बंगलादेशले हाल भारतमा बसोबास गरिरहेका पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमलको सुपुर्दगीको माग गरेको छ।
बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले सोमबार मात्र हसिना र खानविरुद्ध मृत्युदण्डको सजाय सुनाएको छ।
यसपछि बंगलादेशको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले फरार शेख हसिना र असदुज्जमान खान कमललाई दोषी ठहर्याएको छ।’
विज्ञप्तिमा मानवताविरुद्धको अपराधमा दोषी ठहरिएका यी व्यक्तिहरूलाई शरण दिने कुनै पनि देशले मित्रवत व्यवहार र न्यायको गम्भीर अवहेलना गरेको ठहर्ने उल्लेख गरिएको छ।
बंगलादेशको विदेश मन्त्रालयले अगाडि जोड दिँदै भनेको छ, ‘हामी भारत सरकारसँग दुवै दोषी तुरुन्तै बंगलादेशी अधिकारीहरूलाई सुम्पन माग गर्दछौँ। यो दुई देशहरू बीचको सुपुर्दगी सन्धिअन्तर्गत भारतको दायित्व हो।’
बंगलादेशले आधिकारिक रूपमा शेख हसिना फिर्ताका लागि अनुरोध गर्ने धेरै पत्र पठाइसकेको छ। तर भारतले अहिलेसम्म यसको कुनै जवाफ दिएको छैन।
पत्रकारहरूको प्रश्नहरूको जवाफ दिँदै बंगलादेशका विदेश मामिला सल्लाहकारले भने, ‘बंगलादेशले उनलाई फिर्ताका लागि अनुरोध गर्ने बारम्बार पत्र पठाएको छ, तर भारतबाट कुनै सकारात्मक प्रतिक्रिया प्राप्त भएको छैन।’
बंगलादेशमा सन् २०२४ अगस्ट ५ का दिन विद्यार्थी नेतृत्वको विद्रोह उग्र बनेपछि हसिना १५ वर्षे लामो शासन सत्ता त्याग्दै हेलिकप्टर चढेर देशबाटै भागेकी थिइन्। त्यसयता उनी भारको शरणमा छिन्।
त्यसबेला विद्यार्थी आन्दोलनमा हसिना नेतृत्वको तत्कालीन सरकारले बल प्रयोग गर्दा झन्डै १ हजार ४ सय जना मारिएका थिए।
Shares

प्रतिक्रिया