मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भड्किँदै गएको राजनीतिक आन्दोलनमा भारतको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका छन्।
शनिबार जनकपुरमा मधेसवासीलाई सम्बोधन गर्दै उनले वीरगञ्जस्थित भारतीय काउन्सिलर कार्यालयका प्रतिनिधिहरू दलसँग प्रत्यक्ष संवाद गर्दै आन्दोलन उक्साउने गतिविधि गरिरहेको दाबी गरे।
यादवको दाबी अनुसार भारतीय पक्षले मधेसका दलहरूलाई फुटाउने र जोड्ने किसिमका धम्कीपूर्ण गतिविधि गर्दै आएको छ, जसले प्रदेशको राजनीतिक वातावरणलाई अस्थिर बनाएको छ। उनले भने, ‘काउन्सिलर अफिसका प्रतिनिधिहरू सिधै आएर दललाई फुटाइदिन्छु, जुटाइदिन्छु भन्ने किसिमका धम्की दिएका छन्, जसले सहमति हुने र भंग हुने चक्रलाई तीव्र बनाइरहेको छ।’
मुख्यमन्त्री यादवले आफूलाई समेत सुरक्षा चुनौती बढेको बताउँदै आन्दोलनकारीले आफूलाई लक्षित गरेको दाबी गरे। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा व्यवस्था रहे पनि सुरक्षा निकायले आफूलाई सीमित कार्यक्रम गर्न सुझाउने अवस्था आएको उनले खुलासा गरे।
‘म सुरक्षित छैन भने अन्य माननीय र दलका नेताहरू कसरी सुरक्षित हुन्छन्?’ भन्दै यादवले आन्दोलनकारीबाट आक्रमणको सम्भावनाबारे चेतावनीसमेत दिए। उनले भारतको दबाबका कारण आन्दोलनकारी दलसँग वार्ता गर्ने वातावरण नै बन्न नसकेको टिप्पणी गरे।
यादवले आन्दोलनरत दलहरूलाई माग सम्बोधनका लागि संवादमै आउन आग्रह गर्दै आफू संवैधानिक प्रक्रियामार्फत सरकारको नेतृत्वमा आएको दाबी दोहोर्याए।
Shares

प्रतिक्रिया