ग्लोबल


यस्तो छ बंगलादेशको प्रधानमन्त्री बन्न लागेका तारिक रहमानको कथा

यस्तो छ बंगलादेशको प्रधानमन्त्री बन्न लागेका तारिक रहमानको कथा

आफ्नी श्रीमतीसँग तारिक रहमान (सेतो सर्ट)


नेपालखबर
फागुन १, २०८२ शुक्रबार ८:३६, काठमाडौँ

बंगलादेशमा बिहीबार भएको चुनावबाट बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ। उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्। 

बीएनपीले बहुमत हासिल गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बीएनपीले २९९ सिटमध्ये २०९ सिट जितिसकेको छ, जुन बहुमतका लागि आवश्यक १५० भन्दा ५९ बढी हो।

अहिलेसम्म २८६ सिटको नतिजा घोषणा भइसकेको छ।

जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ७० सिट मात्र जितेको छ। जमात प्रमुख सफिकुर रहमानले ढाका-१५ बाट जित हासिल गरेका छन्।

अन्तिम र आधिकारिक मत परिणाम घोषणा हुन बाँकी छ। 

यस्तो छ तारिक रहमानको कथा
रहमान बंगलादेशी राजनीतिमा तारिक जियाको नामले चिनिन्छन्।

उनको जीवन र राजनीतिक पहिचान धेरै हदसम्म उनको पारिवारिक नामसँग जोडिएको छ। उनको प्राथमिक पहिचान जियाउर रहमान र खालिदा जियाका छोरा हुन्।

उनको जन्म १९६७ मा भएको थियो, जतिबेला बंगलादेश पूर्वी पाकिस्तानका रूपमा चिनिन्थ्यो। अर्थात्, बंगलादेश वर्तमान पाकिस्तानकै एक भाग थियो।

१९७१ को मुक्ति युद्ध (बंगलादेशको स्वतन्त्रता युद्ध) को समयमा तारिक केवल ४ वर्षको थिए र उनलाई छोटो समयका लागि हिरासतमा राखिएको थियो।

जसकारण उनको पार्टी बीएनपीले उनलाई ‘युद्धका सबैभन्दा कान्छा कैदीमध्ये एक’ भनेर सम्मान गर्छ। 

उनका बुबा जियाउर रहमान एक सेना कमान्डर थिए।

सन् १९७५ को विद्रोहपछि उनले बिस्तारै सत्तामा आफ्नो पकड बलियो बनाए र पछि राष्ट्रपति बने। 

त्यही वर्ष बंगलादेशका संस्थापक नेता र शेख हसिनाका बुबा शेख मुजिबुर रहमानको हत्या गरियो।

यो घटनाले जिया र हसिना परिवारबिच गहिरो र स्थायी राजनीतिक द्वन्द्व निम्त्यायो, जसलाई सामान्यतया ‘बेगमहरूको युद्ध’ भनेर चिनिन्छ। 

केही वर्षपछि जियाउर रहमानको पनि हत्या गरियो। त्यतिबेला तारिक मात्र १५ वर्षका थिए।

त्यसपछि देशको पहिलो महिला प्रधानमन्त्री नबन्दासम्म छोराको पालनपोषण जिम्मेवारी खालिदा जियाको जिम्मामा आयो।

पछि हसिना र जिया निरन्तर शक्ति संघर्षमा हुन थाल्यो र उनीहरूले एकअर्कालाई राजनीतिक रूपमा चुनौती दिन थाले।

बीएनपीका अनुसार, तारिक रहमानले २३ वर्षको उमेरमा सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि ढाका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन गरेका थिए।

त्यसपछि उनी सैन्य शासक हुसेन मुहम्मद एरसादविरुद्ध आन्दोलनका क्रममा बीएनपीमा सामेल भए।

२००७ मा पक्राउ, २००८ मा विदेश
२००७ मा तारिकलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरियो। उनी जेल परे। अनि राजनीतिबाट टाढा रहने सर्तमा उनलाई रिहा गरियो।

जेलमुक्त भएपछि उनी सन् २००८ मा उपचारका लागि भन्दै लन्डन (बेलायत) गए र बंगलादेश फर्केनन्।

२००८ मा शेख हसिना सत्तामा फर्किएपछि ठुलो संख्यामा बीएनपी नेता तथा कार्यकर्तालाई जेल हालियो।

पछि २०१८ मा तारिक रहमानलाई २००४ मा हसिनाको र्‍यालीमा आक्रमण गर्ने षड्यन्त्र गरेको आरोपमा उनको अनुपस्थितिमा आजीवन कारावासको सजाय सुनायो।

बीएनपीले यो जिया परिवारलाई राजनीतिबाट स्थायी रूपमा निष्कासन गर्ने प्रयास भएको दाबी गरेको थियो। बेलायतमा बस्दा तारिक रहमान श्रीमती, एक मुटु रोग विशेषज्ञ र छोरीको साथमा थिए। 

तर विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना सन् २०२४ अगस्ट ५ मा देशै छाडेर भागेपछि रहमान बंगलादेशी राजनीतिमा उदाएका हुन्।

१७ वर्षको निर्वासनपछि तारिक रहमान गत डिसेम्बर २५ स्वदेश फर्किएका थिए। त्यसको ५ दिनपछि नै बिरामी आमा खालिदा जियाको निधन भएपछि उनी बीएनपी अध्यक्ष बनेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad