ग्लोबल


इजरायलले भन्यो: इरानसँग युद्धविराम स्वीकार छ, तर यो लेबननमा लागु हुँदैन

इजरायलले भन्यो: इरानसँग युद्धविराम स्वीकार छ, तर यो लेबननमा लागु हुँदैन

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु


नेपालखबर
चैत २५, २०८२ बुधबार ९:४१, काठमाडौँ

अमेरिका र इरानबिच २ हप्ताका लागि गरिएको युद्धविराम सम्झौतालाई इजरायलले पनि स्वीकार गरेको छ। तर उसले लेबननमा यो सम्झौता लागु नहुने बताएको छ।

आफ्नो आधिकारिक विज्ञप्तिमा इजरायलले भनेको छ, ‘हामी इरानमा आक्रमण दुई हप्ताका लागि रोक्ने राष्ट्रपति ट्रम्पको निर्णयलाई समर्थन गर्छौं- यदि इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्छ र अमेरिका, इजरायल र अन्य देशहरूमा आक्रमण बन्द गर्छ भने।’

इजरायलले अगाडि भनेको छ, ‘इरानले अब आणविक हतियार, क्षेप्यास्त्र वा आतंक नमच्चाउने सुनिश्चितताका लागि अमेरिकाको प्रयासलाई इजरायल समर्थन गर्दछ।’  

अमेरिकाले आफूलाई यी लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको जानकारी दिएको इजरायलले उल्लेख गरेको छ।

विज्ञप्तिमा अगाडि भनेको छ, ‘अमेरिकाले आगामी वार्तामा हामी र हाम्रा क्षेत्रीय सहयोगीहरूसँग यी लक्ष्य साझा गर्नेछ।’

युद्धविरामका लागि मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले स्थायी शान्तिका लागि अब आउने शुक्रबार (अप्रिल १० मा) इरान र अमेरिका प्रतिनिधि इस्लामाबाद आउने जानकारी दिएका छन्।  

सरिफले एक्समा लेखेका छन्, ‘म यो समझदार कदमलाई हार्दिक स्वागत गर्दछु र दुवै देशको नेतृत्वलाई हार्दिक धन्यवाद दिन्छु। म १० अप्रिल २०२६ शुक्रबार इस्लामाबादमा उनीहरूका प्रतिनिधिहरूलाई आमन्त्रण पनि गर्दछु ताकि सबै विवाद अन्त्य गर्दै अन्तिम सम्झौताका लागि थप वार्ता गर्न सकियोस्।’

उनले इस्लामाबादमा हुने वार्ताबाट दिगो शान्ति प्राप्त हुने विश्वास पनि व्यक्त गरेका छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पाकिस्तानको मध्यस्थतामा इरानसँग दुई हप्ताका लागि युद्धविराम गरिएको बताएका छन्।

उनले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्ने सर्तमा दुई हप्ताका लागि म बम विस्फोट र आक्रमण स्थगन गर्न सहमत भएको छु।’

ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको अनुरोधमा युद्धविराम गर्ने निर्णय गरिएको हो।

अमेरिका र इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता युद्ध जारी थियो। 

यसको बदला लिइने भन्दै लेबननबाट हेजबुल्लाहले पनि इजरायलमा हमला गरेको थियो। जसका कारण उनीहरूबिच पनि युद्ध जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad