ग्लोबल


मुलुक माओवादीमुक्त भएको भारतको घोषणा

मुलुक माओवादीमुक्त भएको भारतको घोषणा

सोमबार भारतको संसद्‌मा जवाफ दिँदै गृहमन्त्री अमित शाह।


नेपालखबर
चैत १७, २०८२ मंगलबार ५:६, काठमाडौँ

भारतले आफ्नो देश माओवादी द्वन्द्वमुक्त भएको घोषणा गरेको छ।

गृहमन्त्री अमित शाहले सोमबार संसद्‌मा नक्सलवादी भनेर चिनिने माओवादी विद्रोहीबाट भारत 'स्वतन्त्र' बनेको घोषणा गरेका हुन्।

'म खुल्लमखुला भन्न सक्छु कि हामी नक्सलवादीमुक्त भएका छौँ, यो भन्न कुनै हिचकिचाहट छैन', उनले भने, 'सम्पूर्ण अभियान सकिएपछि म देशलाई सार्वजनिक रूपमा पनि जानकारी दिनेछु।'

भारतले दुई वर्षमा नक्सलवादी विद्रोहको अन्तिम अवशेषविरुद्ध आफ्नो अभियान तीव्र बनाएको बताइरहेको यो।

यो आन्दोलनको नाम पश्चिम बंगालको हिमालयको फेदीमा रहेको नक्सलबारी गाउँको नामबाट राखिएको हो।

यसको नाम ६ दशकअघि माओवादी-प्रेरित विद्रोह सुरु भएको स्थानबाट नै राखिएको थियो।

विद्रोहले देशको लगभग एकतिहाइ भाग नियन्त्रण गरेको थियो।

सन् २००० को दशकको मध्यमा अनुमानित १५ हजार देखि २० हजार लडाकु भएको आन्दोलन चरम उत्कर्षमा पुगेको थियो।

तर हालैका वर्षमा यो नाटकीय रूपमा कमजोर भएको थियो।

अधिकांश सशस्त्र विद्रोही मध्य छत्तीसगढ राज्यको बस्तर क्षेत्रसम्म सीमित भएका थिए। जुन घना जंगल र पहाड रहेको विशाल खनिज-समृद्ध क्षेत्र हो।

'बस्तर अब नक्सलमुक्त छ', ९० मिनेटको भाषणमा भारतका गृहमन्त्री शाहले भने, 'माओवाद तथा नक्सलवादका नाममा हिंसा गर्नेहरूको दिन अब सकिएको छ।'

सोमबार भारतको संसद्‌मा जवाफ दिँदै गृहमन्त्री अमित शाह।

सन् २०२५ मा भारतीय सुरक्षा फौजले ३६४ विद्रोही मारेको र १ हजार २२ जनालाई पक्राउ गरेको थियो भने वरिष्ठ नेतासहित दुई हजार ३३७ जनाले आत्मसमर्पण गरेका थिए।

सन् २०१० यता नागरिक र सुरक्षा बलका सदस्य मारिने क्रम ९० प्रतिशत घटेको छ भने माओवादी आक्रमणको संख्या १ हजार ९०० बाट घटेर गत वर्ष करिब २०० मा झरेको छ।

गृहमन्त्री शाहले सरकारले विद्रोहबाट प्रभावित राज्यहरूमा स्थानीय प्रहरी बलको क्षमतालाई बलियो बनाएको र सुरक्षा बलबिच समन्वय गहन बनाएको बताए। 

'हामीले हतियार मात्र होइन, सबै निकायको दृष्टिकोण अपनाएका छौँ', शाहले भने, 'माओवादीका दुई कमान्डरबाहेक सबै या त मारिएका छन् वा आत्मसमर्पण गरेका छन्। उनीहरूले पनि चाँडै आत्मसमर्पण गर्नेछन्।'

यस्तै छत्तिसगढका उपमुख्यमन्त्री विजय शर्माले यसअघि एएफपीलाई राज्य नक्सलवादी विद्रोहीबाट पूर्ण रूपमा मुक्त रहेको बताएका छन्। 

उनले भनेका छन्, 'उनीहरूको सम्पूर्ण सशस्त्र लढाकू मारिएका छन्।'

भारतीय माओवादीले वन क्षेत्रमा सीमान्तकृत आदिवासी जनजातिको अधिकारका लागि आफूहरू लडिरहेको बताएका थिए।

सन् १९६७ मा मुट्ठीभर गाउँलेले आफ्ना सामन्ती शासकविरुद्ध विद्रोह गरेयता १२ हजारभन्दा बढी विद्रोही, सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ।

माओवादी केन्द्रका पूर्वविद्रोही २६ वर्षीय विष्णु माडवीले छापामारसँग सात वर्षपछि गत जनवरीमा आत्मसमर्पण गरेका थिए। 

'मेरो कमान्डर सन् २०२५ मा प्रहरीको कारबाहीमा मारिएकोमा मुस्किलले बाँचेको छ', माड्वीले सोमबार एक शिविरबाट एएफपीसँग भनेका छन्। 

उनले अगाडि भनेका छन्, 'हाम्रा शीर्ष नेताहरू सबै यात शाहदत प्राप्त गरिसकेका छन् या आत्मसमर्पण। प्रहरीले हामी घेराबन्दी गरेको अवस्थामा आन्दोलन छोड्नुको विकल्प थिएन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad