ग्लोबल


नेपाली खाना अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउँदै सन्तोष बने बिबिसी मास्टर सेफको उपविजेता

नेपाली खाना अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउँदै सन्तोष बने बिबिसी मास्टर सेफको उपविजेता

प्रजय शुक्ल
पुस ३, २०७७ शुक्रबार १:१९,

नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बनेका छन्। नेपाली खानालाई विश्वसामु परिचित गराउँदै साह प्रतियोगितामा उपविजेता बनेका हुन्।

प्रतियोगिताको ग्रयाण्ड फाइनलमा पाल्पाली ढाकाटोपीमा सजिएका सन्तोषले अन्तरर्राष्ट्रिय स्तरको प्लेटफर्ममा नेपाली खानालाई परिचित गराएका छन्। उनले प्रतियोगितामा नेपाली खानालाई विश्वसामु परिचित गराएर नेपाल र नेपालीको शिर उचो बनाए।

प्रतियोगिताको उपाधि बेलायतकै २५ वर्षीय आलेक्स वेबलले जितेका छन् । तर आफनो अद्भूत सीप देखाउँदै सन्तोषले आम नेपालीको मन जितेका छन् । र आफनो सौम्य र मिजासिला व्यवहारले गर्दा लाखौं बेलायतीहरुलेसमेत उनको प्रशंसा गरेका छन्।

santos 1

मास्टर सेफ प्रोफेसनल्स् २०२० को उपविजेता बनेपछि नेपालखबरसँग कुराकानी गर्दै साहले नेपाल र नेपाली खाना र स्वादलाई विश्वमाझ चिनाउन पाएकोमा गर्व महसुुस भएको बताए। उनले भने, ‘म आज ज्यादै खुशी छु । मेरो यो सफलता मेरी आमा र नेपाल आमालाई समर्पित गर्न चहान्छु।’

प्रतियोगिताको कठिन प्रतिस्पर्धात्मक क्षणलाई सम्झँदै उनी भावुक भए । उनले भने, ‘सबैको मन जितेर नेपाल र नेपालीको नाम उच्च राख्न सकेको महसुश भएको छ। जिवनमा यो भन्दा ठूलो खुशी र सफलता के नै हुन्छ र?’

सिराहाको कर्जन्हामा जन्मेका साह विगत २० वर्षदेखि सेफका रुपमा कार्यरत छन्। उनी बेलायतमै बसेर सेफको रुपमा काम गरेको पनि १० वर्ष भइसकेको छ। उनी भन्छन्, ‘कुनै दिन नेपाली खानालाई अझै परिष्कृत गर्दै देखाउने मनको चाहना थियो, त्यो अवसर आज मलाई यो प्रतियोगिाताले दियो।’

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा सजाएर पस्किएका थिए। खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि सर्भ गरेका थिए।

santos 3

प्रतियोगितामा उनले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचार लगायतका थुप्रै मौलिक नेपाली परिकार बनाएर विश्वभरका लाखौं नेपालीको मन जितेका छन्।

फाइनल प्रतियोगितको दोस्रो चरणमा उनको आत्मिय प्रस्तुतीले बेलायतीहरुलाई निकै भावुक बनाएको थियो । आफनो परिकार आफनी प्रिय आमालाई सपर्पित गर्दे सन्तोषले आफना बाल्यकालका तितामीठा संझनाहरुलाई गहभरी आशु पार्दै पोखेका थिए।

santos 4

उनले आफू १२ वर्षको उमेरमा नहर खन्न जाँदा आमाले टिफिन बट्टामा खाजा बोकेर आएको मिठो संझनाले फाइनल राउण्डको परिकार बनाउन प्रेरित गरेको बताए। रंगिन टिफिन बट्टामा झनै रंगिन नेपाली मौलिक खाना पस्कदै निर्णायकहरुको मन जित्न सफल भए।

santos 2

एकजना निर्णायकले त सन्तोषले बनाएको खान पाउँदा आफू धन्य भएको समेत बताइन् । अर्काले भने, ‘सन्तोष तिम्री आमा यहाँ भएको भए आज म गर्वले अंगालो हाल्थें।’

उनले आमालाई सम्झँदै भने, ‘मेरो बाल्यकाल धेरै दुःख र गरिबीमा बित्यो। अब म ती दिनहरु फेर्न चहान्छु, मेरी आमालाई सुख दिन चाहन्छु।’ साच्चै नै सेफ सन्तोषले नेपाल नेपालीको शानलाई विश्वसामु चिनाएका छन् । उनलाई हामी सबैको तर्फबाट धेरै धेरै शुभकामना!

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad