इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आफ्नो देश र अमेरिकाबीच 'आधारभूत असंगति र स्वार्थको द्वन्द्व' रहेको तर केही सर्त पूरा भए दुई देशबीच सहकार्य सम्भव रहेको बताएका छन्।
बीबीसीका अनुसार इरानको राजधानी तेहरानमा अमेरिकी दूतावास कब्जाको वार्षिकोत्सवमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै खामेनीले आफ्नो देश र अमेरिकाबीच सहकार्यका लागि तीन सर्त प्रस्तुत गरेका हुन्।
उनले भने, ‘यदि अमेरिकाले यहुदी शासन (इजरायल) लाई समर्थन पूर्ण रूपमा त्याग्छ, यस क्षेत्रबाट आफ्ना सैन्य अड्डाहरू फिर्ता लान्छ र यसको मामिलामा हस्तक्षेप गर्न बन्द गर्छ भने यस (सहकार्य) मा विचार गर्न सकिन्छ।’
खामेनीको टिप्पणी यस्तो बेला आएको हो, जतिबेला अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमा दबाब बढाउन निरन्तर प्रयास गरिरहेको छ।
यद्यपि खामेनीले इरानसँग सहकार्यका लागि अमेरिकाको अनुरोधलाई तुरुन्तै कार्यान्वयन नगरी पछि विचार गरिनेमा जोड दिएका छन्।
ट्रम्पको दाबीपछि खमेनीको टिप्पणी
खमेनीको भाषणको केही घण्टाअघि अमेरिकाका राष्ट्रपति ट्रम्पले एक अन्तर्वार्तामा इरान अमेरिकासँग सम्झौता गर्न खोजिरहेको दाबी गरेका थिए।
‘अवश्य पनि उनीहरूले त्यसो भन्दैनन् र उनीहरूले त्यसो गर्नु हुँदैन। कुनै पनि राम्रो वार्ताकारले त्यसो भन्ने छैन। तर इरानले सम्झौतामा पुग्न सक्दो प्रयास गरिरहेको छ’, ट्रम्पले अमेरिकी नेटवर्क र बीबीसी सम्बद्ध सीबीएससँग भनेका छन्।
यद्यपि बीबीसी फारसी सेवाका अनुसार, इरानका मन्त्री र विदेश मन्त्रालयका प्रवक्ताले हालैका दिनहरूमा अमेरिकासँग वार्ता हुन सक्ने कुनै पनि कुरा भन्न अस्वीकार गरेका छन्।
यसअघि धेरै जना अमेरिकी अधिकारीले इरानसँग सहकार्य गर्न इच्छा प्रकट गरिसकेका छन्।
१९७९ नोभेम्बर ४ मा तेहरानमा अमेरिकी दूतावास कब्जा गरिएको वार्षिकोत्सवमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै खमेनीले भने, ‘अमेरिका मुर्दावाद नाराका कारण अमेरिका इरानी जनताप्रति शत्रुतापूर्ण छ भनी दाबी गर्नेहरूको भनाइले वास्तवमा इतिहासलाई विकृत गरिरहेको छ।’
उनले थपे, ‘यो नारा अमेरिकाले हाम्रो देशको विरोध गर्नुको कारण होइन। अमेरिका र इरानबीच आधारभूत असंगति र स्वार्थको द्वन्द्व छ।’
उनले अगाडि भने, ‘अमेरिकाको अहंकारी स्वभावले आत्मसमर्पणबाहेक अरू केही स्वीकार गर्दैन। सबै अमेरिकी राष्ट्रपतिले यही चाहेका थिए, तर उनीहरूले भनेनन्। तर वर्तमान राष्ट्रपतिले यो भने र वास्तवमा अमेरिकाको भित्री कार्यशैली उजागर गरे।’
इरानका सर्वोच्च नेताले इरानले आत्मसमर्पण गर्नुपर्छ भन्ने विचार अर्थहीन भएको बताए।
उनले भने, ‘जहाँसम्म टाढाको भविष्यको कुरा छ, त्यतिबेला के हुन्छ भनेर कसैले भन्न सक्दैन, तर वर्तमानमा सबैले बुझ्नुपर्छ- हाम्रा धेरै समस्याको समाधान बलियो हुनुमा निहित छ।’
खामेनीले आफ्नो भाषणमा इरान र संयुक्त राज्य अमेरिकाबीचको वार्ताबारे सिधा रूपमा उल्लेख गरेनन्, तर उनले अमेरिका र इरानबीच कुनै रणनीतिक वा व्यक्तिगत मतभेद नभएको बरु यो भिन्नता दुई देशबीचको सम्बन्धमा अन्तर्निहित रहेको बताए।
अमेरिका–इरान वार्ता
अमेरिका र इरानबीच मध्यस्थता गरिरहेका ओमान र कतारले पुन: दुवै देशलाई वार्ताको टेबलमा फर्किन आह्वान गरेका छन्।
कतारी नेटवर्क अल जजिरासँगको अन्तर्वार्तामा इरानका विदेशमन्त्री अब्बास अराघचीले भनेका छन्, इरान वार्ता गर्न हतारमा छैन।
उनले आफ्ना उपमन्त्री माजिद तख्त-रवान्चीले हालै गरेको ओमान भ्रमण र अमेरिकाबीच कुनै सम्बन्ध नरहेको र यस सम्बन्धमा कुनै सन्देश आदानप्रदान नगरिएको बताएका छन्।
गत महिना मात्र ट्रम्पले इरानले सहमति जनाए मात्र अमेरिका सम्झौता गर्न इच्छुक रहेको बताएका थिए। उनले भनेका थिए, ‘मित्रता र सहयोगको हात सधैँ बढाइन्छ।’
अमेरिका र इरानले आणविक प्रतिष्ठानबारे पाँच चरणको वार्ता गरिसकेका छन्। यद्यपि छैटौँ चरणको वार्ताको दुई दिनअघि यस वर्ष जुनमा इजरायल र त्यसपछि अमेरिकाले इरानमा आक्रमण गरे।
ती वार्ताहरूमा उपस्थित इरानका उपविदेशमन्त्री मजिद तख्त रवान्चीले गत हप्ता भनेका थिए, ‘ट्रम्पले खामेनीलाई पत्र लेखेका थिए, जसमा भनिएको थियो- वार्ताका ६० दिनभित्र कि सम्झौतामा पुगिनेछ कि युद्ध हुनेछ।
अमेरिका इरानले युरेनियम संवर्धन रोक्नुपर्ने अडान राख्छ। तर इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको जिकिर गर्दै युरेनियम संवर्धन नरोकिने बताएको छ।
सीबीएससँगको एक अन्तर्वार्तामा ट्रम्पले अमेरिकी हवाई आक्रमणपछि इरानसँग आणविक क्षमता नष्ट भएको विश्वास आफूलाई लागेको बताएका छन्।
अमेरिकाको आक्रमणबाट भएको क्षतिबारे इरानी विदेशमन्त्रीले भने, ‘क्षति धेरै भएको छ। भवनहरू ध्वस्त भएका छन्। हाम्रा उपकरण र मेसिनरी ध्वस्त भएका छन्। तर प्रविधि नष्ट भएन। बमले प्रविधि नष्ट गर्न सकिँदैन।’
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले हालै इरानको आणविक ऊर्जा केन्द्र भ्रमणका क्रममा ‘सरकारले आणविक क्षमता सुदृढीकरणलाई दृढतापूर्वक समर्थन गर्ने’ बताएका थिए।
उनले जोड दिएका थिए, ‘आक्रमण गरिएका आणविक पूर्वाधार पुनर्निर्माण गर्न सम्भव छ।’
Shares

प्रतिक्रिया