अमेरिकाले गरेको आक्रमणपछि आफ्ना राष्ट्रपति निकोलस मादुरोको दम्पती नै बेपत्ता भएको भन्दै भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले उनीहरू जीवित रहेको प्रमाण मागेकी छन्।
त्यसो त अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मध्यराति भेनेजुएलामा हवाई हमलापछि त्यहाँका राष्ट्रपति मादुरोको दम्पती नै आफ्नो देशले नियन्त्रणमा लिएको दाबी गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो आक्रमण गरेको छ र त्यसका नेता राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको छ।'

यसैबीच भेनेजुएलाका उपराष्ट्रपति रोड्रिगेजले भने राष्ट्रपति मादुरोको दम्पती जीवित रहेको प्रमाण मागेकी हुन्।
अमेरिकी अधिकारीहरूले भने बीबीसी सम्बद्ध सीबीएस न्युजसँग राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको बताएका छन्।

तर भेनेजुएलाका उपराष्ट्रपति रोड्रिगेजले राष्ट्रपति मादुरो र प्रथम महिला सिलिया फ्लोरेसबारे सरकारलाई कुनै जानकारी नभएको बताएकी छन्।
उनले भनिन्, 'भेनेजुएला सरकार दुवै जना जीवित रहेको प्रमाण तत्काल दिन माग गर्छ।'
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेनेजुएलाका काराकास, मिरान्डा, अरागुआ र ला गुएरा राज्यमा रहेका सैन्य अड्डाहरूमा अमेरिकाले शनिबार हवाई हमला गरेको हो।
सीबीएस न्युजका अनुसार ट्रम्पले भेनेजुएलाका सैन्य अड्डा र प्रमुख स्थानहरूमा आक्रमण गर्न आदेश दिएका थिए।
अमेरिकी आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले विज्ञप्ति जारी गरी कडा जवाफ दिइने चेतावनी दिएका छन्।
मादुरोले राष्ट्रव्यापी आपत्काल घोषणा पनि गरेका छन्।
उनले भनेका छन्, ‘अमेरिका भेनेजुएलाको तेल र खनिज स्रोत कब्जा गर्न चाहन्छ।’
Shares

प्रतिक्रिया