ग्लोबल


आठ वर्षपछि बेलायतका प्रधानमन्त्री चीन भ्रमणमा, स्टार्मर र सीबिच भेटवार्ता

आठ वर्षपछि बेलायतका प्रधानमन्त्री चीन भ्रमणमा, स्टार्मर र सीबिच भेटवार्ता

नेपालखबर
माघ १५, २०८२ बिहिबार २१:३७, काठमाडौँ

बेलायतका प्रधानमन्त्रीले ८ वर्षपछि चीनको भ्रमण गरेका छन्। बेलायतका प्रधानमन्त्री किअर स्टार्मर तीन दिन भ्रमणका लागि बुधबार चीन पुगेका हुन्।

यसअघि सन् २०१८ मा बेलायतका तत्कालीन प्रधानमन्त्री थेरेसा मेले चीनको भ्रमण गरेकी थिइन्। 

त्यसको ८ वर्षपछि अहिले बेलायतका वर्तमान प्रधानमन्त्री स्टार्मर चीनको भ्रमणमा निस्किएका हुन्। उनले बिहीबार चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री स्टार्मरले बेलायतले चीनसँग ‘धेरै राम्रो सम्बन्ध’ चाहेको बताए। उनले चीनलाई ‘विश्व मञ्चमा एक महत्त्वपूर्ण खेलाडी’ भने।

राष्ट्रपति सी चिनफिङले भने बेलायत-चीन सम्बन्धमा ‘उतारचढाव’ आएको बताए। तर सँगसँगै उनले चीन बेलायतसँग ‘दीर्घकालीन रणनीतिक साझेदारी"का लागि तयार रहेको बताए। 

वर्तमान विश्वव्यापी अवस्थालाई ‘अस्थिर र परिवर्तनशील’ भन्दै सीले थपे, ‘विश्वमा शान्ति र स्थिरताका लागि राम्रो संवाद आवश्यक छ।’

यसैबिच बेलायतको प्रधानमन्त्री कार्यालयले बेलायत र चीनबीच भिसाबिनै बेलायती नागरिकलाई चीन यात्रा गर्न अनुमति दिने सम्झौता भएको बताएको छ।

बेलायतका अनुसार यो सम्झौता ३० दिनभन्दा कम समय यात्रा गर्ने बेलायती नागरिकमा लागु हुनेछ। 

बेलायत सरकारका अनुसार यसको अर्थ व्यापार वा पर्यटनका लागि चीन यात्रा गर्ने नागरिकले भिसाबिनै यात्रा गर्न सक्छन्।

सम्झौताबारे बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले भने, ‘विश्वका आर्थिक महाशक्तिमध्ये एक भएका नाताले चीनमा व्यापार बढाउने तरिकाको माग भइरहेको थियो।’

उनले थपे, ‘हामी उनीहरूका लागि यो सजिलो बनाउनेछौँ। यसमा छोटो अवधिको यात्राका लागि भिसा नियम सहज बनाउने कुरा पनि छ। यसले उनीहरूलाई विदेशमा विस्तार गर्न मद्दत पुग्नेछ। साथै देशभित्र विकास र रोजगारी पनि वृद्धि हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad