ग्लोबल


अमेरिकासँग युद्धविराम सम्झौता हुने सम्भावनालाई इरानले गर्‍यो खारेज

अमेरिकासँग युद्धविराम सम्झौता हुने सम्भावनालाई इरानले गर्‍यो खारेज

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाई


नेपालखबर
चैत २३, २०८२ सोमबार १७:५९, काठमाडौँ

अमेरिकासँग युद्धविराम सम्झौता हुने सम्भावनालाई इरानले खारेज गरेको छ। 

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने, 'युद्धविराम भनेको विरोधीहरूलाई नयाँ अपराधका लागि शक्ति सञ्चय गर्ने मौका दिनु हो र कुनै पनि समझदार व्यक्तिले त्यसो गर्दैन।'

बीबीसी फारसी सेवाका अनुसार बघाईले आफ्नो साप्ताहिक पत्रकार सम्मेलनका क्रममा उक्त अभिव्यक्ति दिएका हुन्। 

उनले युद्धविराम वा युद्ध अन्त्यका लागि पहिले इरानका माग पूरा हुनुपर्ने बताएका छन्। 

अमेरिकासँग जारी वार्ताबारे उनले भने, ‘मध्यस्थकर्ताहरूले विचार आदानप्रदान गर्नु असामान्य होइन। यी मुद्दा सुरुदेखि नै मध्यस्थकर्ताहरूमार्फत उठाइएका थिए र सन्देश आदानप्रदान स्वाभाविक हो।’

उनले अगाडि भनेका छन्, ‘अल्टिमेटम र युद्ध अपराधको धम्कीका साथ वार्ता सम्भव छैन। जब हाम्रो शत्रुले आक्रमण बढाइरहेको छ भने सबै गुप्तचर जानकारी र ध्यान देशको रक्षामा केन्द्रित गरिनुपर्छ।’

यस क्रममा इस्माइल बघाईले यसअघि अमेरिकाले गरेको १५-बुँदे प्रस्ताव गरिएको पनि स्मरण गराए। 

उनले भने, ‘हामीले भनेका थियौँ- त्यस्ता प्रस्ताव अत्यन्तै महत्वाकांक्षी, अव्यावहारिक र अतार्किक छन्, जुन कुनै पनि हिसाबले स्वीकार्य छैनन्।’

त्यसो त आजै मात्र अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को गुप्तचर संगठनका प्रमुख माजिद खादेमी मारिएका छन्।

आक्रमण सुरुवातकै दिन फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारी मारेको अमेरिका-इजरायलले यसबिच सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी, आईआरजीसीका प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी, नौसेना कमान्डर अलिरेजा ताङसिरी र नौसेना गुप्तचर निर्देशनालयका प्रमुख बहनाम रेजाईको पनि हत्या गरिसकेको छ। 

बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा आक्रमण गरिरहेको छ। जसले गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ। जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या ५ हजार नाघिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad