ग्लोबल


एपस्टिन यौन प्रकरणमा मुछिएपछि लेबर पार्टीका नेता पिटर म्यान्डेलसनले दिए राजीनामा

राजीनामा पत्रमा लेखे: पार्टीलाई थप लज्जित पार्न चाहन्नँ
एपस्टिन यौन प्रकरणमा मुछिएपछि लेबर पार्टीका नेता पिटर म्यान्डेलसनले दिए राजीनामा

नेपालखबर
माघ १९, २०८२ सोमबार ९:२७, काठमाडौँ

एपस्टिन यौन प्रकरणमा मुछिएपछि बेलायतको लेबर पार्टीका नेता पिटर म्यान्डेलसनले पार्टीबाट राजीनामा दिएका छन्।

बीबीसीका अनुसार राजीनामा पत्रमा उनले पार्टीलाई ‘अझ लज्जित’ गर्न नचाहेको उल्लेख गरेका छन्। 

एउटा यौन अपराधमा जेल सजाय भोगेर अर्को यस्तै अभियोगमा पक्राउ परेका अमेरिकी नागरिक जेफ्री एपस्टिनले सन् २०१९ मा हिरासतमै आत्महत्या गरेका थिए।

उनले गरेको यौन अपराधमा उच्च ओहोदाका व्यक्ति पनि जोडिएको पाइएको छ।

यसै क्रममा अमेरिकाको न्याय विभागले एकपछि अर्को तस्बिर/भिडिओसहितका फाइल जारी गरिरहेको छ। 

त्यसमा बेलायतको लेबर पार्टीका नेता पिटर म्यान्डेलसन पनि देखिएपछि उनले पार्टी छाडेका हुन्।

पूर्वक्याबिनेट मन्त्री म्यान्डेलसनलाई यसअघि एपस्टिनसँगको सम्बन्धका कारण गत वर्ष अमेरिका लागि बेलायती राजदूत पदबाट हटाइएको थियो।

सार्वजनिक फाइलअनुसार, एपस्टिनले २००३ र २००४ मा २५ हजार डलरको तीन अलग-अलग कारोबारमा पिटर म्यान्डेलसनलाई ७५ हजार डलर तिरेका थिए।

लेबर पार्टीका महासचिवलाई लेखेको पत्रमा म्यान्डेलसनले यस हप्ता फेरि जेफ्री एपस्टिनसँग आफूलाई जोडिएमामा पछुतो लागेको उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘उनले (जेफ्री एपस्टिन) मलाई २० वर्षअघि भुक्तानी गरेको भन्ने आरोप झुटा हो। जसको मसँग कुनै रेकर्ड वा सम्झना छैन। यसको अनुसन्धान आवश्यक छ।’

‘यसो भनेर म लेबर पार्टीलाई थप लज्जित पार्न चाहन्नँ र त्यसैले म सदस्यताबाट राजीनामा दिइरहेको छु। म यो अवसरमा ती महिला तथा किशोरीसँग फेरि माफी माग्न चाहन्छु, जसको आवाज धेरै पहिले सुनिनुपर्थ्यो।’

‘मैले लेबर पार्टीको मूल्य-मान्यता र सफलताका लागि मेरो जीवन समर्पित गरेको छु र यो निर्णय लिइरहँदा मलाई विश्वास छ- मैले पार्टीको हितका लागि काम गरिरहेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad