ग्लोबल


इरान युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब अमेरिकी डलर

इरान युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब अमेरिकी डलर

नेपालखबर
चैत ५, २०८२ बिहिबार १०:३४, काठमाडौँ

अमेरिकाको रक्षा विभाग (पेन्टागन) ले इरानविरुद्ध युद्धका लागि राष्ट्रपतिको कार्यालय (ह्वाइट हाउस) सँग ठुलो मात्रामा रकम मागेको छ।

अंग्रेजी अखबार वासिङ्टन पोस्टले अमेरिकाका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै पेन्टागनले इरान युद्धका लागि २०० अर्ब अमेरिकी डलरभन्दा बढी बजेट स्वीकृतिका लागि अनुरोध गरेको उल्लेख गरेको छ। 

अखबारले लेखेको छ, ‘माग गरिएको रकम इरानमा हालसम्म सञ्चालित अभियानमा लागेको लागतभन्दा धेरै बढी हो, यसको उद्देश्य खर्च भइसकेका हतियारको उत्पादन तुरुन्तै बढाउनु हो।’ 

बितेका दुई हप्तामा पेन्टागनले कोषका लागि कैयौँ अलग-अलग धेरै अनुरोध पेस गरेको बताइएको छ।

वासिङ्टन पोस्टले लेखेको छ, ‘पछिल्लो अनुरोधले संसद्‌मा ठुलो राजनीतिक लडाइँ सुरु गर्न सक्छ।’

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ। 

बदलामा इरानले इजरायलका साथै अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा पनि ड्रोन/क्षेप्यास्त्र प्रहार गर्दा मध्यपूर्वभरि युद्ध फैलिएको छ। 

यसैबिच इजरायलले मंगलबार मात्र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको पनि हत्या गरेको छ।

यसपछि आक्रोशित इरानका सैन्य प्रमुख अमिर हतामीले यसको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।

इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।

तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाएको छ।

इजरायलले अब उनलाई पनि मारिने धम्की दिएको छ।

यसैबिच बुधबार इजरायलले इरानस्थित विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्समा आक्रमण गरेपछि जवाफमा इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा हमला गरेको छ। जसका कारण कतारलाई ठुलो क्षति पुगेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad