अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा थप १० हजार सैनिक पठाउने योजना बनाइरहेका छन्।
अंग्रेजी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार मध्यपूर्वमा तैनाथ ५ हजार अमेरिकी सैनिकमा १० हजार जना थप्न लागिएको हो।
उक्त सैन्य टोलीमा पैदल सेना र बख्तरबन्द गाडी समावेश हुने सम्भावना छ।
वाल स्ट्रिट जर्नलको रिपोर्टमा अगाडि भनिएको छ, ‘सम्भावित तैनाथीको उद्देश्य थप सैन्य विकल्प सिर्जना गर्नु हो। यो त्यस्तो बेला भइरहेको छ जतिबेला ट्रम्प इरानसँग शान्ति वार्ता गर्ने विचार गरिरहेका छन्।’
तर ती सैनिक स्थानीय रूपमा कहाँ तैनाथ गरिनेछ भन्ने कुरा स्पष्ट भइसकेको छैन।
यसैबिच इरानले पनि १० लाख भन्दा बढी स्थल सेना तैनाथ गरेको दाबी गरेको छ।

इरानी सञ्चारमाध्यमले अमेरिकाले स्थल आक्रमण गर्न सक्ने अनुमान गरेका छन्।
तर यसबिच अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानका ऊर्जा प्रतिष्ठानमा आक्रमण थप १० दिनका लागि स्थगन गरिएको पनि बताएका छन्।
उनले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘यो निर्णय इरानको अनुरोधमा गरिएको हो र नयाँ समयसीमा अप्रिल ६ का लागि तोकियो।’
ट्रम्पले आक्रमण स्थगन गरेको यो एक हप्ताभित्र दोस्रोपटक हो।
यसअघि उनले एक हप्तासम्म आक्रमण नगर्ने भनेका थिए। जुन मिति आज (शुक्रबार) सकिएको छ।
ट्रम्पका अनुसार अब आगामी अप्रिल ६ राति ८ बजे (अमेरिकी समय) सम्म इरानी ऊर्जा प्लान्टमा आक्रमण गरिने छैन।
उनले दुई देशबिच जारी वार्तालाई निरन्तरता दिन यो निर्णय गरिएको बताएका छन्।
ट्रम्पले अमेरिका र इरानबिच वार्ता धेरै राम्रोसँग अगाडि बढिरहेको दाबी पनि गरेका छन्।
वर्तमान अवस्थालाई ध्यानमा राख्दै यसलाई कूटनीतिक समाधानतर्फको महत्त्वपूर्ण कदम मानिएको छ।
उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु भने इरान–अमेरिका सम्झौता सम्भावनाले संकटमा परेका छन्।
Shares

प्रतिक्रिया