नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्दा सबैभन्दा बढी जोखिममा प्रदेश १ देखिएको छ। उदयपुरमा मात्रै संक्रमितको संख्या २७ पुगेको छ। अन्य धेरैको रिपोर्ट आउने क्रममा छ। त्यहाँ अझै संक्रमितको संख्या बढ्ने अनुमान गरिएको छ। गत शुक्रबार एक साथ १२ जनामा संक्रमण देखिएको उदयपुरमा दिनदिनै संक्रमितको संख्या थपिँदै गएको छ।
भेटिएका संक्रमितले प्रदेश १ कै सुनसरी, सप्तरी र मोरङमा पनि पुगेको बताएका छन्। उनीहरुसँगै मस्जिदमा पुगेका अरु संक्रमित भेटिँदा ती जिल्लामा पनि थप जोखिम अनुमान गर्न सकिन्छ। उदयपुरकै चौदण्डी र त्रियुगाका विभिन्न स्थानमा उनीहरु पुगेको खुलेको छ। यी क्षेत्रका स्थानीयको परीक्षण र अन्य क्षेत्रमा हुन सक्ने जोखिमबाट बच्न प्रदेश सरकारले के गरिरहेको छ? यसै विषयमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीसँग नेपालखबरले गरेको कुराकानीः
सबैभन्दा बढी कोरोना भाइरस संक्रमित प्रदेश १ मा देखिएका छन्। महामारी रोकन प्रदेश सरकारले कस्तो तयारी गर्दैछ?
अहिले नेपालकै सबैभन्दा धेरै कोरोना संक्रमित प्रदेश १ को उदयपुरमा फेला परेका छन्। हिजोसम्म २४ जनामा संक्रमण पुष्टि भएको थियो, आज ३० पुग्न लाग्यो। अहिलेसम्म हामीले घरको एक जनाको मात्रै परीक्षण गरेका छौं। अरुको परीक्षण गर्न बाँकी नै छ। त्यो हिसाबले अझै धरै बढ्ने देखिन्छ।
भाइरस फैलिन नदिन जुन ठाउँमा संक्रमण देखिएको छ, ती ठाउँहरुलाई पूर्णरुपमा सिल गरिएको छ। अहिले उदयपुरको भुल्केस्थित मस्जिदमा देखिएको हो। त्यहाँ रहेका करिब ३ सय ५० परिवारको हामीले परीक्षण गरेका छौं। चौदण्डी नगरपालिकाको शिवाई भन्ने ठाउँमा पनि संक्रमितहरु पुगेको पाइएको छ। त्यहाँ परीक्षण नै गरिएको छैन, अहिले सिल गरिएको छ। अब परीक्षण गर्छौं।
उदयपुरको संक्रमणलाई नियन्त्रण गर्ने तत्कालको योजना के छ?
सिंगो उदयपुर जिल्लामा आउजाउ गर्न नपाउने व्यवस्था गरिसकेका छौं। जिल्लाका मान्छे बाहिर आउँदैनन् र बाहिरका मान्छे अहिले उदयपुर प्रवेश गर्न पाउँदैनन्।
हामीले संघीय सरकारसँग पनि आवश्यक समन्वय गरिरहेका छौं। उदयपुर जिल्लासित सीमा जोडिएको सप्तरीमा यसको खतरा बढेको छ। किनभने संक्रमित मानिसको सम्पर्कमा रहेकाहरु त्यहाँ पुगेका छन्। त्यसैले सप्तरी र उदयपुर दुईटै जिल्लामा आवश्यक परीक्षणका लागि सामग्री र स्वास्थ्यकर्मी पठाउन तथा सुरक्षाको व्यवस्था गर्न माग गर्दै हामीले संघमा लेखिपठाएका छौं।
सीमा क्षेत्र धेरै लामो भएकाले दुवै जिल्लामा परीक्षण गर्नुपर्छ भनेका छौँ। हाम्रो दुई वटा ल्याब छन्– धरान र विराटनगरमा। यी ठाउँमा प्राविधिक लगायतका जनशक्ति थप्नका लागि समेत आग्रह गरेका छौं। अस्पतालको क्षमता बढाउन पनि आग्रह गरेका छौं।
त्यस्तै, २ नम्बर प्रदेशसँग पनि हामीले आवश्यक समन्वय गरिरहेका छौं। सप्तरी र उदयपुरका यी क्षेत्रमा दुवै प्रदेशका सरकार मिलेर सुरक्षित बनाऔँ भनेर सल्लाह गरेका छौँ।
सामाजिक मन्त्रालयमार्फत त्यहाँ कुरा भइसकेको छ। म पनि आन्तरिक मन्त्रीसँग कुरा गर्छु।
थप स्थानीयको परीक्षण कहिले गर्नुहुन्छ?
बाँकी डेढ सय जनाको स्वाब संकलनका लागि बिहीबार नै केन्द्रबाट टोली आउँदैछ। जुन घरको सदस्यमा कोरोना संक्रमण देखियो, ती परिवारका सबैको कोरोना परीक्षण गरिन्छ। ल्याबबाट पनि हामी कन्फर्म हुँदै जाने र ती क्षेत्र पनि गर्दै जाने भएकाले जोखिम कम हुँदै जान्छ।
मैले आन्तरिक मामिला मन्त्रीका हैसियतले यो प्रदेशका सुरक्षा निकायलाई त्यही अनुसारले निर्देशन दिएको छु। प्रमुख जिल्ला अधिकारीहरुले पनि त्यो अनुसारको व्यवस्था मिलाइरहनु भएको छ। आवश्यक पर्दा नेपाली सेना पनि त्यहाँ पठाउँछौं। अब परिवारका सबै सदस्यको परीक्षण गर्छौं। त्यसपछि शिवाईमा पनि त्यसैगरी सबैको परीक्षण गर्छौं।
जोखिम बढी रहेका अन्य क्षेत्र कुनकुन हुनसक्छन्?
यो प्रदेशभर रहेका मस्जिद, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिकस्थलहरुमा बढी जोखिम देखेका छौं। ती सबै ठाउँमा परीक्षण गर्ने तयारी गरिरहेका छौं।
स्थानीय तहले उदयपुरमा अस्थायी अस्पताल स्थापना गर्न माग गरेका छन्। त्यसबारे के गर्दै हुनुहुन्छ?
तत्कालका लागि हामीले उदयपुरको जिल्ला अस्पताललाई व्यवस्थित गरेर त्यहाँ केही संक्रमितको उपचार गर्न सक्छौँ। तर, अहिले जनशक्ति र अन्य हिसाबले कोरोना संक्रमितको उपचार गर्ने छुट्टै अस्पताल बनाउने सम्भावना कम छ।
बीपी केयरमा एक सय बेड तयार पारेका छौं। त्यहाँ ल्याउँछौं। यस अघि पनि उदयपुरबाट केही मान्छे त्यहाँ ल्याइसकिएको छ। बाँकी विराटनगरको खाली ठाउँमा पनि हामी राख्छौं। थप उपचारका लागि उदयपुरमा वैकल्पिक उपाय सोचिराखेका छौँ।
के हुनसक्छन्, त्यस्ता विकल्प?
विकल्प भनेको लक्षण देखिएको र लक्षण नदेखिएको तर परीक्षणमा देखिएका व्यक्तिहरुलाई हामीले आइसोलेसन वार्ड बनाएर केही मेडिकल पर्सनहरु, खाद्य सामग्री लगायत व्यवस्था गरेर तत्कालका लागि राख्न सक्ने सम्भावना छ। त्यो विषयमा आजै मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीसँग छलफल गर्दैछु। त्यसपछि थप टुंगो लाग्छ।
यसअघि उदयपुरबाट लगिएका बिरामीले अस्पतालमा समयमा उपचार पाएनन्। रेस्पोन्स राम्रो भएन भन्ने मेयरको गुनासो छ, के भएको हो ?
उहाँहरुमा कुनै संक्रमण देखिएर लगिएको होइन। परीक्षण गर्दै जाँदा देखिएको हो। उहाँहरु कोही पनि अहिले गम्भीर अवस्थामा हुनुहुन्न। उहाँहरुलाई हामीले कोरोना संक्रमितको उपचारका लागि तयार अस्पतालमा मात्रै राखेका छौं। कसैलाई श्वासप्रश्वासमा समस्या भयो भने तत्काल भेन्टिलेटरमा राखेर पनि उपचार गर्ने सामर्थ्य बनाएका छौं। यो कुरामा कुनै कमी हुने छैन।
उदयपुरमा मानिसहरुलाई हिँडडुलमा पूर्ण रोक छ। उनीहरुलाई राहतको व्यवस्था चाहिँ के गर्नुभएको छ?
राहतका लागि हामीले स्थानीय सरकारलाई आफ्नो बजेट परिचालन गर्न भनेका छौं। दोश्रो चरणमा प्रदेश सरकारले पनि हरेक स्थानीय तहलाई केही न केही राहत उपलब्ध गराउँछ। हामीसँग भएको साधन श्रोत हामी पठाउँछौं।
जो व्यक्तिलाई राहत दिनु पर्ने हो, जो किनेर खान सक्दैन, ती व्यक्ति भोकले मर्दैनन्। त्यसका लागि प्रदेश सरकार स्थानीय सरकारलाई जुनसुकै खालको सहयोग गर्न तयार छ। यसको प्रारम्भिक प्रक्रिया सुरु गरिसकेका छौं।
अहिलेसम्म केके गरिसक्नु भयो ?
हामीले हरेक नगरपालिकालाई कम्तीमा १० लाख रुपैयाँका दरले पठाएका छौं। गाउँपालिकालाई ५ लाखका दरले पठाएका छौं। अरु पनि यस्ता खालका समस्या देखियो भने जनतालाई भोकले र रोगले मर्न नदिने दायित्व हाम्रो हो। हामी स्थानीय तहसँग मिलेर र केन्द्रसँग पनि सहयोग मागेर यी कुरालाई व्यवस्थापन गर्छौं। अहिले हामी उदयपुरमा केन्द्रित छौं। जहाँ जोखिम देखियो, केन्द्र सरकार पनि त्यहीँ केन्द्रित हुनुपर्छ।

प्रतिक्रिया