भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी हनिमुनका क्रममा ‘श्रीमतीकै षड्यन्त्रमा मारिएको’ घटना यतिबेला भारतमा व्यापक चर्चाको विषय बनिरहेको छ।
सबैजसो भारतीय सञ्चारमाध्यमले यो विषयलाई प्राथमिकताका साथ समाचार बनाइरहेका छन्। यस क्रममा उनीहरूले घटनाका विविध पक्ष खोतल्ने प्रयास गरिरहेका छन्।
यसैबीच नवभारत टाइम्सले प्रहरीलाई उधृत गर्दै सोनम रघुवंशीले विवाह गरे पनि आफ्ना पति राजा रघुवंशीलाई आफ्नो शरीर छुन पनि दिएकी थिइनन् भनेर खबर लेखेको छ। उनले कामाख्या देवीको दर्शन गरेपछि मात्र श्रीमान् नजिक आउने बताएकी थिइन्।
सोनमले आफ्ना प्रेमी राज कुशवाहासँग मिलेर राजालाई मेघालय लैजाने र मार्ने योजना बनाएकी थिइन्।
यस काममा उनले आफ्ना प्रेमीका साथीहरूको सहयोग पनि लिइन्। घटनामा संलग्न सबै अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ।
विवाहपछि सोनमको सर्त
सोनम र राजाबीच मे ११ मा विवाह भएको थियो। प्रहरी स्रोतका अनुसार विवाहपछि सोनमले राजालाई स्पष्ट रूपमा भनेकी थिइन्- कामाख्या देवीको दर्शन नगरेसम्म हामी सम्बन्ध नबनाऊँ।
त्यसपछि सोनमले राजालाई छुन पनि दिइनन्। राजाले आफ्नी श्रीमतीका हरेक शब्दलाई सम्मान गर्ने भएकाले यसमा सहमत भए।
मामाघरमा बनाइन् योजना
सोनमले राजाको हत्याको सम्पूर्ण योजना आफ्नो मामाघरमा बस्दा बनाइन्। उनी १५ मे मा आफ्नो मामाघर गइन्। त्यहीँ बसेर उनले गुवाहाटीको टिकट बुक गरिन्। प्रहरी स्रोतका अनुसार सोनम आफ्ना प्रेमी राज कुशवाहासँग फोनमा निरन्तर सम्पर्कमा थिइन्। सोनम र राजले मिलेर राजालाई मेघालय लगेर मार्ने योजना बनाए।
क्राइम ब्रान्चलाई प्राप्त इनपुट
क्राइम ब्रान्चलाई केही इनपुट प्राप्त भएका छन्। उसका अनुसार सोनमले राज कुशवाहालाई उनका साथीहरू विशाल, आनन्द र आकाशले राजालाई मार्न सकेनन् भने उनी आफैँ फोटो खिच्ने बहानामा राजालाई खाल्डोमा धकेल्ने बताएकी थिइन्। यति मात्र होइन, षड्यन्त्रको पर्दाफास भयो भने उनीहरूले नेपाल भाग्ने योजना पनि बनाएका थिए। सोनमले राजालाई कामाख्या मन्दिर लगेपछि मेघालय जान आग्रह गरिन्। राजालाई पहाड मन पर्दैनथ्यो, तर उनी आफ्नी श्रीमतीको जिद्दीका कारण तयार भए। गन्तव्य तय मात्र होइन, यात्रा योजनादेखि आवाससम्मका सबै व्यवस्था सोनम आफैँले गरिन्।
विवाहको एक हप्ताभित्र बनाइयो हत्या योजना
इन्दौर अपराध शाखा स्रोतका अनुसार, सोनमले विवाहको एक हप्ताभित्र राजालाई मार्ने सम्पूर्ण योजना तयार पारेकी थिइन्। इन्दौर प्रहरीले सोनमले पहिले नै कुनै पनि मूल्यमा राजालाई मार्ने निर्णय गरिसकेकी थिइन् भनेर दाबी गरेको छ।
मे २३ मा शिलोङ पुगे राजा र सोनम
मे २३ मा राजा र सोनम मेघालयको नोङ्ग्रीहाट गाउँनजिकै शिलोङ पुगे। सोनमको आग्रहमा राजालाई सुनसान सडकमा लगियो। अनि त्यहाँ रहेका तीन जना विशाल चौहान, आकाश राजपुत र आनन्द कुर्मीले उनलाई आक्रमण गरे। पोस्टमार्टम रिपोर्टअनुसार राजाको टाउकामा दुई ठाउँमा धारिलो हतियारका चोट छन्। एउटा अगाडि र अर्को पछाडि।
हत्यापछि बेपत्ता भइन् सोनम
हत्यापछि सोनम बेपत्ता भइन्। प्रहरीका अनुसार उनी मे २५ देखि २७ सम्म इन्दौरको देवास नाका क्षेत्रमा भाडाको फ्ल्याटमा लुकेर बसिन्।मंगलबार प्रहरीले एक अभियुक्त विशालको घरबाट रगतले लतपतिएको लुगा बरामद भएको पनि बताएको छ, जुन अब फोरेन्सिक जाँचका लागि पठाइनेछ।
इन्दौरबाट पक्राउ परे आरोपित
इन्दौरबाट पक्राउ परेका चार अभियुक्त राज कुशवाहा, विशाल चौहान, आकाश राजपुत र आनन्द कुर्मीलाई मेघालय प्रहरीले ट्रान्जिट रिमान्डमा शिलोङ लगेको छ। उनीहरूलाई विमानस्थल लैजाँदै गर्दा एक यात्रुले एक अभियुक्तलाई थप्पड हानेका थिए। यो सम्पूर्ण घटना क्यामेरामा कैद भएको थियो र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सोनमकै बुबाको कम्पनीमा काम गर्थे राज कुशवाहा
राज कुशवाहा सोनमको बुबाको फर्निचर उद्याेगमा अकाउन्टेन्ट थिए। प्रहरीका अनुसार उनी सोनमलाई माया गर्थे र उनको आदेशमा हत्याको षड्यन्त्रमा सामेल भएका थिए। यद्यपि राजका आमा र बहिनीले राज र सोनमबीच मालिक-नोकरको सम्बन्ध मात्र रहेको दाबी गरेका छन्। भाइरल भिडिओमा राजाको अन्त्येष्टिमा सोनमका बुबालाई अँगालो हाल्दै राज रोइरहेको पनि देखिन्छ।
"हाम्रो छोरा किन मार्यौ?"
राजाकी आमा उमा रघुवंशी भन्छिन्- सोनम अरू कसैसँग प्रेममा थिइन् भने उनले किन मेरो छोरासँग विवाह गरिन्? हाम्रो छोरालाई किन मार्यौ?
यसैबीच राजाका बुबा अशोक रघुवंशीले यस हत्याका दोषीहरूलाई मृत्युदण्डको माग गरेका छन्।
Shares

प्रतिक्रिया