बंगलादेशमा एक हिन्दु युवक मारिएयता उक्त देश र भारतको सम्बन्धमा दरारा देखिएको छ।
बंगलादेशमा गत बिहीबार (पुस ३ गते) राति प्रदर्शनकारीहरूले हिन्दु समुदायका युवक दिपु चन्द्र दासलाई कुटीकुटी मारेपछि त्यसको असर भारतमा पनि देखिएको हो।
कारण हो- भारतमा शरण लिइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना।
गत वर्ष उनको सत्ता ढाल्ने विद्यार्थी आन्दोलनका प्रमुख नेतामध्ये एक सरिफ उस्मान हादीको हत्या गरिएपछि बंगलादेशमा फेरि हिंसा भड्किएको छ। त्यस क्रममा आक्रोशित भिडले हिन्दु युवकको पनि बीभत्स हत्या गरेका हुन्।
त्यसको विरोधमा गत शनिबार राति भारतको राजधानी दिल्लीस्थित बंगलादेश उच्चायोग बाहिर विरोध प्रदर्शन गरिएको थियो।
यसपछि असुरक्षा कारण देखाउँदै बंगलादेशले भारतमा रहेका आफ्ना सबै भिसा र कन्सुलर सेवा अनिश्चितकालका लागि बन्द गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि भारतले पनि बंगलादेशको दोस्रो सबैभन्दा ठूलो सहर चटगाउँमा रहेको भारतीय भिसा आवेदन केन्द्र पनि गत आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जनाएको छ।
त्यसअघि बिहीबार चटगाउँमा भिडले भारतीय सहायक उच्चायुक्तको निवासमा पुगेर ढुंगा हानेको थियो।
सुरुमा बंगलादेशले हादीको हत्या गर्ने व्यक्तिले भारतमा शरण लिएको दाबी गरे पनि पछि बंगलादेश गृह मन्त्रालयले यसको ठोस जानकारी नभएको बताएको छ।
गृह मन्त्रालयका आईजी रफिकुल इस्लामले मुख्य अभियुक्त फैसल करिम मसुद कहाँ छन् भन्नेबारे कुनै जानकारी नभएको बताएका छन्।
Shares

प्रतिक्रिया