ग्लोबल


यसरी मौका छोपेर बिहानै मारिएको थियो खामेनीलाई

यसरी मौका छोपेर बिहानै मारिएको थियो खामेनीलाई

नेपालखबर
फागुन १८, २०८२ सोमबार १४:४२, काठमाडौँ

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गर्ने हमला कुनै मध्यरातमा होइन, दिनको उज्यालोमा गरिएको थियो।

त्यसो किन गरिएको थियो भने अमेरिका र इजरायललाई केही घण्टाअघि मात्र प्राप्त महत्त्वपूर्ण गुप्तचर सूचनाको मौका छोप्नु थियो। 

महिनौँदेखि उनीहरू इरानका शीर्ष नेता र अधिकारी एकै ठाउँ भेला भएको अवसरको खोजीमा थिए।

यसैबिच उनीहरूले जानकारी पाए- इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी शनिबार बिहान मध्य तेहरानको एउटा परिसरमा उपस्थित हुँदै छन्। 

अनि उनीहरूलाई त्यही समय इरानका अन्य वरिष्ठ सैन्य र गुप्तचर अधिकारी कहाँ भेट्दै छन् भन्ने कुरा पनि थाहा भयो।

महिनौँदेखि भइरहेको थियो खामेनीको निगरानी

अमेरिका र इजरायलले महिनौँदेखि खामेनीका गतिविधि ट्र्याक गरिरहेका थिए।

उनीहरूले प्रयोग गर्ने तरिका गोप्य नै थिए, तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यसको केही संकेत दिइरहेका थिए। 

ट्रम्पले भनेका थिए, ‘उनी (खामेनी) हाम्रो गुप्तचर र धेरै उन्नत ट्र्याकिङ प्रणालीबाट बच्न सकेनन्।’

इरानलाई थाहा थियो- खामेनी शत्रुहरूको नजरमा छन्। तर दुस्मनको रणनीति पहिचान गर्न नसक्नुले उसको सुरक्षा र गुप्तचरको ठुलो असफलता देखाउँछ।

अथवा इजरायल र अमेरिकामा ट्र्याकिङका नयाँ तरिका पत्ता लगाउने क्षमता रहेको देखिन्छ।

इरानीहरूले दिनको समयमा आक्रमण हुने सम्भावना कम हुने अनुमान गरेका हुन सक्छन्।

न्युयोर्क टाइम्सका अनुसार गुप्तचर जानकारी अमेरिकाको केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए ) बाट प्राप्त भएको थियो। त्यसपछि यो गुप्तचर जानकारी आक्रमणका लागि इजरायललाई हस्तान्तरण गरिएको थियो।

संकेत के पाइएको छ भने इरानमा आक्रमण गर्दा  इजरायलले शीर्ष नेतृत्व र अमेरिकाले सैन्य अड्डामा ध्यान केन्द्रित गरे। 

महत्त्वपूर्ण कुरा के हो भने गुप्तचरले खामेनी र अन्य इरानी अधिकारीका गतिविधिबारे पहिले नै पर्याप्त जानकारी संकलन गरी आक्रमणका लागि लामो दूरीको क्षेप्यास्त्र बोकेका जेट आवश्यक छ भनेर पत्ता लगाएको थियो।

इजरायली जेट इरानको राजधानी तेहरान पुग्न लगभग दुई घण्टा लागेको हुन सक्छ, तर इजरायलले आफ्ना हतियार कति टाढाबाट प्रहार गर्‍यो भन्ने कुरा स्पष्ट छैन।

प्राप्त जानकारीअनुसार स्थानीय समय शनिबार बिहान ९:४० बजे इजरायली विमानले खामेनी बसेको परिसरमा ३० वटा बम प्रहार गरेका थिए। किनभने खामेनीले आफ्नो सुरक्षाका लागि परिसरमुनि भूमिगत बंकर प्रयोग गरिरहेका थिए।

इजरायलले इरानका सात जना वरिष्ठ रक्षा अधिकारी मारिएको उल्लेख गरेको छ। जसमा इरानको रक्षा परिषद् सचिव अली शामखानी, रक्षामन्त्री ब्रिगेडियर जनरल अजिज नासिरजादेह र इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डर जनरल मोहम्मद पाकपुर पनि छन्।

फ्लोरिडाको मार-ए-लागोमा भने मध्यरात थियो, जतिबेला अमेरिकाका राष्ट्रपति ट्रम्प आफ्ना केही शीर्ष अधिकारीसँग आक्रमणको निगरानी गरिरहेका थिए। 

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि हुन घण्टौँ लाग्यो।

उनीहरूको हत्याले मध्यपूर्वमा कस्तो प्रभाव पार्नेछ भन्ने कुरा अझै भन्न सकिने अवस्था छैन। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad