पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले युद्धविराम गर्न सहमत भएकामा अमेरिका र इरानलाई धन्यवाद दिएका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गरिएको बताएका छन्।
उनले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्ने सर्तमा दुई हप्ताका लागि म बम विस्फोट र आक्रमण स्थगन गर्न सहमत भएको छु।’
ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको अनुरोधमा युद्धविराम गर्ने निर्णय गरिएको हो।
यसअघि ट्रम्पले मंगलबार राति सम्झौता गर्न नमानेको भन्दै इरानलाई एकै रातमा ध्वस्त पारिने चेतावनी दिएका थिए। ट्रम्पले इरानलाई दिएको समय सीमा अमेरिकी समयअनुसार मंगलबार राति ८ बजे सकिँदै थियो।
तर त्यसको १० मिनेटअघि पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले एक्समा लेखे, ‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ- इरान र अमेरिका आफ्ना सहयोगीहरूसँगै लेबननसहित सबै ठाउँमा तुरुन्तै युद्धविराम गर्न सहमत भएका छन्।’
सरिफले अन्तिम सम्झौताबारे छलफल गर्न इरानी र अमेरिकी प्रतिनिधिहरू अप्रिल १० मा इस्लामाबाद आउने जानकारी पनि दिएका छन्।
उनले लेखेका छन्, ‘म यो समझदार कदमलाई हार्दिक स्वागत गर्दछु र दुवै देशको नेतृत्वलाई हार्दिक धन्यवाद दिन्छु। म १० अप्रिल २०२६ शुक्रबार इस्लामाबादमा उनीहरूका प्रतिनिधिहरूलाई आमन्त्रण पनि गर्दछु ताकि सबै विवाद अन्त्य गर्दै अन्तिम सम्झौताका लागि थप वार्ता गर्न सकियोस्।’
उनले इस्लामाबादमा हुने वार्ताबाट दिगो शान्ति प्राप्त हुने विश्वास पनि व्यक्त गरेका छन्।
Shares

प्रतिक्रिया