बिहार चुनावको नतिजा आएलगत्तै भारतीय जनता पार्टी (भाजपा) ले पूर्वकेन्द्रीय मन्त्री तथा आराका पूर्वसांसद आरके सिंहलाई पार्टीबाट निलम्बन गरेको छ।
भाजपाको बिहार राज्य मुख्यालयले आरके सिंहका विषयमा जारी गरेको पत्रमा भनिएको छ, ‘तपाईंका गतिविधि पार्टीविरुद्ध छन्। यो अनुशासनको दायराभित्र पर्छ। पार्टीले यसलाई गम्भीरतापूर्वक लिएको छ। यसले पार्टीलाई हानि पुर्याएको छ।’
आरके सिंहलाई पार्टीबाट निलम्बन गर्दै भाजपाले निष्कासन नै किन नगर्ने भनेर पनि सोधेको छ। उनलाई यस विषयमा स्पष्टीकरण दिन एक हप्ताको समय दिइएको छ।

आरके सिंहले धेरै दिनदेखि एनडीए नेतृत्व, उम्मेदवार र बिहार सरकारविरुद्ध गम्भीर आरोप लगाइरहेका थिए।
उनले गठबन्धनका केही उम्मेदवारको विश्वसनीयतामा प्रश्न उठाउँदै सार्वजनिक मञ्चबाटै ‘यस्ता मानिसहरूलाई भोट दिनुभन्दा एकमुठी पानीमा डुबेर मर्नु राम्रो हो’ भनेका थिए।
आरके सिंहका साथै भाजपाले बिहार विधान परिषद् सदस्य अशोक अग्रवाल र कटिहार मेयर उषा अग्रवालविरुद्ध पनि कारबाही गरेको छ। उनीहरूलाई पनि पार्टीबाट निलम्बन गरिएको छ र किन पार्टीबाट निष्कासन नगरिने भनेर सोधिएको छ।
शुक्रबार मात्र नतिजा घोषणा गरिएको बिहार चुनावमा सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले २०२ सिट जित्दा कंग्रेस नेतृत्वको महागठबन्धन तथा राष्ट्रिय जनता दल (आरजेडी) भने ३४ सिटमा सीमित भएका छन्। अन्य दलले ७ सिट जितेका छन्।
बिहार चुनावका कारण पूर्वमुख्यमन्त्री लालु यादवको परिवारमा पनि भाँडभैलो मच्चिएको छ।
Shares

प्रतिक्रिया