरक्षा प्रबन्ध गर्न सुझाउँछुु। यो तपाईंले प्रयोगगर्ने कम्प्युटरमा मात्र होइन मोबाइलमा रहेका एपहरुमा समेत लागू गर्न सकिन्छ। ती एपहरुमा तपाईंको पहिचान, पासवर्ड र केही कोडहरु राख्नु पर्ने हुन्छ। यस कारण मान्यता नपाएका र असुरक्षित एपहरुको प्रयोग नगर्नु उपयुक्त हो। यति मात्र गरे पनि साईबर हमलाबाट सर्वसाधारण जोगिन सक्छन्। यसबाहेक साईबर शुद्धिकरण र स्वच्छता अर्को प्रमुख विषय हो। अहिले इन्टरनेटमा धेरै थरिका विषयवस्तु राखिन्छन्। ती सबै सुरक्षित हुँदैनन्। ती अनावश्यक विषयबाट आफुलाई टाढा राख्नु र ती विषयमा जानकार हुनु सुरक्षित रहने अर्को उत्तम उपाय हो। यस बाहेक सर्वसाधारणमा इन्टनेट प्रयोगका विषयमा चेतनाको विकास र सचेतना आवश्यक छ।

साईबर सुरक्षाको विषय नेपालको हकमा विद्यालय पाठ्यक्रममै राख्दा कत्तिको उपयुक्त होला? के यो अति जरुरी हो?
म नेपाल आएदेखि भएका धेरै भेटवार्ता र छलफलमा यस किसिमका अनुरोध सुनेँ। उहाँहरुको चासो साईबर स्वच्छताको विषयमा रहेको छ। यस कारण पनि नेपालमा विद्यालय तहमा साईबर सुरक्षा र यसको प्रयोग समेटिएको पाठ्यक्रम राख्दा त्यो उत्तम हुनेछ। नयाँ पुस्ता हुर्कंदै जाँदा इन्टनेट स्वच्छता र सुरक्षाका विषयमा जानकारी पाउनेछ। त्यसले साईबर सुरक्षा बुझाउने मात्र होइन, सुरक्षा सावधानी अपनाउन समेत सहयोग मिल्नेछ।

एउटा फरक प्रसंग, सन् २०१९ अगस्टको दोस्रो साता संयुक्त राष्ट्रसंघले एउटा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै विश्वका १७ देश उत्तर कोरियाली ह्याकरबाट पीडित रहेको जनाएको थियो। ती आक्रमणबाट २ बिलियन अमेरिकी डलर उसले लगेको भन्ने प्रतिवेदनले औंल्याएको छ। यस किसिमका आक्रमणबाट नेपालजस्ता साईबर संरचना बलियो नभएका देशहरु कसरी जोगिने?
उत्तर कोरियाली साईबर आक्रमणको विषय राज्य निर्देशित र परिचालित नै देखिएको छ। उनीहरु यो क्षेत्रमा अति विज्ञ र उत्कृष्ट छन्। त्यस्त आक्रमणहरुबाट कसरी जोगिने भन्ने सवाल अहिले नेपाल मात्र होइन विश्वकै लागि चिन्ता र चासोको विषय हो। वर्षौंदेखि अध्ययन गरेर उनीहरु मौका पर्खिरहेका हुन्छन्। उचित मौका भेट्नासाथ आक्रमण गर्छन्। यसबाट जोगिन उनीहरुको यथाशीघ्र पहिचान गर्न सक्ने प्रविधिको निर्माण पहिलो शर्त हो।

Dev55

संयुक्त राज्य अमेरिकाले नेपालको साईबर सुरक्षामा सहयोग गर्ने सोच बनाएको छ? त्यसको मोडालिटीबारे दुई देशका अधिकारीबीच छलफल भएको छ?

मेरो नेपाल भ्रमणको उद्देश्य नै साईबार सुरक्षामा दुई देशबीच कसरी सहकार्य गर्न सकिन्छ भन्नेमा केन्द्रित छ। यो सरकारी तहमा मात्र नभई निजी र गैरसकारी तहमा पनि भइरहेको छ। त्यसको मोडालिटीमा अहिले हामी छलफलमा केन्द्रित छौं। हामी साईबर सुरक्षाका विषयमा उच्च तहको तालिम आदानप्रदान गर्नेछौं। यहाँस्थित अमेरिकी दूतावासले यसको संयोजन गर्नेछ। यस बाहेक दुई वर्षे कार्ययोजना बनाएर अघि बढ्ने भनेर गृहकार्य भइरहेको छ। अर्को चाहिँ नेपालको साईबर सुरक्षा क्षेत्रमा लगानीको योजना हुनसक्छ। साईबर सुरक्षाको क्षेत्रमा नेपाललाई सहयोग गर्न हामी तयार छौं।

समयका लागि धन्यवाद। अन्त्यमा केही भन्न चाहनुहुन्छ कि?
यहाँहरुलाई पनि धन्यवाद। एउटा विज्ञका हैसियतमा साईबर सुरक्षालाई कुनै पनि देशले राष्ट्रिय सुरक्षाको अवधारणा मानेर अघि बढनुपर्छ भन्ने नै हो। नेपालले पनि त्यो गर्न सके त्यसले सकारात्मक परिणाम दिनेछ। यी दुई विषय एकअर्काका परिपूरक समेत हुन् भन्ने विषयमा राज्यहरु स्पष्ट हुनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .