यही महिनाको एक दिन किभनजिकैको एउटा कारखानामा डेनिस स्टिलरम्यानले ड्रोनहरूको निरीक्षण गरे। तिनै ड्रोनले युक्रेन युद्धको दिशा परिवर्तन गरिरहेका छन्।
स्टिलरम्यान फायर प्वइन्ट नामक कम्पनीका सहसंस्थापक हुन्। जसले एक दिनमा ३०० हाराहारी एफपी–१ र एफपी–२ ड्रोन उत्पादन गर्छ। सो ड्रोनको मूल्य प्रतिगोटा ५० हजार युरो पर्न आउँछ। लामो र मध्यम दुरीमा प्रहार गर्ने ड्रोनले हरेक दिनजसो रुसलाई निसाना बनाइरहेको छ। युद्धमा युक्रेनको नाजुक स्थितिलाई ड्रोनले नै उल्ट्याइदिएको छ।
अमेरिकाबाट सहायता घट्दै गए पनि युक्रेनले लडाइँको मैदानमा रुसी अग्रतालाई धिमा तुल्याउनुका साथै ड्रोनमार्फत युद्धलाई रुसको भित्री भागसम्म पुर्याइरहेको छ।
‘हामी रुसी विमानस्थलनजिक एम्बुस थापेर बस्छौँ, विमान आउन्जेल पर्खेर बस्छौँ अनि अचानक विमान ध्वस्त पार्छौं,’ फाइनान्सियल टाइम्सले स्टिलरम्यानको भनाइ उधृत गरेको छ।
केही महिनाअघिसम्म युक्रेनको मनोबल निकै गिरेको थियो। तर, अहिले उनीहरूमा अहिले निकै आत्मविश्वास पलाएको छ।
‘यो महिनामा केही परिवर्तन भएको छ, जसले स्थिति हाम्रो पक्षमा ल्याएको छ, युक्रेनको पक्षमा ल्याएको छ,’ गत साता राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भनेका थिए।
स्टिलरम्यानको कम्पनीले उत्पादन गरेको ड्रोन सयौँ किलोमिटर उडेर मस्कोसम्म पुग्छ र त्यहाँ विस्फोट गराउँछ।
नेटोका लागि युक्रेनी दूत अल्योना गेट्मान्चुक युद्ध सुरु भएयता युक्रेन सबैभन्दा बलियो अवस्थामा पुगेको बताउँछिन्। साझेदारहरूसँग निर्भरता घटेको उनको भनाइ छ।
युक्रेनी सैन्य अधिकारी र पश्चिमा विज्ञहरू पनि ट्रम्प राष्ट्रपति बनेयता युक्रेन सबैभन्दा बलियो स्थितिमा रहेको विश्लेषण गर्छन्। खासगरी यो वर्ष कल्पनै गर्न नसकिने परिमाणमा ड्रोन उत्पादन बढेको छ। ड्रोनले युक्रेनको सैन्य जनशक्ति अभाव झेल्न सहयोग पुगेको छ।
नाजी जर्मनीविरुद्धको विजयको स्मृतिमा मे ९ मा मस्कोमा आयोजित परेडअगाडि रुसी अधिकारीहरू असाधारण रुपमा असहज देखिए। परेडको बेला युक्रेनले मस्कोको रेड स्क्वायरमा आक्रमण गर्ने अनुमान गरी सुरक्षा कडा गरिएको थियो। र, परेडको आकार पनि सानो बनाइयो, जसमा पैदल सैनिक मात्र सहभागी भए।
परेडअघि जेलेन्स्कीले रुसको मजाक उडाउँदै त्यसको ‘अनुमति’ दिए र त्यो दिन मस्कोमा नहान्ने वाचा गरे। दिनहुँजसो हुने युक्रेनी ड्रोन आक्रमणले रुसी जनसंख्यामा आक्रोश बढाएको छ।
‘सबैजना आक्रोशित छन्। यो भयंकर प्रलय हो भन्नेमा सबै सहमत छन्। जसरी हुन्छ, यसको समाधान जरुरी छ,’ एक रुसी व्यवसायीले भने। उनले भ्लादिमिर पुटिन अलोकप्रिय हुँदै गएको बताए।
वसन्त सुरु भएसँगै लडाइँको अवस्था सहज हुनुपर्नेमा ड्रोनका कारण रुसी सेनाले कठिनाइ झेल्नुपरिरहेको छ।
युुक्रेनी रक्षामन्त्री मिखाइलो फेदोरोबले प्रतिमहिना ३५ हजार रुसी सैनिक घाइते र मारिने गरेको दाबी गरे। उनका अनुसार रुसले पाँच महिनायता प्रतिमहिना २९ हजार ५०० नयाँ सैनिक भर्ती गरिरहेको छ। प्रतिमहिना ५० हजार रुसी सैनिकलाई लडाइँबाट फिर्ता गराउन सक्ने हो भने त्यो निर्णायक हुने उनको भनाइ छ।
युद्ध सुरु भएयता १२ लाख रुसी सैनिक घाइते वा मारिएको युक्रेनी दाबी छ। पश्चिमाहरूको अनुमानअनुसार युक्रेनले पनि ५ देखि ६ लाख सैनिक गुमाएको छ। तर, दुवै पक्षले वास्तविक संख्या खुलासा गरेका छैनन्।
पछिल्लो समय ईयूले ९० अर्ब युरो ऋण दिएपछि युक्रेनले त्यो रकम आफ्नै हतियार उत्पादनमा खर्चिरहेको छ। ड्रोन, तोप र क्षेप्यास्त्र उत्पादन बढाएको छ।
सैन्य विश्लेषक फ्रान्ज स्टेफान गादीका अनुसार युक्रेनको स्थिति गतवर्षको भन्दा राम्रो छ भने रुसको समस्या प्रणालीगत बन्दै गएको छ। रुस भने शरद ऋतुसम्ममा सिंगो दोनबास कब्जा गरिसक्ने अपेक्षामा छ। ऊ निरन्तर अघि पनि बढिरहेको छ।
युक्रेनले तेल र ग्यास भण्डारहरूमा बढाएको आक्रमणले रुसलाई समस्यामा पारेको छ। युक्रेन युद्धको निगरानी गरिरहेका तीन वटा संस्थाहरू डिप स्टेट, ब्ल्याक बर्ड ग्रुप र इन्स्टिच्युट फर द स्टडी अफ वारले पछिल्लो समय युक्रेनी भूमि कब्जा गर्ने रुसको गति कम भएको बताएका छन्। गत महिना रुसको उपलब्धि जम्मा ९४ वर्ग किमि मात्र रहेको बताइएको छ। जुन दुई वर्षयताकै कम हो।
विज्ञहरू भने अहिले नै युद्ध युक्रेनको पक्षमा ढल्किसकेको निष्कर्षमा पुग्न हतार हुने बताउँछन्। क्षति बढी भए पनि रुससँग जनशक्ति र स्रोतसाधन ज्यादा छ। हालै मात्र रुसले किभका केन्द्रहरूमा आक्रमण गर्ने भन्दै विदेशी दूतावासहरू खाली गर्न भनेको छ।
उता युक्रेनका लागि हतियार किन्ने पहलमा सहभागी भएका १८ देशको संख्या घटेर ९ मा झरेको छ।
‘अबको केही महिनाको लडाइँले युक्रेनको रणनीति सफल हुँदैछ कि छैन भन्ने पुष्टि गर्नेछ। ड्रोन युद्धमा गुणात्मक रुपले उसको हात माथिबाट छ तर अरु सबै क्षेत्रमा परिमाणात्मक रुपले रुसको हात माथि छ,’ गादी भन्छन्, ‘यदि रुसले नयाँ वातावरणमा अनुकूलन गर्यो भने युद्धमोर्चाको अवस्था बर्खासम्ममा अलग हुन्छ।’ एजेन्सी
Shares

प्रतिक्रिया