नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको चुनाव देश बनाउने र भत्काउने बीचको जनमत संग्रह भएको उद्घोष गरेका छन्।
बिहीबार एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन २१ को चुनावलाई सामान्य रुपमा लिन नहुने जिकिर गरे। ‘यो चुनाव देश बनाउने र भत्काउने बीचको जनमत संग्रह हो। राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष पनि हो,’ ओलीले भने।
चुनावी घोषणापत्र सार्वजनिक समारोहमा ओलीले लिखित मन्तव्य राखेका थिए। उनले राखेको मन्तव्य:
आज फागुन ७ गते। आजको दिन- हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो। बलिदानपूर्ण संघर्षबाट हामी रैतीबाट जनता बनेको दिन हो। राष्ट्रिय प्रजातन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात-अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। राष्ट्रियताको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, न्यायपूर्ण समतामूलक समाज निर्माणका निम्ति भएका सबै आन्दोलन र क्रान्तिमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।
फागुन ७ ले राष्ट्रियता र लोकतन्त्र दुवैको सम्झना गराउँछ। यसै कारण हामीले आजकै दिन प्रतिनिधि सभा निर्वाचन-२०८२ को घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेका हौँ।
२०७९ सालको निर्वाचनको वेला देश राजनीतिक अस्थिरताको दुश्चक्रमा फसेको थियो। मुलुकको राजनीति दुई ध्रुवमा विभाजित थियो। हामीले त्यतिवेला राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानको रक्षाका लागि, राजनीतिक स्थायित्व र जनउत्तरदायी शासन व्यवस्थाका लागि मत मागेका थियौँ। त्यस प्रतिकूल अवस्थामा पनि यहाँहरूले दिनुभएको साथ-समर्थन र दर्शाउनुभएको भरोसाप्रति हाम्रो पार्टी पुनः हार्दिक आभार व्यक्त गर्दछ।
गत भदौ २३, २४ को राजनीतिक हुण्डरी र विध्वंशपछि फेरि अनिश्चयको तुवाँलो अझ बाक्लो गरी फैलियो। लामो संघर्षको उपलब्धि संविधान र समग्र व्यवस्थामाथि धावा बोलियो। स्वाधीनता र स्वाभिमानमाथि आक्रमण गरियो। आज देश यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर रिस, आवेग र आक्रोश छ, अर्कातिर विवेक र जिम्मेवारी छ। भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ।
निर्वाचनको केही साताअघि हाम्रा प्रतिबद्धता घोषणा गरिरहँदा यस्तो लाग्छ- सिङ्गो समाज प्रश्नैप्रश्नको घेरामा छ। जसरी आममतदाताको हामीसहित स्थापित राजनीतिक दल र नेताहरूप्रति प्रश्न छ, त्यसैगरी मेरा पनि केही प्रश्नहरू छन्।
पहिलो, भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रँदै थियो, कि देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरिँदै थियो?
दोस्रो, भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्यो? शान्तिपूर्ण कार्यक्रम सकियो भन्दै घर फर्कन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो?
तेस्रो, भदौ २३ र २४ का घटनाहरू स्वतःस्फूर्त थिए कि योजनाबद्ध? निजी सम्पत्ति, व्यवसाय र साधारण नागरिकलाई किन लक्ष्य बनाइयो, आफ्नो कर्तव्य पालना गरिरहेका सुरक्षाकर्मीमाथि किन आक्रमण गरियो?
चौथो, सरकार, संविधान तथा व्यवस्थाका सन्दर्भमा जेनजी प्रदर्शनकारीका कुनै माग थिएनन्। हुँदै नभएको माग पूरा गरेझैं प्रणालीमाथि नै धावा बोल्नेगरी प्रतिनिधि सभाको विघटन किन गरियो? यी र यस्तै अरु धेरै प्रश्नहरू छन्।
यी प्रश्नहरू निर्वाचनमा आफ्ना आन्तरिक कमजोरी लुकाउन बनाइएको ‘देशी/विदेशी षड्यन्त्रको सिद्धान्त (कन्सिप्रेसी थ्योरी)’ होइन। संविधान, व्यवस्था र हाम्रो सार्वभौमसत्ताको रक्षा गर्न हामीले यसको जवाफ खोज्नै पर्छ।
अस्थिरताको अन्त्य र राजनीतिक स्थिरताको लागि हामीले दशक लामो कठिन यात्रा गरेका छौँ। संविधान जारी हुनुअघि मात्र हैन, त्यसपछि पनि दलहरूबीच कटुता र बेमेल रहिरह्यो। सरकार बनाउने र ढाल्ने अस्वस्थ दौडले जनतामा निराशा बढायो।
त्यो निराशा अन्त्य गर्न दलहरुबीच ‘सहकार्यको प्रक्रिया’ थालिएको थियो। पछिल्लोपटक ठूला पार्टीहरू मिलेको कारण समस्या आएको हो कि भन्ने धेरैको प्रश्नमा म यहाँ स्पष्ट पार्न चाहन्छु, ठूला पार्टी मिलेकै कारण आजको संकट आएको होइन। संकट त एकता फुटाउन र अस्थिरताको चक्र फेरि चलाउन निम्त्याइएको हो। संवैधानिक प्रक्रियाबाट स्थिर सरकार नढल्ने भएपछि खोजिएको अर्को बाटो, भदौ २३ र २४ गतेको घटना हो।
हामीले बारम्बार एउटै कुरामा जोड दिँदै आएका छौँ, नीति र राजनीतिमा स्थिरता चाहिन्छ। स्थिरता नभए विकासको गति रोकिन्छ र अर्थतन्त्रप्रति भरोसा रहँदैन। देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने बाटोमा सबैभन्दा ठूलो तगारो राजनीतिक अस्थिरता नै हो।
त्यसैले वैधानिक सीमाभित्र रहेर स्थिरताको लागि सक्दो प्रयास गर्नु गलत थिएन, होइन।
निराशा हटाउन समृद्धिको सपना देख्नु अपराध थिएन, होइन। जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा सम्झौता हुँदैन, गरिंदैन।
अहिले ‘नयाँ कि पुरानो’ भन्ने बहस पनि गर्ने गरिन्छ। तर आममतदाताले देखि नै सक्नु भएको छ, नयाँ भनिएका धेरै पात्रहरूले स्थानीय वा संघीय सरकारमा बसेर आफ्नो ‘क्षमता र हैसियत’ देखाइसकेका छन्। एमालेसँग विगतका कामका अभिलेखहरू छन्। आन्दोलनमा मात्र होइन, नीति, सुशासन, र विकास निर्माणमा पनि। हाम्रो कार्यशैली पनि जनताले चिनेको छ। लक्ष्य तोक्ने, समयसीमा तोक्ने, काम सुरु गर्ने, काम पूरा गर्ने। कागजमा होइन, व्यवहारमा।
आज हाम्रासामु अर्को जिम्मेवारी थपिएको छ। सिंहदरबार, अदालत, संसद् भवन र अन्य जलाइएका संरचनाहरूको पुनर्निर्माण गर्नुछ। निजी र व्यवसायिक क्षेत्रको ढलेको मनोबल उठाउनु छ। शान्ति सुव्यवस्थाप्रति भरोसा फर्काउनु छ।
यो काम भावनाले मात्र होइन, अनुशासन, योजना तर्जुमा र त्यसको कार्यान्वयनले हुन्छ। विगतका ट्रयाक रेकर्डले बोल्छ, यी काम एमालेले मात्र गर्न सक्छ।
एकचोटी दोहोर्याएर भन्छु, भदौ २४ गतेको महाविनाश अप्रत्यासित घटना होइन। नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण हो। राष्ट्रका विरुद्ध यति ठूलो महाअपराधको अनुहार छोप्न त्यस घटनामा सामेल केही तत्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएका छन्। हामीले तिनलाई चिन्न ढिलो गर्नु हुँदैन।
यस घडीमा हाम्रो प्राथमिकता एउटै हो, देश पहिले। देशको भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति सुव्यवस्था, यी सबैभन्दा माथि केही छैन।
हामी निर्माणका पक्षमा छौँ, उत्तेजनाको पक्षमा होइनौँ। हामी स्वाधीनता र सार्वभौमसत्ताका रक्षक हौँ, त्यसैले कस्तै आक्रमणको बेलामा पनि मौन बस्दैनौँ। हामी भय र त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौँ।
त्यसैले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौँ। हाम्रो गन्तव्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली। हाम्रो संकल्प स्पष्ट छ, सुशासन, विकास, समृद्धि, समानता। त्यसैका लागि घोषणापत्रमा हामीले गर्ने कामको सूची प्रस्तुत गरेका छौँ।
तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा, र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेका छौँ। निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने छौँ।
फेरि अर्को भ्रम हाम्रो सामु चर्चा गरिंदै छ- पुस्तान्तर र अन्तरपुस्ता द्वन्द्व! म आज स्पष्ट शब्दमा भन्न चाहन्छु- यो देश पुस्ताहरूबीचको द्वन्द्वले बनेको होइन, र द्वन्द्वले बन्दैन पनि। देश बनाउनको लागि युवाको ऊर्जा चाहिन्छ - त्यो जोश, त्यो सपना, त्यो हिम्मत जसले जस्तोसुकै कठिन पहाड पनि चढ्न सक्छ।
तर सँगसँगै, अनुभवी पुस्ताको दृष्टि (Vision) पनि चाहिन्छ- त्यो बुद्धि, त्यो संयम, त्यो मार्गदर्शन जसले युवा लड्खडाउँदा भरोसा दिन्छ। युवा भन्नु आगो हो, तर आगोलाई दिशा चाहिन्छ, नत्र त्यही आगोले जलाउँछ।
अनुभव भन्नु उज्यालो हो- तर उज्यालोलाई पनि ऊर्जा चाहिन्छ, नत्र उज्यालो आफैं निभ्छ। ‘आगो र उज्यालो’ दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ। हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिंड्ने हो। त्यसैले यो निर्वाचन पुस्तान्तरको होइन, देश बनाउने र भत्काउने बीचको जनमत संग्रह हो। यो निर्वाचन राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष पनि हो।
जोड्नु, मिलाउनु, बनाउनु, र सबैसँग सहकार्य गर्नु हाम्रो विशेषता हो। जिम्मेवारी पाएको वेला हामीले गरेका कामका परिणामहरुले नै यसलाई पुष्टि गर्छन्। तसर्थ, एमाले बनाउने पार्टी हो, एमालेले बनाउँछ।
म सबै नेपाली जनतासामु विनम्र अनुरोध गर्दछु- संविधानको रक्षा गरौं। लोकतन्त्र सुदृढ गरौं। राष्ट्रियताको संरक्षण गर्दै गिरेको राष्ट्रिय स्वाभिमानलाई पुनः जागृत गरौं। देश पहिला भनौं। निर्वाचनको यस अवसरलाई यसकै निम्ति सदुपयोग गरौं।
Shares

प्रतिक्रिया