ग्लोबल


अमेरिकाका रक्षामन्त्रीको दाबी: ‘इरानले युद्धविरामको भिख माग्यो’

अमेरिकाका रक्षामन्त्रीको दाबी: ‘इरानले युद्धविरामको भिख माग्यो’

अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथ


नेपालखबर
चैत २५, २०८२ बुधबार १९:४६, काठमाडौँ

अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले इरानले ‘युद्धविरामको भिख मागेको’ दाबी गरेका छन्। 

मंगलबार राति अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम सम्झौता भएपछि अमेरिकी रक्षामन्त्रीले यसका लागि इरानले बिन्ती गरेको दाबी गरेका हुन्। 

बीबीसीका अनुसार पेन्टागनमा मिडियालाई सम्बोधन गर्दै उनले भने, ‘इरानले यो युद्धविरामका लागि भिख माग्यो र हामी सबै यो कुरा जान्दछौँ।’

उनले आफ्ना राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सहमति गरेर इतिहास रचेको भनी तारिफ गरे। 

‘इरान ४७ वर्षदेखि अमेरिकाका लागि खतरा थियो, तर अब त्यस्तो छैन‘, अमेरिकाका रक्षामन्त्री हेग्सेथले भने, ‘राष्ट्रपति ट्रम्पले यो सम्भव बनाए।’

यस क्रममा उनले अमेरिकी सेनाले इरानको सैन्य शक्ति ध्वस्त पारेको दाबी पनि गरे। 

उता इरानले भने आफ्ना सबै सर्त मानेर अमेरिका युद्धविराम गर्न राजी भएकाले आफ्नो जित भएको दाबी गरेको छ। 

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले आफ्नो दशबुँदे प्रस्ताव स्वीकार गरेको दाबी गरेको छ।

के-के छन् इरानका दश बुँदामा?

१. आक्रमण पूर्ण रूपमा अन्त्य

-अमेरिका र इजरायललाई सबै सैन्य आक्रमण बन्द गरिनुपर्ने माग गरिएको छ।

२. सबै प्रतिबन्ध हटाउने

-सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने माग गरिएको छ।

३. स्थिर सम्पत्ति फिर्ता गर्ने

-आफ्ना सबै फ्रिज फन्ड तथा सम्पत्ति फिर्ता गरिनुपर्ने 

४. युद्धको स्थायी अन्त्य

-युद्धविराम मात्र होइन, युद्धको पूर्ण अन्त्य गरिनुपर्ने माग

५. अमेरिकी सेना फिर्ता गर्ने

-इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने 

६. क्षतिपूर्ति

-युद्धका क्रममा भएका क्षतिबापत आर्थिक मुआब्जा वा पुनर्निर्माणको व्यवस्था 

७. होर्मुज स्ट्रेटमा नियन्त्रण

-होर्मुज स्ट्रेटमा इरानको नियन्त्रण हुनुपर्ने 

८. सुरक्षित आवतजावत तर सर्तसहित

-होर्मुज स्ट्रेटबाट जहाजहरूलाई आवतजावतका लागि अनुमति दिइने तर इरानी सेनासँग समन्वय गरेर।

९. जहाजलाई शुल्क 

-इरानले होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने प्रतिजहाज लगभग २० लाख डलर शुल्क लिने प्रस्ताव गरेको छ। जुन ओमानसँग सेयर गरिनेछ।

१०. क्षेत्रीय द्वन्द्वको पनि अन्त्य

-लेबननमा हेजबुल्लाहविरुद्ध आक्रमणसहित क्षेत्रीय आक्रमण पनि अन्त्य गरिनुपर्ने

मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले अमेरिका र इरानबिच युद्धविराम सम्झौता भएको उल्लेख गर्दै स्थायी शान्ति स्थापनाका लागि आगामी शुक्रबार (अप्रिल १० मा) दुई देशका प्रतिनिधिले इस्लामाबादमा थप वार्ता गर्ने बताएका छन्। 

यसैबिच अमेरिका र इरानबिच भएको युद्धविराम सम्झौतामा लेबननमा पनि आक्रमण रोक्ने कुरा छ कि छैन भन्ने विषयमा द्वन्द्व देखिएको छ।

इरान र द्वन्द्वरत दुई देशबिच मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ दुवैले यो सम्झौता लेबननमा पनि लागु हुने बताएका छन्।

तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘यो युद्धविराम लेबननमा लागु नहुने’ उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad