ad ad

अन्तर्वार्ता


माओवादी विसर्जनको बाटोमा गएपछि सामूहिक राजीनामा गरेका हौं :  हेमराज भण्डारी

गठबन्धनका नाममा प्रचण्डले आफ्नो पहिचान नै भुले
माओवादी विसर्जनको बाटोमा गएपछि सामूहिक राजीनामा गरेका हौं :  हेमराज भण्डारी

माओवादी छाडेका नेता हेमराज भण्डारी


नेपालखबर
असोज १०, २०७९ सोमबार १५:४९, काठमाडौँ

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो बन्दै गइरहेको छ। आ–आफ्नो दलबाट आएका दबाब थेग्न नसकेर नेताहरु चेपुवामा परेका छन्। 

मुख्यगरी सत्तारुढ नेपाली कांग्रेसमा संस्थापन इतर नेताहरुले सिट बाँडफाँटमा भाग माग्दै नेतृत्वलाई दबाब बढाइरहेका छन्। कांग्रेसमा त डा. शेखर कोइराला नेतृत्व समूहले आन्दोलनका कार्यक्रम नै थालेको छ। शेखरसहितले सानेपास्थित केन्द्रीय कार्यालय घेर्ने कार्यक्रम नै सार्वजनिक गरेका छन्। 

कांग्रेसमा विवाद बढिरहेका बेला सत्ता गठबन्धनका अन्य दलमा पनि चुनावी तालमेललाई लिएर विवादहरु छरप्रष्ट हुन थालेका छन्। कांग्रेसपछि माओवादी केन्द्रमा जिल्ला जिल्लाबाट असन्तुष्टिका स्वरहरु बढ्न थालेका छन्। 

यसको पछिल्लो उदाहरण बनेको छ धनकुटा। आइतबार मात्रै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका हेमराज भण्डारीसहितका नेताहरुले धनकुटामा सामूहिक राजीनामा दिएका छन्। 

पार्टी केन्द्रसम्म प्रभाव पार्ने नेता भण्डारीसहितको टोलीले स्वतन्त्र बस्ने घोषणा गर्नुको मुख्य कारण नै सत्ता गठबन्धन हो। राजीनामापछि उनले अबको चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। 

जिल्लामा रहेका पोलिट्व्यूरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषीराम ढुंगानासहितले आइतवार पार्टीबाट सामूहिक राजिनामा दिएका छन्। १४ जना प्रदेश सदस्य  र जिल्ला समन्वय समितिका सबै पदाधिकारी तथा सदस्यहरुले राजीनामा दिएका छन्।

धनकुटामा भण्डारी यो पटक माओवादीबाट टिकट लिएर निर्वाचन लड्ने तयारीमा थिए। तर गठबन्धनबाट धनकुटा माओवादीको भागमा परेन। धनकुटामा नेपाली कांग्रेस र जनता समाजवादीले समेत दाबी गरेका छन्। माओवादीले धनकुटा छाडेपछि त्यहाँ कांग्रेसका सुनिलबहादुर थापा र जनता समाजवादी पार्टीका रकम चेम्जोङ दौडमा छन्। 

एउटा मात्रै संघीय संसद क्षेत्र रहेको धनकुटाबाट कांग्रेस नेता थापा आफ्ना बुवा सूर्यबहादुरको लिगेसी देखाएर टिकटको दौडमा छन्। उता कुनै बेला एमालेमै रहेका जसपाका चेम्जोङ्गले गठबन्धनबाट प्रतिनिधि सभाको टिकटमा बलियो दाबी गरेका छन्। 

त्यसो त, गठबन्धनको भारी बोकेर चुनावमा सहभागी हुन नहुने भण्डारीको अडान छ। नेपालखबरसँगको कुराकानीका क्रममा उनले भने, ‘गठबन्धनको नाममा कसैसँग विलीन भएर जानुभन्दा स्वतन्त्र भएर धनकुटाको विकासको नयाँ योजनासहित समस्याहरु उजागर गरेर जानु सबैभन्दा राम्रो हुन्छ भन्ने हामीले देख्यौँ।’

यही सन्दर्भमा नेपालखबरले भण्डारीसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ। 

तपाईंले अकस्मात माओवादी छाडेको घोषणा गर्नुभयो, किन?
यो अकस्मात होइन। यसका केही श्रृङ्खला चलेका थिए। केही वर्षदेखि नै मैले पार्टीमा यी विषयहरु उठाएको थिएँ। पार्टीमा कयौं विषयहरुमा अध्यक्षसँग मतहरु राखेर छलफल चलाएको थिएँ। खासगरी स्थानीय तह निर्वाचनदेखि गठबन्धनको नाममा पार्टीलाई एजेण्डाविहीन बनाउने अभ्यास भयो।

अहिलेसम्म आउँदा पनि पार्टीमा कुनै प्रकारको एजेण्डा देखिँदैन। पार्टीको नाम, लोगो र चुनाव चिन्हबाहेक पार्टीहरुमा केही पनि फरक छैन भन्ने देखाउन खोजिएको छ। पार्टीको सामर्थ्य होइन, पहिचान कमजोर भयो भन्ने बहस हामीले अघिल्लो केन्द्रीय कमिटी बैठकमा पनि उठाएका थियौं। मुख्य कुरा माओवादीको शक्ति घट्यो भनेर चिन्ता लिन पर्दैन। माओवादीको पहिचान सकियो। माओवादी किन आवश्यक छ यो देशमा भनेर प्रष्ट पार्न सक्नुपर्यो। यो मामलामा हामी चुक्दै गयौँ।

पछिल्लो समय गठबन्धनको सन्दर्भमा मैले अध्यक्षलाई भनेको थिएँ, धनकुटाको विषयमा हाम्रो आफ्नो कथा पनि छ। विगतको निर्वाचनमा सबैका सबै निर्वाचन क्षेत्र एमालेलाई दिइयो। पछिल्लो समय हामीले यो पटक निर्वाचनमा जान्छौँ, हामीलाई पार्टीको हँसिया हथौडा चुनाव चिन्ह दिनुस् भनेका हौं। हामी हाम्रा एजेण्डा र कार्यक्रम बोकेर जनतामा निर्वाध रुपमा जान्छौँ भनेका हौँ। पार्टी अध्यक्षले त्यो प्रस्तावलाई स्वीकार गर्नुभएन। 

अब कसरी अघि बढ्नुहुन्छ?
गठबन्धनको नाममा विलीन भएर जानुभन्दा स्वतन्त्र भएर, धनकुटाको विकासको नयाँ योजना, समस्या उजागर गरेर जानु सबैभन्दा राम्रो हुन्छ भन्ने हामीले देख्यौँ। त्यसपछि अध्यक्षसँग मैले १२/१५ दिनअघि नै छलफल गरेर, हामीले चुनाव चिह्न पनि नपाउने, नयाँ ढंगका एजेण्डा पनि दिन नसक्ने, गठबन्धनको भागवण्डाका पछि लागेर विकास र जनताका सपना बिर्सिने संस्कृतिसँग हाम्रो असहमति छ भनेका हौं।

तपाईंले पार्टीको निर्वाचन चिह्नसमेत दिन सक्नुहुन्न भने हामीे नयाँ ढंगले अघि बढ्छौं भनेका हौँ। त्यसपछि हामी स्वतन्त्र रुपमा जनतामा आफ्ना योजना बोकेर जान्छौँ भनेर आएका हौँ। 

धनकुटामा आएर मैले साथीहरुसँग बहस चलाएँ, उहाँहरुले पनि हामी पनि तपाईंको यो अभियानमा लाग्छौं भन्नुभयो र अहिले सामूहिक राजीनामा गरेका हौं। 

मुख्य असन्तुष्टि भनेको गठबन्धनप्रति हो? 
एकदम हो। गठबन्धनको संस्कृतिले पार्टीभित्रको पहिचान सकियो। पार्टी भनेको विचारको संगठन हो। विचार, संगठन, पार्टी केही पनि नभएपछि कसरी पार्टी हुन्छ र? त्यसो हुँदा त जुन पार्टीमा जहिले हुँदा पनि भयो नि। बरु त्यो भन्दा एउटा अभियान्ता भएर देशमा अघि बढ्दा राम्रो हुन्छ भन्ने मेरो निष्कर्ष हो। 

भनेपछि अबको चुनावमा स्वतन्त्र भएर उम्मेदवार बन्नुहुन्छ? 
हो, अबको निर्वाचनमा म स्वतन्त्र भएर चुनावमा उठ्नेछु। त्यही घोषणा हामीले सार्वजनिक रुपमा गरेका छौँ। 

यसरी चुनावको मुखमा गठबन्धनलाई दोष लगाउँदै पार्टी छाड्दा त नेतृत्वमाथि नै प्रश्न उठ्ने भयो नि? 
हो, गठबन्धनको नाममा यस्तो हुनु हुँदैन। एक त पार्टी शान्ति प्रक्रियामा आएपछि जनताका इच्छा आकांक्षा वास्तै नगर्ने प्रवृत्ति पार्टीमा हावी भयो।

सरकारमा गएर पनि पर्फमेन्स देखाउन नसक्ने, जनताका इच्छालाई सम्बोधन गर्न नसक्ने, पार्टी गतिहीन हुने, एउटै मान्छेलाई ५ पटकसम्म मन्त्री बनाउने, विचारको बहस कहिल्यै नहुने, पार्टीभित्र स्वार्थ समूह हुने, राष्ट्र निर्माणतिर ध्यान नदिने आदि समस्या आए।

यस्तो भद्रगोलको स्थितिमा एकपछि अर्को हुँदै पार्टी विसर्जनको अवस्थामा गयो। अझ, गठबन्धनको नाममा पहिचान पनि कमजोर हुँदै गयो। यसमा विमत्ति राख्दै हामीले सामूहिक राजीनामा दिएका हौं। 

परिवर्तन र अग्रगामी समूह एक भएर मात्र गठबन्धन बनाएका हौँ भनेर प्रचण्डले भन्नुहुन्छ त?
नेतृत्वमा अहिले देखिएको यो संस्कृतिले राम्रो ठाउँमा पुर्याउँदैन। अग्रगगमन वा पश्चगमन भन्ने चाँहि जनताले हाम्रो काम देखेपछि भन्ने हो। हामीले आफैँ अरुलाई भन्ने होइन। तर, गठबन्धनको नाममा बाँडिचुँडी खाऊँ भन्ने प्रवृत्तिले ठीक ठाउँमा पुर्‍याउँदैन।

भिजन लिएर जनताकहाँ जाँदा मात्रै लोकतन्त्र फस्टाउँछ। यो मेरो पार्टीसँगको सैद्धान्तिक बहस हो। गठबन्धनको भारी बोकेर नेता कार्यकर्ता र जनताको मनोविज्ञानमा फरक पार्न हुँदैन् भन्ने हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .