कारोबार


राम्चेडाँडा अब पर्यटकीय गन्तव्य

राम्चेडाँडा अब पर्यटकीय गन्तव्य

नेपालखबर
पुस ८, २०८२ मंगलबार १०:१३, स्याङ्जा

स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ।

पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको हो।

रमणीय ठाउँ रहेकाले यस ठाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी पूर्वाधार निर्माण गर्ने काम भइरहेको वालिङ–१२ वडाध्यक्ष विश्वजङ्ग गुरुङले जानकारी दिए । विभिन्न समयमा वडा, नगर, प्रदेश तथा सङ्घबाट यस ठाउँमा पर्यटन पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भइ काम भइरहेको उनले बताए।

‘गाउँका मानिसहरू सहरकेन्द्रित बसाइँ सर्ने दर दिनप्रतिदिन बढ्दै गएकाले गाउँका मानिसलाई गाउँमै राख्न र आम्दानीसित जोड्ने उद्देश्यसहित राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लगेका छौं’, उनले भने।

यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि वडा, नगर, प्रदेश, सङ्घ तथा स्थानीयको व्यक्तिगत सहयोग तथा जनश्रमदानबाट भवन, प्रतीक्षालय, चौपारी निर्माण, ससाना बालबालिकादेखि सबैलाई हुने खालका पिङ, शौचालय निर्माण गरिएको छ।

वडाध्यक्ष गुरुङका अनुसार राम्चेडाँडामा सरकारी बजेट र २०७९ सालदेखि हालसम्म स्थानीय समुदाय तथा सहयोगदाताको सहयोगसहित झण्डै ४५–५० लाख खर्च भइसकेको छ । राम्चेडाँडा पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको स्थान भए पनि प्रचारप्रसार अभावमा यो ठाउँ ओझेलमा परेको छ । यस ठाउँको प्रचारप्रसार गर्न सकेको खण्डमा अझै पर्यटक घुम्न तथा वनभोज खानका लागि यहाँ आउने थिए।

यस ठाउँमा वनभोज खानका लागि विशेषगरी बिदाका दिनमा विद्यालय, सङ्घसंस्था, समूह तथा क्लबहरू आउने गरेका छन्। वनभोज खानका लागि आउनेहरूको सहजतालाई मध्यनजर गरी यहाँ खानेपानीका धारा, बिजुली बत्ती, पकाउनेदेखि लिएर खानेसम्मका सबै भाँडाकुँडा, ग्यास, दाउराको व्यवस्था स्थानीय भाउजु समूहले गरिदिने सृजना भाउजु समूहकी अध्यक्ष भागिमा गुरुङले बताइन्।

उनका अनुसार यस ठाउँमा वनभोज खानका लागि टोलीटोली आउँछन्। कतिपयले आफैँ भाँडाकुँडा, ग्यास लिएर आउँछन् त कतिले भने यहीँ हाम्रै भाँडाकुँडा तथा ग्यास प्रयोग गर्छन्।

राम्चेडाँडा नजिकै गुरुङ समुदायको बस्ती रहेको छाप गाउँ छ। विशेषगरी दसैँतिहार, अन्य बिदा तथा शुक्रबार र शनिबारका दिनहरूमा वनभोज खाने र दृश्यावलोकनका लागि मानिसहरू जाने गरेका छन्।

राम्चेडाँडामा कच्ची सडक पुगेकाले जीप तथा मोटरसाइकलमार्फत पुग्न सकिन्छ । केही दिनअघिमात्र राम्चेडाँडा पुगेका वालिङ–८ का जीवलाल काफ्लेले उक्त ठाउँ निकै आकर्षक र दृश्यावलोकनका लागि उपयुक्त रहेको बताए।

‘राम्चेडाँडा पुगेर आएकाहरूले त्यहाँका बारेमा भनेको सुनेको थिएँ’, उनले भने, ‘कहिले जाम्ला र देख्न पाइएला भन्ने थियो त्यहाँ गएपछि त साँच्चिकै राम्रो र आकर्षक लाग्यो।’ पछिल्लो समय राम्चेडाँडामा पूर्वाधार निर्माणसँगसँगै आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ।  रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad