अन्तर्वार्ता


‘स्वाभिमान नेपाल’ नाराले तानेपछि अमेरिकाबाट फर्केको भोलिपल्टै रविको पार्टीमा जोडिएँ : मेघबहादुर आले

‘संघीयता व्यवस्थापन गर्नुपर्छ, धर्मका विषयमा जनमतअनुसार निर्क्यौल हुनुपर्छ’
‘स्वाभिमान नेपाल’ नाराले तानेपछि अमेरिकाबाट फर्केको भोलिपल्टै रविको पार्टीमा जोडिएँ : मेघबहादुर आले

अभियन्ता ‘रिभरम्यान’ अर्थात् मेघबहादुर आले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीको दोस्रो नम्बरमा छन्


जेवी पुन मगर
मंसिर ९ , काठमाडौँ

स्थानीय निर्वाचनमा आएको स्वतन्त्रको लहरलाई ‘क्यास’ गर्न रातारात राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका रवि लामिछानेले आ–आफ्ना क्षेत्रमा काम गरिरहेका क्षमतावान व्यक्तिहरुलाई समानुपातिक सूचीमा राखेर तिनलाई देशव्यापी चुनावी अभियानमा खटाएका थिए। जसले सो पार्टीप्रति जनमत आकर्षित गर्न सहयोग पुर्यायो। 

स्वतन्त्र पार्टीको समानुपातिकतर्फको बन्द सूचीमा जेल सजाय भोगिरहेका अभिभावकका बालबालिकामाथि काम गर्ने संस्था बन्दी सहायता केन्द्रकी सञ्चालक इन्दिरा राना मगरदेखि समाजसेवी लक्ष्मी तिवारीसम्म छन्।

त्यस्तै, ‘रिभरम्यान’ नामले परिचित पर्यावरण बचाउ अभियानका अभियन्ता मेघबहादुर आले पनि आदिवासी कोटाको दोस्रो नम्बरमा राखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका थिंकट्याङ्क सदस्य आले र उनीजस्ता विभिन्न क्षेत्रका विज्ञहरूमार्फत सो पार्टीले ल्याएको लहर र त्यहाँभित्र उठिरहेका शासकीय संरचनासम्बन्धी बहस तथा ‘स्वाभिमान नेपाल’ अवधारणाको नाडी छाम्ने प्रयत्न हामीले गरेका छौँ। 

अहिलेसम्म सांगठनिक र वैचारिक रुपले मूल खाँबोमा नबाँधिइसकेको स्वतन्त्र पार्टीले निर्वाचनपछि गर्ने वैचारिक मन्थनले यो दल कता जान्छ भन्ने निक्र्यौल गर्नेछ। आलेसँगको यो कुराकानीले स्थापनाकोे ६ महिनामै नेपाली राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्ने हैसियत बनाएको स्वतन्त्र पार्टीको अवधारणा बुझ्न सघाउने हाम्रो अपेक्षा छ। स्याङ्जाको निर्वाचन क्षेत्रमा मतपेटिका कुरेर बसिरहेका मेघबहादुर आलेसँग टेलिफोनमार्फत नेपालखबरले गरेको कुराकानीः

नदीनाला, पहाड–पखेरा स्वच्छ राखौँ भन्दै त्यसैमा जिन्दगी बिताएको मान्छे राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेर राजनीति सफा गर्छु भन्दै कस्सिनुभएछ। राजनीतिले कसरी लोभ्यायो तपाईंलाई?
दलीय राजनीति कहिल्यै मेरो प्राथमिकतामा थिएन। यसपालि म रहरले नभई बाध्यताले तानिएको हुँ। मेरो क्षेत्र पर्यटन, प्रकृति र पर्यावरण हो। दलका शीर्ष नेता र नीतिनियम बनाउने निकायहरुलाई मैले लगातार भन्दै आइरहेको छु, हामीले आफूसँग भएको प्राकृतिक श्रोतसाधन राम्ररी उपयोग नगर्दासम्म देश उँभो लाग्नै सक्दैन।

नदी व्यवस्थापन नहुँदासम्म देशमा केही हुनेवाला छैन भन्दै सम्झाउने प्रयत्न गरेको २७ वर्ष भइसक्यो तर नेताहरुलाई नदी के हो भन्ने नै थाहा छैन। फोहोर व्यवस्थापन छैन। ढुंगागिट्टी निकालेर र पहाडमा प्लटिङ गरेर नाङ्गेझार पारिएको छ। नेताकै संरक्षणमा सबै प्रकृति दोहनमा लागिरहेका छन्। कमिसनका निम्ति ठुल्ठूला बाँध बनाउने योजना ल्याइन्छ। कालीगण्डकी डाइभर्सन किन चाहियो? कालीगण्डकीमा बाँध बाँधी त्यहाँको पानी तिनाउ खोलामा लगी रुपन्देहीका जग्गा सिंचाइ गर्ने भनिएको छ। रुपन्देही अत्यन्त सहरीकरण भएको क्षेत्र हो। त्यहाँ केही वर्षभित्र खेतीयोग्य जमिन निकै खुम्चिसक्छ। त्यसैले व्यवस्थापन गर्नसके त्यहाँको कृषियोग्य जमीनलाई तिनाउ खोलाकै पानीले पुग्नसक्ने अवस्था छ। कमिसनको लोभमा नदीको क्षमता र स्वरुप बिगारीबिगारी त्यत्रो लगानी गरिनु जरुरी नै छैन।

भिजन र मिसन केही छैन, जे पायो त्यही गरेको छ। प्रकृति मासियो भने के हुन्छ? राष्ट्रको लक्ष्य समृद्धि हो कि ड्याम बढाउँदै लैजाने हो? हामीले विश्वास गरि जिताएर पठाएकाहरुले यति धेरै बेथिति र भ्रष्टाचार फैलाए, यति मनोमानी गरे कि उनीहरु त्यहाँ देशसेवा गर्न नभई सम्पत्ति कमाउन गएको प्रमाणित भइसक्यो।

हामीसँग भएको यस्ता अमूल्य सम्पत्तिको महत्व बुझाउन मैले सबै शीर्ष नेताहरुलाई भेटिसकेको छु। भेट्दा वहाँहरु ‘तपाईंले भनेको सही हो’ भन्नुहुन्छ तर काम केही गर्नुहुन्न। नीतिनियम बनाउने कुरा त परै जाओस्, छलफलमा समेत ल्याइदिनुहुन्न। वहाँहरुमा देश विकास गर्ने गम्भीरता नै छैन।

नेतृत्वलाई बुझाउन मेरो अगुवाइमा ३ वटा राष्ट्रिय नदी शिखर सम्मेलन गरियो। संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई ल्याएर उद्घाटन गरियो। अहँ, सुन्ने होइन। वहाँहरुले आँखा र कान बन्द गरेर ‘देख्या नदेख्यै, सुन्या नसुन्यै’ गरेपछि म आफैँ राजनीतिमा आएँ। डा. गोविन्द केसीको आमरण अनशन समेत नसुन्नेहरुले आफ्नो मुद्दा सुनाउन अनशन बसेपनि काम लाग्दैन भन्ने भएपछि नीतिनियम बनाउने थलोमै गई हस्तक्षेप गरौँ भन्ने सल्लाहबमोजिम म लगायतका भिन्नभिन्न पेसाका साथीहरु गोलबद्ध भएका हौं। 

तपाईं प्राकृतिक स्वरुप नबिगारिकन पनि विकास गर्न सकिन्छ भन्दै हुनुहुन्छ, त्यो भनेको के हो? 
अलिअलि जान्नेबुझ्ने सबैलाई थाहा छ, नदी मानव सभ्यताको मुहान हो। नदी पृथ्वीको रक्तनली पनि हो। यो मरे मानव सभ्यता बाँच्छ कि बाँच्दैन, पृथ्वी बाँच्छ कि बाँच्दैन? पक्कै बाँच्दैन। त्यसैले मानव सभ्यताका निम्ति सबैभन्दा ठूलो प्रकृति हो। त्यसको दोहन गरिए त्यसले विपत्ति निम्त्याउँछ।

प्राकृतिक स्रोतसाधन नबिगारिकन या कम बिगारेर विकास हुन्छ भने किन ध्वस्त हुनेगरी विकास गर्ने? मेरो सरोकार यसमा हो। यसको अर्थ मलाई विकासविरोधी नठानियोस्। मैले कमिसनकै कारण प्रकृतिलाई ध्वस्त बनाउनुभएन, सन्तुलन मिलाउनु पर्यो भनेको हुँ। बरु अन्य देशमा नभएको तर हामीले प्राप्त गरेको अथाह प्राकृतिक सम्पत्तिको व्यवस्थापन गरी पर्यटन क्षेत्रलाई अघि बढाऔँ।

तपाईंले र्याफ्टिङ व्यवसायमा लामो अनुभव सँगाल्नुभएको छ। त्यसैलाई पर्यटनसँग जोडौँ भन्न खोज्नुभएको हो?
हामीसँग पर्यटक तान्ने अनेकन सम्पदाहरु छन्। ६ हजार नदीनाला छन्। जस्तैः प्राकृतिक भू–बनोट र जैविक विविधताका कारण संसारकै दुर्लभ ठानिएको कर्णाली नदीलाई लिन सकिन्छ। तिब्बतको पठार–हिमालय–चुरे पहाड हुँदै गंगा नदीमा गएर मिसिने कर्णाली नदी धार्मिक रुपले बौद्ध र हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पनि हो। खस जातिको उत्पत्ति थलो मानिएको कर्णाली मगर र थारु सभ्यतासँग पनि जोडिएको छ। यो स्थललाई चीन, भारत र नेपालको आस्थाको केन्द्रको रुपमा विकास गर्न सकिन्छ। 

त्यस्तो थलोमा मुहानमै जीएमआर जस्ता ठूला परियोजना लगेर ध्वंस मच्चाउने काम गरिँदैछ। त्यसो गरिनु हुँदैन। बाघ बचाउन करौडौँ लगानी गरिन्छ भने माछा, गोही र डल्फिन जोगाउन किन काम नगर्ने? कर्णालीका मुहानमा अग्ला बाँध बाँधेर हाम्रो यस्ता निधिलाई खतरामा पार्ने काम गरिँदैछ। अन्य शाखाहरु मुगु कर्णाली, तिला कर्णाली, लोटी कर्णाली, सेती कर्णालीमा गरौँ तर जलचर मासिने गरी विकासको ध्वंस मोडल यहाँ लागू नगरौं भन्दै आइरहेको छु। यस्तो संवेदनशील विषय कोही सुन्नै चाहँदैन। 

कर्णालीमा काम गर्न सकियो भने त्यहाँ अध्ययन गर्न विश्वभरका वैज्ञानिक र अनुसन्धाताहरुलाई आकर्षित गर्न सकिन्छ, किनकि यस्तो अर्गानिक नदी अन्यत्र छैन। 

अन्य दलले अहिलेम्म नगरेको यो काम स्वतन्त्र पार्टी मार्फत हुन्छ भनेर कसरी विश्वस्त हुनुभयो?
सरकारको नेतृत्व गर्ने नेताहरुले नसुने पनि मैले आफ्नो काम गर्न छाडेको थिइनँ। रवि लामिछानेहरुले पार्टी खोल्दा म अमेरिकाको डीसीमा भइरहेको एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा थिएँ। मिडियाबाट वहाँहरुको कुरा सुन्दा केही आश पलायो। वहाँहरुले उठाएको ‘स्वाभिमान नेपाल’ नाराले मलाई तान्यो। किनकि मैले पनि हामीसँग भएको प्राकृतिक श्रोतसाधनलाई ‘नेपालको स्वाभिमान’ मान्दै आइरहेको छु। मैले फर्किएको भोलिपल्टै पार्टी कार्यालयमा गई रविजीसँग भेट गरेँ। वहाँले मिलेर काम गरौँ भन्नुभयो। मैले ‘यदि मेरा मुद्दाहरुमाथि बहसपैरवी गरी नीतिनियम बनाउने पहल हुन्छ भने म पार्टीमा जोडिन्छु भनेँ। रविजी सहर्ष राजी हुनुभयो।

मैले निजी स्वार्थका निम्ति काम गरिरहेको होइन। हामीले पाएको अद्भूत प्राकृतिक सम्पत्तिको स्वरुप नबिगारी देश समृद्ध बनाउन सम्भव छ भन्ने विश्वासमा मैले काम गरिरहेको हुँ। यसमा रविजी विश्वस्त भएको मात्र होइन, वहाँले आफैँ राजनीतिमा संलग्न भई देशलाई समृद्धितर्फको यात्रामा सँगै अगाडि बढाऔँ भनेपछि ‘अब चाहिँ मैले देखेको सपना पुरा हुनेभो’ भनी म राजनीतिमा आएको हुँ। नत्र ६१ वर्ष पुगेको मलाई राजनीतिमा छिर्न केको रहर थियो र? 

अस्तित्वमा रहेका दलमा आबद्ध भई यी मुद्दाहरु लागू गराउन पनि सकिन्थ्यो होला त? 
यी पुराना दल सच्याउनै नसक्नेगरी बिग्रिसकेका छन्। लम्पसार, भ्रष्टाचार र नातावादले यति जकडिएका छन् कि त्यो साँचोभित्र नयाँ माटो हालेर हुँदैन। आयातीत विचारबाट चलेका यी दलबाट हुँदैन, हाम्रो माटोमै उब्जिएको सिद्धान्त ‘नेपालवाद’ ले मात्र देशले काँचुली फेर्छ भनेर माटो होइन, साँचो नै फेर्न पट्टि लाग्यौँ। 

नेपालवाद अर्थात् यहीँको माटोबाट निस्किएको विचारबाट यो सम्भव छ। 

नेपालवादको वैचारिक लाइनको स्रोत नेपाल भन्नुभयो। यसलाई बिस्तारमा बताउनोस न।
तपाईंले हेर्नुभयो भने हाम्रा दलहरुले आफ्नो माटोमा जन्मिएको कुनै वाद र विचारलाई अंगीकार गरेको देखिँदैन। सबै विचार आयातीत छन्। हामी आफ्नै देशमा जन्मिएका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी प्रतिपादन गरेको शान्ति, अहिंसा र सत्यलाई राजनीतिक स्वरुप दिने अब्राहम लिंकन र महात्मा गान्धीको आदर्शलाई आत्मसात गर्छौं तर बुद्ध ज्ञानलाई विकासको मोडलसँग जोड्न सक्दैनौँ। द्वन्द्ववादको सबैभन्दा पहिले व्यवस्थित व्याख्यान दिने बुद्ध शिक्षालाई मार्क्स आफ्नो ‘द्वन्द्ववाद’ मा व्याख्या गर्छन् र यता निर्यात गर्छन् तर हामी चाहिँ आफ्नै माटोमा उत्पादित ज्ञानबारे अनभिज्ञ छौँ।

ज्ञानले संसारभर हलचल ल्याउने बुद्धले प्रतिपादन गरेको पञ्चशीललाई हामीले आफ्नो परराष्ट्र नीतिमा पनि अंगीकार गरेका छौं। हेरियो भने हाम्रो संविधान पनि पञ्चशील अर्थात पाँच स्तम्भमा टिकेको देखिन्छ– पहिलो लोकतन्त्र/गणतन्त्र, दोस्रो संघीयता, तेस्रो समावेशिता, चौथो धर्मनिरपेक्षता र पाँचौँ असलंग्न परराष्ट्र नीति। बुद्धत्वलाई हामीले विकासको मोडलमा किन नढाल्ने?

उत्तरतर्फ नम्बर एक बन्ने दौडमा रहेको विशाल कम्युनिस्ट देश छ। दक्षिणतिर विश्वकै ठूलो लोकतान्त्रिक देश छ। हामीे यी दुई भीमकाय देशबीच सन्तुलन मिलाएर अघि बढ्न पनि बुद्धको असंलग्न र पञ्चशीलको परराष्ट्र नीति बमोजिम चलिरहका हौँ। यही अप्ठेरो भू–राजनीतिक स्थिति बुझेर राजा वीरेन्द्रले बुद्धभूमि नेपाललाई शान्तिक्षेत्रको रुपमा प्रस्ताव गर्नुभएको थियो। लुम्बिनीबाट ‘पिस डिक्लेरेसन’ किन हुन सक्दैन? यी सबै विचार बहसको प्रारम्भिक स्तरमा छन्, निर्वाचनपछि ठोस बनाउनेगरी। हामी राष्ट्रलाई केन्द्रमा राखी ‘स्वाभिमान नेपाल’ मा काम गर्नेगरी वैचारिक आधार तयार पारिरहेका छौँ। अहिले तपाईंलाई सुनाइरहेको प्रस्तावना मैले साथीहरुमाझ राख्दा यसले सकारात्मक बहस सिर्जना गरेको छ।

तपाईंहरुको लिखत पढ्दा र व्यवहार हेर्दा तपाईंहरु संघीयताप्रति अनुदारजस्तो देखिनुहुन्छ। तपाईंहरुले प्रदेश सभामा उम्मेदवार नै उठाउनु भएन र प्रदेश सभाका निम्ति मतदानमा पनि सहभागी हुनुभएन। यो पनि छलफलबाट निस्किएको हो कि झटपट लिइएको निर्णय हो? 
हाम्रो पार्टी अहिलेको संविधानले परिकल्पना गरेको बाटोमा हिँड्ने भएकोले हामी संविधानले देखाएको बाटोमै हो हिँड्ने। हाम्रो स्तम्भ ‘संवैधानिक लोकतन्त्र’ नै हो। तर निर्वाचनअघि संगठन बिस्तारका निम्ति देशभर हिँड्दा जनताहरुले प्रदेश सभा रुचाएको देखिएन। प्रदेश सभाप्रति वितृष्णा थियो। जहाँ पुग्दा पनि भ्रष्टाचारको अखडाजस्तो भइसकेको प्रदेश सभा खारेज गरिनुपर्ने विचार उठ्थे। संघ र स्थानीय तहले राम्रै काम गरिरहेको देखिए पनि प्रदेश सभा पेन्डुलमजस्तो भएको देखिन्छ। 

देशभर त्यस्तो माहौल देखेपछि जनमतमा चल्ने पार्टी भएकोले हामीले प्रदेश सभामा उम्मेदवारी नदिने निर्णय गर्यौँ। त्यसैले मतदान पनि गरेनौँ। यो खालको प्रदेश सभाले काम गर्दैन। प्रदेश सभा राखिए पनि जनताबाट प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गरिनुपर्दछ र मन्त्रालय संख्या निकै घटाउनुपर्छ भनेका छौँ। हामीले संघीयता चाहिँदैन भनेको होइन, व्यवस्थापन गरौँ भनेका हौँ। यसमा हामी प्रष्ट छौँ। 

धर्मबारे तपाईंहरुको बुझाइ के छ?
धर्मबारे पनि जनमानसमा निकै गुनासो देखिन्छ। जनताको लागि राजनीति गर्न आएपछि बहुसंख्यक जनता के चाहन्छन् त्यो बमोजिम चल्नैपर्यो। संविधानमै निश्चित समयपछि संविधान पुनरवलोकन गर्ने भनिएको छ। त्यो बेला जनमतले के भन्छ, त्यही बमोजिम धर्मबारे पनि निक्र्यौल होला।

तपाईंहरु ‘भ्रष्टाचारले देश बिग्रियो त्यसैले निर्वाचन खर्चिलो हुनुहुँदैन’ भन्नुहुन्छ। यसपालिको निर्वाचनमा कति खर्च गर्नुभयो? 
भिजन र मिसनले चलेको हुनाले हामीले केही तडकभडक गरेनौँ। हामीले ‘क्राउड फन्डिङ’ बाट आएको, जनताले दिएको पैसाले चुनाव लड्यौँ। जिन्दगीभर सामाजिक कार्यमा जुटेका मान्छेसँग के पैसा हुन्छ र? जस्तैः म अहिले खटिरहेको स्याङ्जा क्षेत्र नम्बर २ बाट उठेका हाम्रा उम्मेदवार शिक्षक टिकराज गुरुङले कहाँबाट ल्याउने पैसा? आफ्नो जेबखर्च कटाएर एकएक सुका जम्मा गरेर पठाएका शुभेच्छुकहरुको पैसाले चुनाव लड्यौँ। यो क्षेत्र (स्याङ्जा २) मा बढीमा १० लाख खर्च गरियो होला।

बिना तडकभडक जनताले दिएको पैसाबाट पनि चुनाव लड्न सकिँदो रहेछ भन्ने थाहा पायौँ। यसले राम्रो काम गरेको छ। यसले हामीलाई भ्रष्ट हुनबाट रोक्न सहयोग गर्नेछ। जनताका काम गर्न प्रोत्साहित गर्नेछ, मोटो पैसा दिने दलालहरुका काम गर्न बाध्य हुनुपर्नेछैन। 

पार्टी सञ्चालन पनि ‘क्राउड फन्डिङ’ बाटै गर्ने?
हो नि। यदि तपाईं कसैबाट मोटो रकम बुझ्नुहुन्छ भने जितेपछि तिनको स्वार्थपूर्ति गर्नैपर्छ। हामी त्यो चक्रमा फस्न चाहँदैनौं। पहिला त हामी अनावश्यक खर्च गर्नेछैनौँ। हाम्रा जनप्रतिनिधि सादा जीवन उच्च विचारका हुनेछन्। पार्टी कार्यालय आलिशान हुने छैनन्। त्यति गरेपछि जनताले आफ्नो गोजीबाट दिने पैसाले पारदर्शी रुपमा मज्जाले पार्टी चल्छ।

हामी वडा, गाउँ–नगर, जिल्ला, प्रदेश र संघमा एउटा राजनीतिक संयन्त्र बनाई त्यसबाट पार्टी सञ्चालन गर्नेछौँ। पार्टी स्वंयसेवक मोडलले चलाउनेछौँ। कुनै जाति, क्षेत्र, वर्गका भातृसंगठन बनाउने छैनौँ। यसले पनि खर्च घटाउन पक्कै मद्दत गर्नेछ। 

तपाईंहरु ‘डिजिटल डेमोक्रेसी’ को निकै कुरा गर्नुहुन्छ। त्यो अभ्यास पनि गर्नुहुन्छ कि अवधारणा मात्र हो?
हामी लेख्ने मात्र होइन, अभ्यास गरेर देखाउँछौँ। यसपालि हामीले समानुपातिक सूचीका निम्ति त्यो अभ्यास गर्यौँ। पहिला पार्टीबाट सम्भावित नामको सूची तयार पार्यौँ। त्यसलाई एउटा एपमा हाल्यौँ र संसारभरबाट समानुपातिक सूचीमा प्राथमिकताका साथ राख्नुपर्ने मान्छेलाई मतदान गर्न भन्यौँ।  वहाँहरुले दिएको डिजिटल मतदानका आधारमा हामीले उम्मेदवारलाई सूचीकृत गर्यौँ। मतदाताले मलाई दोस्रो नम्बरका निम्ति चयन गर्नुभयो। हामीले यसरी डिजिटल डेमोक्रेसीको प्रारम्भिक अभ्यास गर्यौँ।

परम्परागत दलहरु आफ्नो अस्तित्व हराउँछ भनेर डिजिटल मतदानको सामना गर्न डराउँछन्। हामी विश्वभर छरिएका नेपालीले मतदान गर्न पाउनुपर्छ भन्ने मान्यता राख्छौँ। किनकि हामी डिजिटल डेमोक्रेसीमा विश्वास गर्छौं। यसपालि हामीले अभ्यास गरेझैँ भोलि आफ्ना उम्मेदवार चयन गर्न पनि यो प्रविधि उपयोग गर्न सकिन्छ भन्ने हामीले अभ्यास गरेर देखाइदियौँ। हामी के प्रष्ट हुनुपर्छ भने यदि देश र जनताको सेवाको लागि सरकार बनाउन खोजेको हो भने सबैलाई मतदानमा सहभागी गराउने डिजिटल डेमोक्रेसीसँग डराउने कुरै छैन।

हिजो सबै दल देश र जनताको सेवा गर्नै भनेरै स्थापना भएका हुन्। सुरुमा ती सबै प्रतिबद्ध र इमान्दार थिए। पछि सरकारमा उक्लिएपछि मात्र ती बिग्रिएका हुन्। तपाईंहरु अहिले विभिन्न पेसा र क्षेत्रबाट भेला भई चुनावमा भिड्नुभयो। भोलि तपाईंहरुको टिम छिन्नभिन्न र भ्रष्ट नहोला भन्ने ग्यारेन्टी के छ र? तपाईंहरु पनि यही समाजकै उत्पादन हो नि, होइन? 
त्यसमा हामी सचेत छौँ। हामीलाई राष्ट्र स्वाभिमानी बनाउने भावनाले जोडेको छ। त्यस बमोजिम बन्ने मिसन र भिजनले हाम्रो टिम फुट्ने होइन, झन् जुट्नेछ भन्ने मलाई विश्वास छ।  

मंसिर ९, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.