ad ad

अन्तर्वार्ता


चीनतर्फ नाका बन्द हुँदा दसैँमा लत्ताकपडा अभाव हुनसक्छ : व्यवसायी श्रेष्ठ (अन्तर्वार्ता)

चीनतर्फ नाका बन्द हुँदा दसैँमा लत्ताकपडा अभाव हुनसक्छ : व्यवसायी श्रेष्ठ (अन्तर्वार्ता)

दीपक भट्ट
भदौ १४, २०७९ मंगलबार ७:२२, काठमाडौँ

साउन २५ गतेदेखि नेपाल–चीन मुख्य नाका रसुवागढी र तातोपानी बन्द छ। पछिल्लोचोटि चीनले नेपाललाई थाहै नदिई नाका बन्द गरेको हो। नाका के कारणले कहिलेसम्म बन्द भएको हो भन्ने नेपाली पक्षले आधिकारिक जानकारी नपाएको बताएको छ। तर तिब्बतमा कोरोना भाइरस फैलिएकोले चीनले नाकाबन्द गरेको आकलन छ।

त्यसो त २५ गतेअगाडि पनि पूर्ण रुपमा नाका खुलेको थिएन। आंशिक रुपमा मात्रै वस्तु आयात भइरहेको थियो। व्यापारीहरुले पालो पर्खेर वस्तु आयात गर्ने गरेका थिए। अहिले पूर्णरुपमा रोकिँदा नजिकिएका सबै चाडपर्वलाई असर गर्ने निश्चितप्रायः छ। सोही विषयमा आधारित भई नेपाल–चीन व्यापार गर्ने  व्यवसायी तथा नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठसँग नेपालखबरले गरेको कुराकानी:

चीनतर्फका नाका फेरि ठप्प छन्, के–कस्ता वस्तु रोकिएका छन्? 
अहिले नाकामा लसुन, ओखर, स्याउहरु, लत्ताकपडा, जुत्ता र इलेक्ट्रिक सामान लगायत बाटोमै रोकिएका छन्। यी वस्तुहरु लोड भइसकेर रोकिएका छन्। चिन्ता लाग्दो कुराचाहिँ यिनमा बिग्रिने कुहिने खालका पनि छन्। यसरी लोड भएका सामान रोकिँदा व्यवसायीलाई मार परेको छ।  

चाडपर्वका बेला चीनबाट कस्ता वस्तु नेपाल आउँछन्? 
चीनबाट दैनिक उपभोग्य वस्तु नै धेरै आउँछन्। अरु बेला पनि स्थलमार्गबाट आउने भनेको दैनिक उपभोग्य वस्तु नै हुन्। तर दसैँ तिहारका बखत भने केही फलफूल स्याउ र ओखर बढी आउँछ। यसबाहेक तयारी पोशाक उत्तिकै मात्रामा आउँछन्। नेपालमा बढी माग हुने चिनियाँ लत्ताकपडा तन्ना, पर्दाहरु, इलेक्ट्रिक सामान पनि आउने गर्छ। यी सामानहरुको बढी माग दसैँ तिहारमा हुन्छ। यसबाहेक नेपालमा उत्पादन हुने जुत्ताको कच्चा पदार्थ पनि यही समयमा धेरै आयात हुने गरेको छ। 

तपाईं लामो समयदेखि उत्तरी नाकाबाट हुने व्यापारमा सक्रिय हुनुहुन्छ, अहिले आयात बन्द हुँदा कस्तो असर गर्ला? 
अहिले २ सय हाराहारीमा लोड भएका गाडी रोकिएका छन्। यहाँ व्यापार गर्नेहरुले चीनबाट वस्तु ल्याउने हो। उहाँहरुले आफूले बेच्न सक्ने वस्तुहरु ल्याउँछन्। सोहीअनुसारको आयात गर्छन्। समयमा नआउँदा बिक्रीवितरणको काम पनि रोकिन्छ। यसले बजारमा वस्तु अभाव हुनसक्छ। 

अहिलेको नाकाबन्दीले धेरै माग हुने कपडाको अभाव हुनसक्छ। अझ भन्ने हो भने त्रिपक्षीय असर पर्छ। धेरै वस्तु खपत हुने चाडबाडको समयमा आयात नहुँदा सरकारको राजस्व पनि घट्छ। अर्कोचाहिँ, व्यापारीले बेच्न नपाउँदा घाटा हुने नै भयो। तेस्रो असर उपभोक्तालाई पर्छ। त्यो भनेको महंगी बढ्छ, चाहेअनुसारको वस्तु नै नपाउन सक्छ। 

त्यसकारण चीनको नाकाबन्दीले त्रिपक्षीय असर परिरहेको छ। चीनले कोरोनाको कारण यसो गरेको हुनसक्छ। हामी अहिले रोकिएको सामान मात्रै भए पनि खुलाउने पहल गरिदिन सरकारसँग माग गरिरहेका छौँ। 

सरकारलाई यसबारे केही भन्नुभएको छैन?  
हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग वस्तु आयात खुलाउने पहल गरिदिन भनेका छौँ। यदि त्यति पनि हुँदैन भने रोकिएको सामान भए पनि आयात गर्न पाउने माग राखेका छौँ। त्यस विषयमा मन्त्रीलाई भेटेरै भन्ने तयारी गरिरहेका छौँ। वस्तु लोड भएर रोकिँदा व्यापारीहरुको लागत दिनदिनै बढिरहेको छ।  

एलसी खोलिसकेका वस्तु समुद्री बन्दरगाह कलकत्ताबाट आयात गर्न सकिँदैन? 
त्यहाँबाट पनि आयात गर्न त मिल्छ नै! यो नाकामै पहल गर्नुको कारण आयातमा पर्ने लागत र जोडिने समय हो। यताबाट जति छिटो आइपुग्छ, त्यही हिसाबमा समुद्री पोर्टबाट आउँदैन।

जल र स्थलमार्गबीच कस्तो खालको अन्तर छ र समय अनि लागतमा?
धेरै अन्तर छ नि! नेपाली व्यापारी भनेका वस्तु आयात गर्ने बेच्ने, पुनः आयात गर्नेखालका हुन्। सामान्य अवस्थामा स्थलमार्गबाट ल्याउँदा १ महिनामा वस्तु आइपुग्थ्यो। प्रक्रिया थालेको एक महिनामा वस्तु आयात हुने हुँदा त्यही मानसिकता बनाएर सामान बिक्री र आयातको काम हुन्थ्यो। समुद्री बन्दरगाहबाट ल्याउँदा समय नै करिब १५/२० दिन बढी लाग्छ।

त्यो त छँदै छ, लागतमा पनि फरक पर्छ। अर्कोचाहिँ आयात प्रक्रियाको कुरा पनि जोडिन्छ। साना व्यवसायीहरुले यताबाट ल्याउँदा ट्रक भरिएपछि ल्याउन सक्छन्। जहाज भरिनुपर्यो। धेरै जम्मा भएरमात्रै आउँछ। धेरै व्यापारीहरुको सामान थुप्रिएपछि अनि मात्रै आयात हुन्छ। त्यसकारण धेरै कुराहरु यसमा जोडिएका छन्। 

ढुवानी भाडामा कति फरक पर्छ?
ढुवानी भाडा त धेरै फरक पर्दैन, उस्तै हो। तर समय र आयातको प्रक्रियाले व्यापारीलाई असर गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .