अमेरिकाको वासिङ्टनस्थित ह्वाइट हाउस (राष्ट्रपति कार्यालय) नजिकै शनिबार साँझ गोली चलेको छ।
लगत्तै गुप्तचर सेवाको टोलीले जवाफी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।
घटनाका बेला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि ह्वाइट हाउस भित्रै थिए। ह्वाइट हाउसभित्र रहेका पत्रकारहरूले स्थानीय समयअनुसार साँझ ६ बजेतिर गोली चलेको बताएका छन्।

अमेरिकी गुप्तचर सेवाको विज्ञप्तिअनुसार, एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्युनजिकै गोली चलाएका थिए।
त्यसपछि गुप्तचर सेवाका अधिकारीहरूले जवाफी गोली हाने। गोली लागेर घाइते भएका सन्दिग्धलाई अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरे।
त्यस क्रममा एक यात्रुलाई पनि गोली लागेको हो। उनी घाइते छन्।
कुनै पनि अमेरिकी अधिकारी भने घाइते भएका छैनन्।
स्रोतहरूले सीबीएस न्युजलाई बताएअनुसार ‘१५ देखि ३० गोली चलाइएको थियो। एक व्यक्तिले गुप्तचर सेवाका एजेन्टहरूकहाँ पुगेर उनीहरूमाथि गोली चलाएको थियो, तर उनी असफल भए। त्यसपछि एजेन्टहरूले जवाफी फायर गरे।’
एफबीआई निर्देशक काश पटेलले भनेका छन्, गुप्तर सेवाले सेवाले घटनाको अनुसन्धान गरिरहेको छ।
राष्ट्रपति ट्रम्पले घटनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् भने आक्रमणकारीबारे थप जानकारी पनि दिइएको छैन।
एक महिनाअघि मात्र ह्वाइट हाउस संवाददाताको डिनरमा गोली चलेको थियो। त्यसबेला सन्दिग्ध आक्रमणकारीलाई पक्राउ गरिएको थियो।
Shares

प्रतिक्रिया