ग्लोबल


बुर्का लगाएरै संसद्‌मा प्रवेश गरेपछि...

बुर्का लगाएरै संसद्‌मा प्रवेश गरेपछि...

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १९:५४, मेलबर्न

राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाइरहेका अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन बुर्का लगाएर संसद्को च्याम्बरमा प्रवेश गरेपछि मङ्गलबार यस वर्षभरका लागि संसद्‌बाट निलम्बन गरिएको छ।

मुस्लिम र आप्रवासनविरोधी विचारका लागि चर्चित वन नेसन पार्टीकी ७१ वर्षीया नेत्री ह्यान्सनले सोमबार आफ्नो ‘सार्वजनिक स्थानमा अनुहार ढाक्ने पहिरन प्रतिबन्ध’ सम्बन्धी प्रस्तावित विधेयकलाई सहकर्मीहरूले अस्वीकार गरेको विरोधस्वरूप टाउकादेखि खुट्टासम्म ढाकिने बुर्का लगाएर सिनेटमा प्रवेश गरेकी थिइन्। 

उक्त शैलीलाई सांसदहरूले अपमानजनक स्टन्टका रूपमा व्याख्या गर्दै उनलाई सोही दिनका लागि निलम्बन गरेका थिए। उनको माफी नआएपछि मङ्गलबार सिनेटले कडा निन्दा प्रस्ताव पारित गर्दै सात बैठक दिनका लागि लगातार संसद् प्रवेशमा प्रतिबन्ध लगाएको छ। यसलाई पछिल्ला दशकमा सिनेटरप्रति लागु गरिएको कडा कारबाहीमध्ये एक मानिएको छ।

सिनेट बिहीबारबाट वर्षभरका लागि स्थगन हुने भएकाले यो निलम्बन आगामी फेब्रुअरीमा संसद् पुनः सुरु नहुँदासम्म जारी रहनेछ। सिनेटबाट बाहिरिसकेपछि ह्यान्सनले पत्रकारहरूसँग कुरा गर्दै आफूलाई न्याय कसैले होइन, सन् २०२८ को आम निर्वाचनमा मतदाताहरूले गर्ने बताउँदै सिनेटका सहकर्मीहरूले गरेको कारबाहीलाई पाखण्डपूर्ण भएको टिप्पणी गरिन्। 

उनले संसद्‌मा कुनै औपचारिक ड्रेस कोड नभएको तर्क गर्दै ‘उहाँहरू बुर्कामा प्रतिबन्ध लगाउन चाहनुहुन्नथ्यो तर मलाई भने लगाउन नै दिइएन’ भनी प्रतिकिया दिइन्। 

ह्यान्सनले यसअघि सन् २०१७ मा पनि यस्तै शैलीमा बुर्का लगाएर संसद् प्रवेश गर्दा ठूलो विवाद भएको थियो, तर त्यतिबेला उनलाई कारबाही गरिएको थिएन। हालै फ्लोरिडामा आयोजित कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा सम्बोधन गरेकी उनीविरुद्ध यसपटक भने सिनेटले कडा र स्पष्ट कदम चाल्यो।

सिनेटमा सरकारी नेत्री, मलेसियामा जन्मिएकी तर गैरमुस्लिम पेनी वोङले निन्दा प्रस्ताव पेस गर्दै बुर्का लगाएर प्रस्तुत भएकी ह्यान्सनको शैलीले ‘सिङ्गो धर्मलाई उपहास र बदनाम गरेको’ आरोप लगाइन्। 

उनका अनुसार अस्ट्रेलियाको झण्डै दुई करोड ८० लाख जनसङ्ख्यामध्ये करिब १० लाख मानिस इस्लामी आस्थाको पालनामा छन्, जसको सम्मानमा प्रहार हुने व्यवहारले सामाजिक सद्‌भाव कमजोर पार्ने जोखिम राख्छ।

सिनेटकी सदस्य तथा पाकिस्तानमा जन्मिएकी मेहरीन फारुकीले आफू र अफगानिस्तानमा जन्मिएकी फातिमा पेमन मात्रै सिनेटमा मुस्लिम प्रतिनिधि रहेको बताउँदै ह्यान्सनको यस्तो शैलीले अस्ट्रेलियामा विद्यमान संरचनात्मक तथा प्रणालीगत जातीय विभेद उजागर गरेको टिप्पणी गरिन्। 

हिजाब लगाउने पेमन मङ्गलबार बोलिनन्, तर सोमबार ह्यान्सनको बुर्का प्रयोगलाई ‘अपमानजनक’ र ‘लाजमर्दो’ भन्दै कडा प्रतिक्रिया दिइन्। 

गत वर्ष एक न्यायाधीशले सामाजिक सञ्जालमा फारुकीलाई ‘आफ्नो देश फर्क’ भन्ने शैलीमा गरेको टिप्पणी जातीय भेदभावविरोधी कानुनको उल्लङ्घन भएको ठहर गर्दै ह्यान्सनविरुद्ध फैसला सुनाएक थिए। 

ह्यान्सनले हाल सो फैसलाविरुद्ध अपिल गरिरहेकी छन्।

अस्ट्रेलियन फेडेरेसन अफ इस्लामिक काउन्सिलका अध्यक्ष रतेब जिनेदले विज्ञप्ति जारी गर्दै ह्यान्सनको कार्यलाई ‘मुस्लिम, आप्रवासी तथा अन्य अल्पसङ्ख्यक समुदायलाई निरन्तर बदनाम गर्ने प्रवृत्तिको हिस्सा’ भएको दाबी गरे। 

सन् १९९६ मा आफ्नो पहिलो संसदीय भाषणमै अस्ट्रेलिया ‘गैरभेदभावपूर्ण आप्रवासन नीतिका कारण एसियालीहरूले भरिने जोखिममा छ’ भन्ने विवादास्पद अभिव्यक्तिका कारण आलोचित ह्यान्सनले यसपटकको कदमले पुनः जातीय र धार्मिक संवेदनशीलताका विषयमा राष्ट्रिय बहस चर्काएको छ। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad