भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशीको हत्यामा संलग्न आरोपमा पक्राउ परेका उनकै पत्नी सोनमसहित पाँच जनालाई मेघालयको शिलोङ अदालतले ८ दिनका लागि प्रहरीको हिरासतमा पठाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार मेघालय प्रहरीले सोनम रघुवंशी र अन्य चार अभियुक्तलाई मेडिकल जाँचपछि शिलोङ अदालतमा पेस गरेको थियो।
त्यस क्रममा प्रहरीले आरोपितहरूलाई १० दिन हिरासतमा राख्न समय मागे पनि अदालतले ८ दिनका लागि मात्र अनुमति दिएको हो।
मेघालय प्रहरीले सोनमसहित पाँचै आरोपितलाई उत्तर प्रदेशको गाजीपुरबाट मंगलबार राति शिलोङ ल्याएको थियो।

अदालतको अनुमतिपछि सोनम, उनका प्रेमी राज कुशवाहा, आकाश राजपुत, विशाल चौहान र आनन्द कुर्मीलाई ८ दिनका लागि प्रहरीको हिरासतमा पठाइएको हो।
राजा र सोनमबीच मे ११ मा विवाह भएको थियो। यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा शिलोङ पुगेका थिए। अन्तिमपटक परिवारसँग मे २३ मा कुरा गरेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए।

यसपछि खोजी गर्दा राजा जुन २ मा मृत भेटिए भने सोनम भेटिएकी थिइनन्। अन्तत: उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि हत्या प्रकरण खुलासा भयो।
अहिले यो घटनाले भारतभर सनसनी मच्चाएको छ भने सबैजसो भारतीय सञ्चारमाध्यमले यसलाई प्राथमिकताका साथ समाचार बनाइरहेका छन्।
Shares

प्रतिक्रिया