ad ad

अन्तर्वार्ता


लुम्बिनीमा मोदीजीले बुद्ध नेपालमा जन्मेको तथ्यलाई दोहोर्‍याउनुहुनेछ : रन्जीत रे (अन्तरवार्ता)

‘भारतले भन्दै आएको छ, बुद्ध जन्मिनुभएको नेपालमा हो’
लुम्बिनीमा मोदीजीले बुद्ध नेपालमा जन्मेको तथ्यलाई दोहोर्‍याउनुहुनेछ : रन्जीत रे (अन्तरवार्ता)

फाइल तस्बिर


सन्तोष घिमिरे
बैशाख २८, २०७९ बुधबार ११:१४, काठमाडौँ

नेपालका लागि पूर्वभारतीय राजदूत हुन् रन्जीत रे। उनले सन् २०१३ देखि २०१७ सम्म नेपालमा भारतीय राजदूतका रुपमा काम गरे। उनी अहिले भारतीय विदेश सेवाबाट निवृत्त भइसकेका छन्। तर, उनी निरन्तर नेपाल-भारत मामिलामा कलम चलाइरहन्छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकदिने भ्रमणमा जेठ २ गते लुम्बिनी आउँदैछन्। नेपालमा स्थानीय चुनावको मतगणना चलिरहेका बेला मोदी लुम्बिनीको धार्मिक तथा सांस्कृतिक भ्रमण सकेर काठमाडौं नआई उतैबाट भारत फर्कनेछन् ।

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नेपालका लागि पूर्वभारतीय राजदूत रन्जीत रेसँग उनको भ्रमण तथा लुम्बिनीमा भारतीय चासोबारे नेपालखबरले गरेको संक्षिप्त टेलिफोन कुराकानी :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणलाई कसरी लिनुभएको छ?
मोदीजी धेरैअघि लुम्बिनी भ्रमण गर्न चाहनुहुन्थ्यो। उहाँको सपना अब पूरा हुँदैछ। भारतका कुनै पनि प्रधानमन्त्रीले लुम्बिनी भ्रमण गरेजस्तो लाग्दैन। त्यसैले मोदीजी नै लुम्बिनी पुग्ने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुनेछ। यो निकै खुशीको कुरा हो।

लुम्बिनीले नेपाल र भारतलाई एकआपसमा बहुतै मजबुत हिसाबले जोडेको छ। किनकि, गौतम बुद्ध नेपालमा जन्मनुभयो भने भारतमा ज्ञान प्राप्त गर्नुभयो। उहाँले विश्वभर शान्तिको सन्देश फैलाउनुभयो।

नेपाल र भारतमा धेरै साझा सांस्कृतिक सम्पदा छन्, त्यसमा लुम्बिनी पनि एक हो, जुन हाम्रो सांस्कृतिक तथा जनस्तरको सम्बन्ध मजबुत पार्ने महत्वपूर्ण सेतु हुन्।

बुद्ध जयन्तीका अवसरमा उहाँ लुम्बिनी जान लागेको मैले मिडियामार्फत् सुनेको छु। भ्रमणका विस्तृत कार्यक्रम के छन्, त्यसबारे मलाई थाहा भएन। दुई देशबीचको धार्मिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध अझ सुदृढ गर्न मोदीजीको भ्रमणले विशेष योगदान पुर्याउनेछ भन्ने लाग्छ।

मोदीको लुम्बिनी भ्रमणमा भारतका चासो के हुनसक्छन्?
एउटा कुरा के भने बुद्धको जन्मस्थानबारे भारतले यसो भन्यो उसो भन्यो भनेर नेपालमा सधैं दुष्प्रचार गर्ने गरिएको छ। भारतले भन्दै आएको छ कि बुद्ध जन्मिनुभएको नेपालमा हो र उहाँले महाज्ञान पाएको भारतमा हो।

मोदीजीले आफैं लुम्बिनी भ्रमण गरेर बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरालाई पुनः प्रतिवद्धता ब्यक्त गर्नुहुनेछ। उहाँले बुद्ध नेपालमा जन्मेको भन्ने तथ्यलाई दोहोर्याउनुहुनेछ। मोदीजीको भ्रमणपछि नेपाली जनमानसमा लुम्बिनी भारतले खोस्यो भन्ने भ्रमण निवारण होला कि! अर्को कुरा, लुम्बिनीको विकासमा भारतले सहयोग गर्दै आएको छ। अबका दिनमा पनि गर्नेछ।

बुद्धिस्ट सर्किटबारे नेपाल र भारतबीच धेरैपटक छलफल भए। मोदीको भ्रमणमा त्यसबारे केही ठोस सहमति केही होला?
बुद्धिस्ट सर्किट निर्माणबारे नेपाल र भारतबीच विगतमा थुप्रै छलफल भएका छन्। रामायण सर्किट जस्तै बुद्धिस्ट सर्किटलाई पनि अघि बढाउने बिषयमा मोदीजी र देउवाजीबीच कुराकानी हुन्छ भन्ने लाग्छ।

नेपाल र भारतमा असंख्य बौद्धमार्गी छन्। उनीहरुलाई लुम्बिनी र बृद्ध सर्किटको भ्रमण गराउन सकिए त्यसबाट दुवै देशले आर्थिक लाभ पनि लिन सक्नेछन्। त्यसैले लुम्बिनीको साझा विकासका लागि के गर्न सकिन्छ, भारतले त्यसबारे नेपालसँग छलफल गर्नेछ।

विश्वका विभिन्न मुलुकका बौद्धमार्गीका लागि लुम्बिनी अत्यन्त पवित्रस्थल हो। लुम्बिनीलाई भारतको बोधगया, सारनाथ र कुसीनगरसँग जोड्ने गरी बौद्ध सर्किट निर्माण गर्न सकिए त्यसबाट लाखौं बुद्ध धर्मावलम्बी र पर्यटक भित्र्याउन सकिनेछ।

लुम्बिनीको विकासमा जापान र चीन लगायत बौद्धमार्गी भएका अन्य मुलुकको पनि चासो छ। यस सन्दर्भमा भारतले लुम्बिनीको विकासमा चासो दिनुमा भूराजनीतिक स्वार्थ पनि गाँसिएको हो कि?
लुम्बिनीमा भारतको सांस्कृतिक र धार्मिक चासो छ। लुम्बिनीसँग जोडिएका खास भूराजनीतिक स्वार्थ छैनन्। तर एउटा कुरा के भने, लुम्बिनीमा विशेष गरी चीनको सक्रियता केही वर्षयता बढेको छ। चीनले बुद्ध धर्मको प्रवद्र्धनका लागि लुम्बिनीलाई प्रयोग गर्न खोजेको देखिन्छ। किनकि चीनले दक्षिण पूर्वी एसियाका बुद्धिस्ट मुलुकहरु र आफूलाई लुम्बिनीसँग जोडेर आफ्नो धार्मिक र ब्यापारिक स्वार्थ पूरा हुने देखेको छ। त्यसैले उसले लुम्बिनीमा आफ्नो चासो बढाएको छ।

अन्य देशको चासो र स्वार्थ जे भए पनि नेपाल र भारतले मोदीजीको अबको भ्रमणमार्फत लुम्बिनीको साझा विकासका लागि अघि बढ्नुपर्छ। यसले दुवै देशका लागि फाइदा हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .