चीनका विदेशमन्त्री वाङ यीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग फोनमा कुरा गरेका छन्।
सोमबार भएको फोन संवादमा चीनका विदेशमन्त्रीले इजरायल-अमेरिका र इरानबिच जारी सैन्य द्वन्द्वको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्।
चीनको विदेश मन्त्रालयका अनुसार इरानका विदेशमन्त्री अराघचीले भने, ‘वार्ताका क्रममा अमेरिकाले दोस्रोपटक इरानमाथि आक्रमण गरेको छ। अमेरिकाको कार्य अन्तर्राष्ट्रिय कानुनविरुद्ध छ। इरानसँग अब आफ्नो रक्षा गर्नुबाहेक अरू कुनै विकल्प छैन।’
जवाफमा वाङ यीले भने, ‘चीनले इरानसँगको आफ्नो लामो समयदेखिको मित्रताको कदर गर्छ र इरानको सार्वभौमसत्ता, सुरक्षा, क्षेत्रीय अखण्डता र राष्ट्रिय सम्मानको रक्षा गर्न समर्थन गर्दछ। चीनले इरानको वैध र कानुनी अधिकारलाई पनि समर्थन गर्दछ।’
वाङ यीले थप भने, ‘तनाव बढ्नबाट रोक्न र द्वन्द्वलाई सम्पूर्ण मध्यपूर्वमा फैलिनबाट रोक्न चीनले अमेरिका र इजरायललाई तुरुन्तै सैन्य कारबाही रोक्न अपिल गरेको छ।’
गत शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा हवाई हमला जारी राखेका छन्। पहिलो दिन उनीहरूले त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिसकेका छन्।
जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका खाडी मुलुकमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
यसैबिच इरानको रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायली आक्रमणमा अहिलेसम्म ७८७ जनाको मृत्यु भएको बताएको छ।
Shares

प्रतिक्रिया