ग्लोबल


इरान–अमेरिका सम्झौता सम्भावनाले संकटमा नेतन्याहु

इरान–अमेरिका सम्झौता सम्भावनाले संकटमा नेतन्याहु

नेपालखबर
चैत १२, २०८२ बिहिबार १५:१२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग वार्ता भइरहेको दाबी गरे पनि मध्यपूर्वका दुई कट्टर शत्रु इरान र इजरायलबिच हानाहान जारी छ। 

सोही कारण ट्रम्पको भनाइप्रति विभिन्न अड्कलबाजी भइरहेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकाले यसअघि पनि सैन्य हमलाका लागि वार्तालाई आवरण बनाएको उदाहरण छ। 

यसबिच अमेरिकाले हजारौँ सैनिक मध्यपूर्वमा पठाइरहेको खबर पनि आएको छ। 

तर इजरायलमा केही मानिस वार्ताको चर्चा गर्नु अमेरिकाका राष्ट्रपति ट्रम्प युद्धबाट बाहिर निस्कने बाटो खोजिरहेको संकेत भएको ठान्छन्।

यस्तै इजरायल र यसको शक्तिशाली सहयोगी अमेरिकाका लक्ष्य पनि अब अलग हुन थालेको संकेत पनि पाइएको छ।

के चाहन्छन् नेतन्याहु?

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु

इजरायलका पूर्वसैन्य गुप्तचर अधिकारी तथा तेल अभिभ विश्वविद्यालयको प्यालेस्टिनी अध्ययन केन्द्रका प्रमुख माइकल मिलस्टाइनका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहु कुनै सम्झौता चाहँदैनन्।

बीबीसीसँग उनी भन्छन्, ‘ट्रम्प र नेतन्याहुको अडानबिच एक प्रकारको द्वन्द्व छ।’

उनी थप्छन्, ‘नेतन्याहु युद्ध जारी राख्न चाहन्छन्। उनले यो युद्धले इजरायलका सबै ठुला खतरा समाप्त पार्ने र सायद इरानमा शासन परिवर्तनका लागि पनि परिस्थिति निर्माण गर्ने वाचा गरेका थिए। तर अब उनका आशा र वास्तविकताबिच भिन्नता देखिएको छ।’

उनका भनाइमा ‘यदि ट्रम्प साँच्चै यो युद्धबाट बाहिर निस्कने बाटो खोजिरहेका छन् भने इजरायलका प्रधानमन्त्री कठिन परिस्थितिमा पर्न सक्छन्।’

मिलस्टाइन अगाडि भन्छन्, ‘यो एक प्रकारको 'क्याच-२२' अवस्था हो। यदि वार्ता भयो भने उनले युद्ध जारी राख्न सक्ने छैनन् र डोनाल्ड ट्रम्पलाई भन्न पनि सक्दैनन् कि म तिमीबिना पनि युद्ध जारी राख्छु। उनलाई थाहा छ- मैले यसलाई स्वीकार गर्नुपर्नेछ।’

मार्च २४ मा तेल अभिभको आवासीय क्षेत्रमा इरानले क्षेप्यास्त्र प्रहार गरेपछिको दृश्य

तर नेतन्याहु धेरै नाजुक सन्तुलन कायम राख्न खोजिरहेका छन्, किनकि उनले इजरायली जनतालाई आश्वासन दिएका थिए- यो युद्धले इरान र यस क्षेत्रमा उसका सहयोगीले उत्पन्न गरेको तत्कालको खतरा समाप्त पार्नेछ।

युद्धको यस चरणमा उनलाई इजरायली मतदाता र आफ्ना सहयोगीलाई स्वीकार हुने कुनै सम्झौता बनाउन सजिलो छैन।यसको मानक अब निकै उच्च भइसकेको छ।

लिकुड पार्टीका सांसद डान इलुज भन्छन्, ‘इजरायली जनता युद्धको अन्त्य चाहन्छन्, तर हामीलाई लाग्छ- सही अन्त्य तब मात्र हुनेछ जब हामी यो शासनलाई हराउनेछौँ, नकि यसलाई यत्तिकै छाडिदिऊँ र यसले हामीलाई बारम्बार सताइरहोस्।’

उनी थप्छन्, ‘हामीले पहिले पनि रोकथामको नीति अपनाइसकेका छौँ; हामीले हमाससँग पनि त्यस्तै गर्‍यौँ। र, हामीले अक्टोबर ७ मा परिणाम देख्यौँ। त्यसैले हामी इरानसँग पनि त्यस्तै होस् भन्ने चाहँदैनौँ।’

सोमबार अमेरिकाका राष्ट्रपति ट्रम्पसँग कुरा गरेपछि नेतन्याहुले इजरायलले इरान र लेबनन दुवैविरुद्ध आक्रमण जारी राख्ने र जुनसुकै हालतमा आफ्नो महत्त्वपूर्ण हितको रक्षा गर्ने अडान राखे। 

के भन्छन् इजरायलका रक्षामन्त्री?

इजरायलका रक्षामन्त्री इजरायल काट्ज

इजरायलका रक्षामन्त्री इजरायल काट्जले मंगलबार इजरायली सेनाले लेबननको लिटानी नदीको दक्षिणमा रहेको ठुलो क्षेत्रमा सुरक्षा क्षेत्र बनाउने घोषणा गरे। 

अनि इरानको समर्थन पाएको हेजबुल्लाहको आक्रमणबाट इजरायली समुदाय सुरक्षित नभएसम्म स्थानीयलाई फर्किन अनुमति नदिइने बताए।

इरानसँग युद्ध अन्त्य गर्ने सम्झौता भएको अवस्थामा पनि इजरायलले हुजबुल्लाहविरुद्ध सैन्य हमला जारी राख्न सक्ने ठानिएको छ।

तेल अभिभस्थित राष्ट्रिय सुरक्षा अध्ययन संस्थानका इरान विश्लेषक ड्यानी सिट्रिनोभिच भन्छन्, ‘दुई पक्षका अडान र अपेक्षाबिच ठुलो भिन्नता भएकाले इरानसँग सम्झौता हुने सम्भावना न्यून छ।’

उनी थप्छन्, ‘इरानको दृष्टिकोणबाट ऊ हारिरहेका छैन, बरु जितिरहेको छ, त्यसैले ऊ क्षतिपूर्ति र ग्यारेन्टी माग गर्नेछ। अर्कातर्फ ट्रम्पलाई लागिरहेको छ- इरानले अमेरिकाका सबै सर्त स्वीकार गर्नेछ।’

उनका भनाइमा ‘सम्झौतामा पुग्न ट्रम्प र नेतन्याहुले कि त इरानको शासन परिवर्तन गर्नुपर्नेछ कि आफ्ना सर्त खुकुलो पार्नुपर्नेछ।’

सिट्रिनोभिच भन्छन्, ‘यो (इरानी) शासन सजिलै झुक्नेवाला छैन; उसले अमेरिकालाई त्यो कुरा दिने छैन, जुन युद्धअघि दिएन। अन्तर्राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण कडी र विश्वको सबैभन्दा व्यस्त तेल मार्गमध्ये एक होर्मुज स्ट्रेट उसको नियन्त्रणमा छ। हाल इरानले यसलाई बन्द गरेको छ, त्यसैले उसले वार्ताका निम्ति आफ्नो महत्त्व बढिरहेको महसुस गरेको छ।’

ट्रम्पको कुन निर्णयले बढायो इरानको आत्मबल?

होर्मुज स्ट्रेट

ट्रम्पले गत आइतबार बिहान ‘यदि इरानले ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोलेन भने अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गरी ध्वस्त पार्ने’ चेतावनी दिए। 

तर इरानले आक्रमण गरिए मध्यपूर्वमा रहेका अमेरिका सम्बद्ध ऊर्जा आधारहरूमा हमला गरिने चेतावनी दिएपछि ट्रम्प उक्त अल्टिमेटम फिर्ता लिन बाध्य भए। जसले इरानको आत्मबल अझ बढायो। 

विश्लेषकहरू भन्छन्, ‘नयाँ वार्ताका लागि तयारीको संकेत दिएर ट्रम्पलाई धेरै नोक्सान हुनेवाला छैन।’

ट्रम्पको उद्देश्य ऊर्जा बजार शान्त पार्नु, इरानको नेतृत्वभित्र विभाजन सिर्जना गर्नु वा नयाँ सैन्य आक्रमणका लागि समय निकाल्नु हुन सक्छ। 

एक जानकार भन्छन्, ‘यदि अमेरिकाले शुक्रबार अचानक इरानविरुद्ध नयाँ सैन्य हमला थाल्यो भने अचम्म नमाने हुन्छ।’

यो युद्ध अब कि आत्मसमर्पण गर्ने कि अझ चर्को बन्ने देखिन्छ। किनिक हाल कुनै पनि पक्ष त्यति कमजोर छैनन् कि आफ्नो शत्रुको सर्तमा सम्झौता गरून्। बीबीसीबाट भावानुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad