नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको कमान्ड सम्हालेर देशदौडाहमा छन्। आफू उम्मेदवार नबनेका उनी प्रचारका लागि ६ वटा प्रदेश पुगेसकेका छन्। गत निर्वाचनमा झापा १ बाट निर्वाचित शर्मा यसपटक देशभर कांग्रेस उम्मेदवार जिताउने जिम्मेवारीको भारी बोकेर हिँडिरहेका छन्।
गृहजिल्ला झापाको सुरुङ्गामा शनिबार उपसभापति शर्मासँग नेपालखबर ‘तत्कालै’को इलेक्सन एक्सप्रेस संवाद :
नेपाली कांग्रेस आफूलाई बदलेको सन्देश दिएर फागुन २१ को निर्वाचनमा होमिएको छ। तपाईं उम्मेदवार हुनुहुन्न, कांग्रेसको चुनावी कमान्ड सम्हाल्नुभएको छ। पार्टीको अवस्था के छ?
म चुनावी मैदानमा छु। उम्मेदवार हुनुको अर्थ मैदानमा हुनु र उम्मेदवार नहुनुको अर्थ मैदानमा नहुनु हुँदैन। त्यस हिसाबले सबैभन्दा बढी मैदानमा म छु भन्ने लाग्छ। किनभने सभापतिजी देशका विभिन्न ठाउँ गइरहनु भएको छ। अरु धेरै साथीहरू उम्मेदवार भएर एउटा क्षेत्रमा रहनु पर्ने अवस्था छ। प्रत्यक्ष तर्फबाट उम्मेदवार नभएको म समानुपातिकबाट पनि साथीहरूले अवसर लिनुपर्छ भनिराखेर आरामले ऊर्जाका साथ मेची–महाकाली मैदानमा लागिरहेको छु।
नेपाली कांग्रेस पार्टीको दिनप्रतिदिन बढोत्तरी भइरहेको छ। धेरै साथीहरू घर फर्केर आइरहनुभएको छ। नेपाली कांग्रेससँग यो या त्यो कारणले मन दुखाएका सबै साथीहरूलाई विनम्रतापूर्वक आफ्नो घर फर्किनुहोस् भनेर अपिल गरिरहेका छौँ। कांग्रेससँग विगतमा कहिले साइनो नभएका नेताहरू पनि आइरहनुभएको छ। काठमाडौँमा नेकपा एमालेको लामो समय राजनीति गर्नुभएको, सांसद, मन्त्री बन्नुभएको साथी रामवीर मानन्धर आउनुभएको छ।
अरु थुप्रै आउँदै हुनुहुन्छ। अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेशको सभापति ममता शर्मा आउनुभएको छ। कयौँ जिल्लाका साथीहरू आएर कांग्रेसमा जोडिइराख्नु भएको छ। केही साथीहरू देखिएर र कोही नदेखिएर अन्डरकरेन्ट धेरै गाँसिँदै गर्दा कांग्रेस पहिलो दलको रूपमा फागुन २१ को निर्वाचनबाट आउँदैछ।

आज हामी तपाईंसँग झापामै संवाद गरिरहेका छौँ। अघिल्लो निर्वाचनमा झापा १ बाट सानदार मतका साथ विजयी हुनुभएको थियो। यो पटक मैदान किन छोडिदिनुभयो?
तीन पटक लगातार म जितौँला, तीन पटक लगातार म हारौँला, तर चौथो पटक म उम्मेदवार बन्दिनँ। अरू साथीहरूलाई अवसर दिन्छु भनेको थिएँ मैले। दुई पटक उपविजेता भएँ, एक पटक विजयी भएँ।
२०७० सालको त्यो वचनलाई सम्झेँ, एक वर्षअगाडि २०८१ सालको पुस २०–२१ गतेतिर मेची नगरपालिका धुलाबारीको अतिथि सदनमा बोल्दै मैले भनेँ– मैले देशभरि चुनावको परिचालन, संयोजन गर्नुपर्ने हुन सक्दछ, त्यसकारण म यहाँ चुनाव लड्न ढुक्कले नआउँला। मैले नै लडिरहनु पर्छ सधैँ भन्ने होइन।
एउटा नेताले चुनाव लड्ने, जितिसकेपछि या हारिसकेपछि पार्टीको पोजिसन बढ्दै गयो भने जीवनमा अन्तिम क्षणसम्म चुनाव लड्न खोज्ने यो गलत संस्कृति भत्काउनु छ। त्यसैले म बन्दिनँ, तपाईंहरू लड्न तयार हुनुहोस् भनेको थिएँ। त्यसका बाबजुद साथीहरूले सर्वसम्मत नाम सिफारिस गर्नुभयो। मैले धन्यवाद दिएँ, विनम्रतापूर्वक भनेँ– तपाईंहरू अगाडि आउनुस्। साथीहरू अहिले आउनुभयो। अहिले त्यो क्षेत्रबाट ऊर्जाशील युवा केशवराज पाण्डेलाई उम्मेदवार बनाएका छौँ। परिणाम रूख चिह्नको पक्षमा आउँदैछ।
झापा १ का उम्मेदवार केशव पाण्डे गत निर्वाचनमा स्थानीय तहको प्रतिनिधि बन्न खोज्नुभएको थियो। त्यतिखेर तपाईंकै कारण उहाँ टिकटबाट वञ्चित हुनुभयो। तर, आफूले छाड्दा उहाँलाई प्रतिनिधिसभाको टिकट थमाउनुभयो, किन?
संसदीय पद्धतिमा कोही प्रदेशमा गएपछि संघतिरै सोच्नु गर्छ। प्रदेशमा जाने अनि पालिकामा फर्किने, सङ्घमा जाने अनि प्रदेशमा फर्किने, ब्याक गियर लगाउने कुरा सोच्नुहुन्न। कि अगाडि जानुपर्छ, कि अरूलाई अवसर दिनुपर्छ। बस, कुरा त्यति थियो। त्यसकारण त्यसबेला मैले पालिकातिर अरूले अवसर पाउनुपर्छ। प्रदेशको साथी कि प्रदेशमा खडा हुनुस् कि प्रदेश होइन संघको तयारी गर्नुहोस् भनेँ। र, आज संघको उम्मेदवार बनाएँ।
अहिले झापाको चुनावी सरगर्मीलाई ठ्याक्कै कसरी हेरिराख्नु भएको छ? यहाँ कांग्रेसको स्थिति के छ?
१२–१४ वटा जिल्लाको भ्रमण गरिसकेर आएको छु। चितवन, बाँके, बर्दिया, कपिलवस्तु, दाङ, रूपन्देही, पाल्पा र सिन्धुली पुगिसकेको छु। काठमाडौँमा पनि स्वाभाविक रूपमा भेटघाट, छलफलमा सहभागी भएँ। पूर्वी पहाडतिर आउँदै शुक्रबार म पाँचथर, सोलुखुम्बु, इलाम पनि पुगेँ। मधेसको त विशाल सभाको बीचबाट आएको छु। नेपाली कांग्रेसको लहर मेची–महाकाली बढिरहेको छ। त्यसको प्रभाव झापामा पनि परेको छ।
झापामा उम्मेदवार चयनको सन्दर्भमा परिपक्वता पुगेको छ। टिकट पाउनुअघि साथीहरूको म हैन, ए ऊ हैन म भन्ने खालको भावना जहाँ पनि हुन्छ नै। तर, त्यसको बाबजुद पार्टीका साथीहरू पूरा ऊर्जाका साथ लागिरहनुभएको छ। कांग्रेस झापामा पनि पहिलो दलको रूपमा आउँछ।

कांग्रेसले ‘अब की बार, सय पार’को नारा लगाएको छ। त्यो पूरा हुने स्थिति छ त?
हामी नेपाली कांग्रेस ठूलो दलको रूपमा आउँदै गरेको यथार्थमा छौँ। आज फागुन ९ गते कुरा हुँदैछ, तपाईंको प्रसारण हुँदै गर्दा ११ गतेसम्म पुग्ला, प्रसारण हुँदै गर्दा त्यो आकार अझै बलियो बन्दै जान्छ। ११ पछाडि पनि १० दिन बाँकी रहन्छ २१ गतेसम्म। नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रूपमा, निर्णायक शक्तिको रूपमा आउँदैछ। त्यो आकार कुन रूपमा पुग्ला, बहुमत नै प्राप्त गर्ने गरी पुग्ला या बहुमतको छेउमा पुग्ला, त्यसको लागि केही दिन पर्खिनु पर्छ। तर, नेपाली कांग्रेस पार्टी पहिलो दलको रूपमा आउँछ। अब की बार सय पार भन्ने हैन, यो पालि सयको उकाली भन्ने दिशातर्फ लम्किँदैछ।
विशेष महाअधिवेशनले पार्टीलाई नवीन ऊर्जाका साथ रूपान्तरण गर्यो। यो रूपान्तरण गर्दैगर्दा पार्टीभित्र केही नेताहरूको मन कुँडिएको देखिन्छ। परिवर्तित कांग्रेसमा विगतमा पार्टी छोडेका र अन्य पार्टीका जोडिने लहर देखिँदा मन कुँडिएर बसेकाहरू फर्किसकेका छन् कि छैनन्? देशभरि पुग्दा के देख्नुभयो?
अब यस्तो हुन्छ, मान्छेको शरीरमा कुनै बेला अप्रेसन गर्यो भने केही चोटहरू शरीरमा हुन्छन्। केही दाग हुन्छन्। तर, त्यो दाग पनि आत्मीय किन अनुभूति हुन्छ, थाहा छ? किनभने त्यसले एउटा राम्रो परिणाममा पुर्यायो भन्ने हुन्छ। विशेष अधिवेशनमा सहभागी नबन्नुभएका कयौँलाई पनि यसले एउटा ऊर्जा दियो।
नयाँ लिडरसिपका साथ, नयाँ दृष्टिकोण, नयाँ योजनाका साथ कांग्रेस आउँदा ऊर्जा दियो है भनेर मन कुँडिएको होइन, मन फक्रिएको छ। मन सबै गाँसिएको छ। त्यसको बाबजुद कसैले कुनै रूपमा कहीँ बसेर गुनासो गरिरहनु भएको होला। त्यसलाई पनि म अनौठो मान्दिनँ। तर यो बेलामा सबैको परम कर्तव्य के बन्छ भने रूख चिन्ह बोकेर उम्मेदवारहरू १६५ ठाउँमा कुनै अलमल नगरी कुनै अरू चिन्हलाई नखोजीकन मत व्यक्त गर्ने गरी जाँदै गर्दा– १६५ मा दुई तिहाइ (चार कम) अर्थात् १०६ जना नयाँ उम्मेदवार, अघिल्लो पटकभन्दा महिलाको संख्या दोब्बर, दलित समुदायको अघिल्लो पटक अनुपस्थिति थियो, अहिले उपस्थिति– यसरी जाँदै गर्दा कुन अधिवेशन, के अधिवेशनमा अल्मलिनुपर्छ भन्ने मलाई लाग्दैन, अलमलिनु हुँदैन।
नेपाली कांग्रेसले परिणाम ल्याउनका लागि अहिले आएको नेतृत्व मात्रै होइन, निवर्तमान भएको नेतृत्वको पनि उत्तिकै भूमिका छ, रहन्छ। विश्वप्रकाश शर्मा र गगन थापाहरूको उमेर बराबर योगदान गरिसक्नु भएका हाम्रा श्रद्धेय नेताहरू हाम्रो अभिभावकका रूपमा हुनुहुन्छ। चाहे निवर्तमान सभापति शेरबहादुर देउवा या कार्यवाहक रहनुभएका नेता पूर्णबहादुर खड्का या डा शेखर कोइराला– यी सबै नेताहरू हाम्रो लागि आदरणीय हुनुहुन्छ। उहाँहरू सबैको शुभेच्छा, साथ रुखका लागि होला, कांग्रेसका लागि होला, कांग्रेसका उम्मेदवारका लागि होला। त्यसैले विशेष अधिवेशन भयो, अलिकति घाउचोट लाग्यो, त्यसकारणले फेरि अलमलिएको होला कांग्रेस भने बिल्कुलै नसोच्नुहोस्।
नेताहरूको साथ र शुभेच्छाको कुरा पनि निकाल्नुभयो। यो बीचमा संवाद भइरहेको छ कि छैन? तपाईं त आफै चुनावी कमान्डर पनि हुनुहुन्छ। पार्टीभित्रको गुनासो र असहजतालाई सहज बनाउन संवाद भएको त देखिँदैन नि?
अहिले यसो छ, रुख चिन्हको उम्मेदवारको पक्षमा तपाईंको साथ हुन्छ कि हुँदैन भन्ने पनि संवाद हुन्छ र? रूख चिन्हको उम्मेदवारको पक्षमा तपाईं लाग्नुहुन्छ कि लाग्नुहुन्न भन्ने पनि संवाद हुन्छ र? रूख चिन्हले जित्नु पर्छ कि पर्दैन भनेर सोध्ने पनि संवाद हुन्छ र? त्यो त हुँदैन नि त।
त्यहाँ उहाँहरू सबैको शुभकामना छ, शुभकामना रहन्छ। कसैको अलिकिति केही कतै ढिलाइ, अलमल भएको छ भने त्यो क्लियर भएर आउँछ। फागुन २१ मा सबैको हात रुखमा, सबैको साथ रुखमा हुन्छ।
फागुन २१ को निर्वाचनका लागि प्रमुख दलले प्रधानमन्त्रीको उम्मेदवार तय गरेका छन्। कांग्रेसले पनि सभापति गगन थापालाई अगाडि सारेको छ। संसदीय व्यवस्थामा यो अभ्यास कस्तो हो?
संसदीय पद्धतिमा सामान्यतया मतदाताको मतले सांसद चयन गर्ने, सांसदको विवेकले प्रधानमन्त्री चयन गर्ने अभ्यास हामीले गरिआएका थियौँ। तर, निर्वाचनमा कतिपय दलले प्रधानमन्त्रीकै उम्मेदवार भन्न थाले। साथीहरूलाई लाग्यो होला कि अब त्यो भनेर जाँदै गर्दा राम्रो गर्छ। नेपाली कांग्रेसमा त कसैले कुनै सुन्दर कुरा लिएर आयो भने पछ्याउनु हुँदैन भन्ने छैन। कांग्रेस आफ्नो योग्यता राख्ने सभापति, क्षमता राख्ने सभापति, भिजन भएको सभापति, उत्साह मात्रै होइन, अनुभवजन्य उत्साह भएको सभापतिलाई अगाडि सारौँ न अरू साथीहरूले सारेजस्तै भन्ने कुरामा अलमलिने केही कुरा थिएन। यसले आम मतदाता समक्ष चुनावको बेलामा जाँदा एउटा प्रधानमन्त्री भनेर जाने अनि चुनाव पछाडि पार्टीभित्रका गणित, यो गणित, ऊ गणितको आधार बनाएर अनि कमजोर बनाउनतिर लाग्ने भन्ने कुरोलाई खारेज गर्दैछ।
नेपाली कांग्रेसभित्र कुनै आलोपालोको सल्लाह छैन। नेपाली कांग्रेसले प्रस्टताका साथ गगन थापालाई प्रधानमन्त्री बनाउँछ। गगन थापाको नाम अगाडि सारेर निर्वाचनमा गइसकेपछि बीचमा अर्को भन्ने छैन। कतिपय दलको सुनिन्छ, केही समयका लागि फलानो, त्यसपछि फलानो, हाम्रो यस्तो खालको कुरो छैन। नागरिकको बीचमा जाँदा जो प्रधानमन्त्री भन्नुभएको छ, संसदीय दलको नेता, सरकार बनाउने गणित होस् या नबनाउने गणित होस्, प्रत्येक दलले उनैलाई बनाउनु पर्छ, हाम्रो अलमल छैन। हामी ठूलो आकारका साथ पनि आउँछौँ। नेतृत्व गर्ने आकारका साथ आउँछौँ। प्रधानमन्त्रीको रूपमा गगन थापालाई सारेर आलो र पालोका कुरा छोडेर पूरै पाँच वर्ष कसरी लिएर जान सकिन्छ भन्ने योजनाका साथ अगाडि बढ्छौँ।

तपाईंले पाँच वर्ष स्थिर सरकारका लागि एउटा प्रस्ताव राख्नुभएको थियो। विभिन्न दललाई पाँच वर्षका लागि स्थिर सरकार बनाउने प्रस्तावमा सहमतिका लागि निम्तो पनि दिनुभएको थियो। त्यसमा अरू दल संवादमा आए त?
अहिले सबै दललाई चुनाव लागेको छ। मैले राष्ट्रिय रूपमा केही भिन्न सोचहरू बनाऔँ, संवादहरू गरौँ, सरकार भोलि जसको बन्ला, बहुमत जसले ल्याउला, तर चुनावमा जाँदा स्थिर सरकारको दृष्टिकोणहरू बनाएर जाऔँ भने प्रस्ताव राखेको हुँ। प्रधानमन्त्री पाँच वर्ष कायम रहन सकून् भन्ने कोणबाट अरू दलहरूबाट त्यसरी छलफल अगाडि आइरहेको म देख्दिनँ।
हामीले बरु भनिरहेका छौँ, चुनाव जित्ने हार्ने आफ्नो ठाउँमा छ। तर, देशले जित्ने कुरो प्रधान छ। ७५ वर्षमा किन कोही व्यक्ति लगातार पाँच वर्ष प्रधानमन्त्री बन्नुभएन? मनन गर्नुपर्ने प्रश्न छ। पाँच वर्ष अब टिक्ने गरी प्रधानमन्त्री कसरी बन्नुहोला? के पद्धति होला? कस्तो संरचनागत, कस्तो संवैधानिक सुधार गर्नुपर्छ, सहमति गर्नुपर्ला भन्ने मेरो कुरा हो।
त्यसैले मैले प्रस्ताव राख्दै भनेको छु– प्रत्यक्षतर्फ निर्वाचित सिट र समानुपातिक तर्फबाट प्राप्त भएको लोकप्रिय मतको आधारमा जुन दल पहिलो बन्छ, त्यो दलले पूरै पाँच वर्ष शासन गर्ने गरी आउनुहोस्, सहमति गरौँ। यसको अर्थ हो– दोस्रो या तेस्रो आकारमा आएका दलहरू पूरै पाँच वर्ष प्रतिपक्षमा बस्ने। कांग्रेस दोस्रो भए प्रतिपक्षमा बस्ने, तेस्रो, चौथो सबै बाहिर बस्ने। सरकारको नेतृत्व ठूलो दलले गर्ने भन्ने हो।
दोस्रो कुरा संसदमा विधेयकहरू पास गर्न, बजेट पास गर्न आवश्यक गणित पुगेन भने त कसरी सरकार बन्छ, कसरी चल्छ भन्ने प्रश्न आउँछ। त्यसको लागि मैले विनर टेक्स अल भन्ने सिद्धान्त बमोजिम राष्ट्रिय सहमति गरौँ भनेको हुँ। त्यो सहमति बमोजिम निर्वाचनपछाडि कुनै दललाई २०–२५ वटा सिट पुगेन भने उसलाई समानुपातिकको सूचीबाट पहिलो भाग दिउँला। कुनै त्यस्तो संवैधानिक प्रबन्ध गर्न सकिन्छ, जो संसदको पहिलो बैठक बसेपछि एक हप्ता दस दिनभित्रमा त्यो डकुमेन्टलाई अनुमोदन गर्न सकिन्छ, नयाँ सरकार बन्नुअगाडि।
तेस्रो कुरा, सरकारले एक हप्ताभित्रमा विश्वासको मत लिने व्यवस्था गरौँ। एक महिना किन, ३० दिन किन चाहियो? एउटा गरिब राष्ट्रमा ३० दिनमा विश्वासको मत लिन किन लाउने? सात दिनै विश्वासको मत टुंग्याइदिने अनि काममा लाग्ने।
विश्वासको मत पाइसकेपछि मन्त्रिपरिषद् बनाउँदा मन्त्रालयको विषयगत योग्यता राख्ने व्यक्तिलाई ल्याटरल इन्ट्रीका साथ बाहिरबाट मन्त्री बनाउनुपर्छ। चुनावमा जितेर आएका सबै योग्य भन्ने हुँदैन। त्यसको अर्थ विश्वप्रकाश शर्मा चुनाव लडेको छैन, मन्त्री बन्ने भन्ने होइन। कुनै भूगर्भशास्त्री चाहिएला, स्ट्रक्चरल इन्जिनियर चाहिएला, अर्थतन्त्रको ज्ञान भएको चाहिएला। उनीहरूलाई मन्त्री बनाउनुपर्छ।
चौथो नम्बरमा, त्यसरी बनेको प्रधानमन्त्रीले दुई वर्षसम्ममा काम गर्ने, काम गरिसकेपछि फेरि दुई वर्ष पुगेको मितिले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था गरौँ। किन ३० दिन भन्दा दुई वर्ष पूरा भएपछि प्रधानमन्त्रीको दुई वर्षको रिपोर्ट कार्ड आउँछ। केही इन्डिकेटरहरूको आधारमा विश्वासको मत दिने कि नदिने टुङ्गो गर्नुपर्ने हुन्छ। जस्तो प्रतिव्यक्ति आय प्रधानमन्त्री बन्दै गर्दा जति थियो, बढ्यो कि बढेन? पुँजीगत बजेटको खर्च प्रधानमन्त्री बन्नुअगाडि जति थियो, त्यो भन्दा बढ्यो कि बढेन? सुशासनको इन्डेक्सले के भन्छ? त्यो आकार कुन रूपमा छ? सुशासनका इन्डिकेटरहरूले, सामाजिक रूपान्तरणका कुराहरूले, सरकारले काम गर्ने कुराको गतिको कुराले, मन्त्री र मन्त्रालयहरूको पर्फरमेन्सको कुराले, विभिन्न इन्डिकेटरहरूको आधारमा बाँकी तीन वर्षलाई विश्वासको मत दिने कि नदिने टुङ्गो गर्न सकिन्छ।
विश्वासको मत दिनलाई यो पूर्णाङ्क यति भित्रबाट दस वटाको हजार पूर्णाङ्क भयो भने त्यसभित्रबाट यति अग्रगतिमा देखियो, त्यसकारण उनलाई दिने भन्ने भयो भने बाँकी तीन वर्ष समय दिएर पाँच वर्षे प्रधानमन्त्री बनाउने कुरा हो। तर, यदि प्रधानमन्त्री बनेको व्यक्ति राष्ट्रिय अखण्डताको, संविधान विपरीतको, धार्मिक जातीय सद्भावको र भ्रष्टाचारको कुरामध्ये कुनै एउटा कुरामा मात्रै अदालतबाट दोषी प्रमाणित भए भने, या त उनले राजीनामा दिन्छन्, दिएनन् भने महाभियोग लगाएर उनलाई हटाउन पाइन्छ। त्यो महाभियोग लगाउँदा कुनै पनि दलको ह्विप नलाग्ने गरी सांसदले स्वतन्त्र हिसाबले निर्णय गर्न पाउँछन्।
पाँचौँ र अन्तिम कुरा, यसरी बनेको प्रधानमन्त्रीले केवल दुई पटक देशको नेतृत्व गर्न पाउनेछन्। त्यो भनेको वन, टु, थ्री, फोरको पोलिसी हो। एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री, चार पटक सांसद, सकियो।
त्यति भएपछि एउटा प्रधानमन्त्रीले पाँच र पाँच वर्ष गरेर दस वर्ष शासन गर्न पायो भने त्यसपछि देश एउटा स्थिर ढङ्गको मार्गमा, एउटा नीतिगत सुनिश्चितताको मार्गमा, एउटा उचाइमा अगाडि जान सक्छ। त्यसका लागि हामी स्पष्ट छौँ, अन्य राजनीतिक दल तयार हो भने।
तर, यो मेरो व्यक्तिगत प्रस्ताव हो, अहिले पार्टीको संस्थागत निर्णय होइन। व्यक्तिगत प्रस्तावहरूबाटै नयाँ कुराहरू सुरुवात हुने हुँदा यो प्रस्तावमा सहमत हुनुहुन्छ भने अन्य राजनीतिक दलहरू पनि खुलेर संवाद गर्न आउँदै गर्दा हामी तयार छौँ। यो भन्दा राम्रो दृष्टिकोण अर्को हुन सक्छ, यो नै अन्तिम भन्ने होइन। एउटा आइडियाको कुरो हो। यो भन्दा राम्रो आइडिया हुन सक्छ, छलफल त गरौँ। निष्कर्षमा पुगौँ, बस त्यही कुरा हो।

यो चुनावमा एकदमै जबर्जस्त ढङ्गले उठेको विषय नयाँ भर्सेस पुरानोको छ। आफूलाई बदलेर आएको कांग्रेसलाई मतदातामाझ नयाँ र पुरानोको भाष्य चिर्न कतिको कठिन देखिराख्नुभएको छ?
वैरागी काइँलाले केही दिनअगाडि एउटा पुस्तक लेख्नुभयो, बाहिर आयो। लिम्बू भाषाको संस्कृतिहरूको बारेमा छ। वैरागी काइँला नयाँ कि पुरानो? पुरानो। तर वैरागी काइँलाले ल्याउनुभएको कृति के हो, नयाँ कि पुरानो? नयाँ।
बस, कांग्रेस पुरानो कम्पनी हो। कांग्रेसले अहिले गगन थापालाई नेतृत्वमा लिएर आएर बनाएका डकुमेन्टसहित नीति र नेतृत्वको कुरो नयाँ हो। पुरानो कम्पनीको नयाँ प्रोडक्ट हो कांग्रेस। त्यसैले कांग्रेसलाई रोज्दै गर्दा नागरिकले पुरानो रोज्न चाहँदा पुरानो भेट्नुहुन्छ कम्पनी, नागरिकले नयाँ रोज्न चाहँदा नयाँ भेट्नुहुन्छ सामग्री।
त्यसकारण नेपाली कांग्रेसलाई रोज्नका लागि मतदाताले दुइटै अवस्थामा पाको, परिपक्व, अनुभवी रोज्न चाहे कांग्रेस, ऊर्जाका साथ बदलेको नयाँ तीक्ष्ण ढङ्गले जान चाहेको सोचलाई रोज्न चाहे कांग्रेस। यो कुराले क्रमशः हामीलाई सजिलो बनाउँदै गएको छ, अप्ठ्यारो होइन।
नेपाली कांग्रसले प्रतिज्ञापत्र फागुन ६ मा मधेसबाट सार्वजनिक गर्यो। यसको कुनै रणनीतिक उदेश्य छ? यसको कार्यान्वयन कसरी हुन्छ?
हामीले मधेसमा एउटा विशाल सभा गर्दै थियौँ। नेपाली कांग्रेसको पनि मधेस नै बेस हो। मधेसबाट नै धेरै सहादत देशका लागि गर्नुभएको छ, मधेसमै ठूलो जनसङ्ख्या छ, धेरै नेपालीको पेटमा पुग्ने अन्न मधेसले उत्पादन गर्छ। मधेसमा धेरै निर्वाचन क्षेत्र छ। प्रधानमन्त्रीको उम्मेदवार हाम्रो मधेसमै हुनुहुन्छ। त्यति भइसकेपछि मधेसमै गरौँ भन्ने कुराका साथ प्रतिज्ञासभा मधेसमा गरेको हो।
दोस्रो कुरा, कार्यान्वयनको सन्दर्भमा चाहिँ प्रधानमन्त्रीले नियमित रूपमा रिपोर्ट बाहिर बुझाउने, मन्त्रीले नियमित रूपमा रिपोर्टलाई बाहिर बुझाउने र त्यो कार्यान्वयन गर्ने कुराको मोनिटरिङ पार्टीको केन्द्रीय कार्यालयले गर्छ। कांग्रेसको केन्द्रीय कार्यालयले गर्छ भन्नुको अर्थ सरकारको दैनिक काम कुराहरूमा हस्तक्षेप गर्छ भन्ने होइन। तर, कांग्रेसले हिजो नागरिकको बीचमा बोलेका वचनहरूलाई कार्यान्वयन गर्ने, गराउने सन्दर्भमा सरकारको सजगता पुग्यो कि पुगेन भनेर घच्घच्याउने कुरा केन्द्रीय कार्यालयले गर्छ। केन्द्रीय कार्यालयले एउटा टिमको रूपमा कार्य गर्छ।
यता गभर्मेन्टको टिम पनि काम गर्न जान्छ। सांसद बन्ने, मन्त्री बन्ने सबै कुराको दौडभन्दा बाहिर बसिराखेर विश्वप्रकाश सांसदको भूमिकाको कुरालाई सहजीकरण गर्ने, प्रेरित गर्ने कुराहरूमा लाग्छ र सरकारको कुरालाई पनि प्रभाकारी बनाउने कुरामा लाग्छ। अर्को कुरा, नेपाली कांग्रेसले घोषणापत्र होइन प्रतिज्ञापत्र किन भनेको भन्दा घोषणा भनेको एउटा कुरा हो, त्यो बाहिर गयो। तर प्रतिज्ञा गर्नु भनेको भित्र आयो। हामीले प्रतिज्ञा गर्दछौँ भनेर भिष्मप्रतिज्ञा भनेर जसरी महाभारतमा भनिएको छ, त्यस्तै प्रतिज्ञा गर्दछौँ भनेर कांग्रेस आएको छ।
आज देशलाई सपनाको कुरा मात्रै होइन, तपाईंको आकाशमा उडेको सपना होइन, रूखमा जरा बलियो भएको सपना चाहिएको छ। आज देशलाई संकल्प गर्ने भन्ने सोच होइन, संकल्प चाहिएको छ। कांग्रेसलाई प्रस्तुति, घोषणा होइन, प्रतिबद्धता चाहिएको छ। प्रतिबद्धताभन्दा ठूलो प्रतिज्ञा चाहिएको छ। प्रतिज्ञाभन्दा ठूलो कार्यान्वयन गर्न सक्ने इच्छाशक्ति चाहिएको छ र त्यो इच्छाशक्तिलाई सम्पादन गर्नका लागि बलियो डाइनामिक लिडरसिप चाहिएको छ।
सबै कुराका साथ कांग्रेस प्रधानमन्त्रीमा गगन थापालाई अगाडि सारेर पर्फेक्ट दृष्टिकोणका साथ नेपालको अबको भविष्य अबको दशकमा बनाउन सकिने योजना र संकल्पका साथ अगाडि बढेको छ।
भिडिओ :
फोटो/भिडिओ : सरोज नेपाल
Shares

प्रतिक्रिया