ग्लोबल


दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक-योललाई आजीवन कारावासको सजाय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक-योललाई आजीवन कारावासको सजाय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक-योल (फाइल फोटो)


नेपालखबर
फागुन ७, २०८२ बिहिबार १३:५२, काठमाडौँ

दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक-योललाई देशद्रोहको षड्यन्त्र रचेको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको छ। ६५ वर्षीय युनले डिसेम्बर २०२४ मा सैन्य शासन लागु गर्ने असफल प्रयास गरेका थिए।

त्यतिबेला राष्ट्रपतिका रूपमा उनले घोषणा गरेको मार्सल ल केवल ६ घण्टा टिकेको थियो। संसद्‌बाटै व्यापक विरोध भएपछि उनी निर्णय फिर्ता लिन बाध्य भएका थिए। तर त्यही कारण महाभियोग लगाएर उनलाई पदबाट हटाउनाका साथै मुद्दा पनि लगाइएको हो। 

त्यस मुद्दामा सियोलस्थित अदालतले बिहीबार उनीविरुद्ध आजीवन जेल सजाय सुनाएको हो। 

फैसलापछि उनका समर्थकले अदालतबाहिर विरोध प्रदर्शन गरेका छन्।

सोही प्रकरणको अर्को मुद्दामा युन यसअघि नै जेलमा छन्। 

उनले राष्ट्रपति रहँदा सन् २०२४ डिसेम्बर ३ मा देशमा मार्सल ल लागु गर्न खोजेका थिए।

विशेष सरकारी वकिलले उनको कार्यले लोकतन्त्रलाई प्रत्यक्ष खतरा पुर्‍याएको दाबी गर्दै मृत्युदण्डसम्मको माग गरेका थिए। 

संसद्ले महाभियोग प्रस्ताव पारित गरेपछि युनलाई २०२४ डिसेम्बर १४ मा पदबाट निलम्बन गरिएको थियो। त्यसपछि अप्रिल २०२५ मा संवैधानिक अदालतले उनलाई औपचारिक रूपमा पदबाट बर्खास्त गरेको थियो। 

विभिन्न मुद्दामा गत जुलाईदेखि जेलमा रहेका उनीविरुद्ध विद्रोहसम्बन्धी कसुर सबैभन्दा गम्भीर मानिएको हो।

गत महिना अदालतले गिरफ्तारीको प्रतिरोध गरेको, मार्सल ल घोषणा गर्दा कानुनी रूपमा आवश्यक पूर्ण मन्त्रिपरिषद् बैठक नगरेको कसुरमा ५ वर्षको कारावास सजाय सुनाएको थियो।

यसैबिच प्रधानमन्त्री हान डक सुसहित मन्त्रिपरिषद्का दुई सदस्यलाई पनि दोषी ठहर गरिएको छ।

जबरजस्ती आदेशलाई वैधानिक देखाउन प्रयास गरेको, अभिलेखमा हेरफेर गरेको तथा शपथ लिएर असत्य बयान दिएको कसुरमा उनीहरूलाई २३ वर्षको कारावास सजाय सुनाइएको छ। हानले उक्त फैसलाविरुद्ध पुनरावेदन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad