शेख हसिनाको १५ वर्षे शासन अन्त्य गराउने गरी आन्दोलन गरेका विद्यार्थीहरूद्वारा गठित राजनीतिक दल नेसनल सिटिजन पार्टी (एनसीपी) ले चुनावमा निराशाजनक परिणाम प्राप्त गरेको छ।
बिहीबार भएको संसदीय निर्वाचनमा ३० सिटमा उम्मेदवार उठाएको एनसीपीले जम्मा ५ सिट मात्र जितेको हो।
विद्रोही विद्यार्थीको नेतृत्वमा रहेको एनसीपीले चुनावमा जमात-ए-इस्लामीसँग गठबन्धन गरेको थियो।
त्यही नै यसको असफलताको प्रमुख कारण रहेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
विद्यार्थी आन्दोलन मुख्यतया समावेशी र लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित थियो, तर कट्टरपन्थी जमातसँगको गठबन्धनले पार्टीका मतदाताहरूलाई रुष्ट पारेको र उनीहरू पूर्वप्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनालिस्ट (बीएनपी) पार्टीतर्फ लागेको विश्लेषण भइरहेको छ।
हारपछि एनसीपीले चुनावमा धाँधली भएको आरोप लगाइरहेको छ।
पार्टी प्रवक्ता आसिफ महमुद सोजिब भुइयानले अबेर राति पत्रकार सम्मेलन गरेर ढाका-१३, १५, १६ र १७ जस्ता सिटको नतिजामा धाँधली गरिएको आरोप लगाए।
यद्यपि शेख हसिनाविरुद्धको विद्रोहमा संलग्न एनसीपी नेता नाहिद इस्लामले भने चुनाव जितेका छन्। उनले पनि केवल २ हजार ३९ मतान्तरले ढाका-१५ मा बीएनपीका उम्मेदवार एमए कय्युमलाई हराएका हुन्।
विजयी नाहिद इस्लामले ९३ हजार ८७२ मत प्राप्त गरे भने एमए कय्युमले ९१ हजार ८३३ मत ल्याएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबिच हाल तारिक रहमानको नेतृत्वमा रहेको बीएनपीले भने चुनावमा दुईतिहाइ बहुमत हासिल गरेको छ। योसँगै तारिक बंगलादेशको प्रधानमन्त्री बन्ने निश्चित भएको छ।
Shares

प्रतिक्रिया