राजनीति


अध्यादेश फिर्ता लिन र तत्काल संसद बैठक बोलाउन कांग्रेससहितका चार दलको माग

अध्यादेश फिर्ता लिन र तत्काल संसद बैठक बोलाउन कांग्रेससहितका चार दलको माग

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १२:३५,

नेपाली कांग्रेससहितका चार प्रतिपक्षी दलले सरकारले ल्याएका दुई विधेयक तत्काल फिर्ता लिन माग गरेका छन्।

सरकारले सोमबार राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई अध्यादेश ल्याएपछि बुधबार संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, र राप्रपा चार दलको कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको बैठकले अध्यादेश फिर्ता लिई तत्काल संसद बैठक बोलाउन माग गरेका छन्।

सरकारले ल्याएको अध्यादेशले संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको उल्लंघन भएको भन्दै चार दलले दुवै अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन्।

‘मन्त्री परिषद्को निर्णयबाट राष्ट्रपतिबाट जारी यी अध्यादेशहरुले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मूल मर्ममा आक्रमण गरेकोले सामाजिक दुरी कायम गर्ने व्यवस्था मिलाई तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग यो बैठक जोडदार माग गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

बैठकले कोरोना संक्रमणको कारण लकडाउनको अवस्थामा देश रहेको र यसका कारण आम जनता खाद्यान्न लगायतका न्यूनतम आवश्यकताहरुबाट पनि विस्तारै वञ्चित हुँदै गएका भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

बैठक संघीय संसद बाहिर रहेका राजनीतिक दलहरु र नागरिक समाजसँग पनि थप अन्तरक्रिया र छलफल गर्ने निर्णय गरेको छ।

हाल लकडाउनको अवस्थामा त्यसको सीमाभित्र रहेर सरकारको यो अलोकतान्त्रिक कदमको विरुद्धमा जनमत सिर्जना गर्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको निरंकुश र जनविरोधी कदमका विरुद्ध आवश्यक कदम उठाउन वाध्य हुने बैठकले निर्णय गरेको छ।

बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, राष्ट्रिय जनता पाटीका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र शरदसिंह भण्डारी, समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. वावुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शम्शेर राणा लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad