आन्ध्र प्रदेश प्रहरीको गुप्तचर विभागका अतिरिक्त डीजीपी महेश चन्द्र लड्डाले भारतीय माओवादी नेता माधवी हिडमा मारिएको बताएका छन्।
उनले मंगलबार सञ्चारमाध्यमसँग कुरा गर्दै भारतीय माओवादी नेता हिडमा मारिएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।
हिडमा सीपीआई (माओवादी) का एक प्रमुख व्यक्ति थिए। ५१ वर्षीय उनलाई प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेको थियो।
महेश चन्द्र लड्डाले हिडमासँगै उनकी श्रीमतीको शव पनि बरामद भएको बताएका छन्।
प्रहरीले मंगलबार बिहान आन्ध्र प्रदेशको मारेदुमिल्ली वन क्षेत्रमा प्रहरीसँगको मुठभेडमा हिडमा मारिएको बताएको छ।
प्रहरीले आन्ध्र प्रदेशको अल्लुरी सीतारामराजु जिल्लाको मारेदुमिल्ली नजिकै मंगलबार बिहान ६ देखि ७ बजेको बीचमा सुरक्षा बल र माओवादीबीच मुठभेड सुरु भएको बताएको छ।
सरकारी तथ्यांकअनुसार, माओवादीको सबैभन्दा बलियो सैन्य एकाइ बटालियन १ का कमान्डर हिडमाले २०१० मा ७६ सैनिकको मृत्यु भएको दन्तेवाडा आक्रमण, २०१३ मा कंग्रेस नेतृत्वमाथि भएको आक्रमण र २०१७ र २०२१ मा सुरक्षा बलमाथि भएको आक्रमणमा प्रमुख भूमिका खेलेका थिए।
हिडमा १९९६-९७ मा माओवादी संगठनमा सामेल भएका थिए, जतिबेला उनी केवल १७ वर्षका मात्र थिए। हिडमाका अन्य दुई नाम पनि छन्: हिडमल्लु र सन्तोष।
Shares

प्रतिक्रिया