कोरोना भाइरस (कोभिड-१९) बाट आइतबारसम्म नेपाल बाहिर ७८ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ, उच्चस्तरीय स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी ब्रिटेनमा ५१ जनाले ज्यान गुमाएका छन्।
कोरोनाबाट संयुक्त राज्य अमेरिकामा ज्यान गुमाउने नेपालीको संख्या १५ पुगेको समितिले जनाएको छ।
‘अमेरिकामा न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो’, समिति संयोजक डा.सञ्जिव सापकोटाले नेपालखबरसँग भने, ‘कोरोनाका कारण ज्यान गुमाउनेमा यो हप्ता ५ जना थप भएका हुन्। युके-२, स्वीडेन-१, बहराइन-१, युएई-१ थपिएका छन्।’
कोरोनाबाट युरोपमा सबैभन्दा धेरै नेपालीको मृत्यु। हेर्नहोस् चार्ट

विदेशस्थित अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली दूतावास, एनआरएनए शाखा तथा स्थानीय संघसंस्थाको सहयोगमा समितिले तथ्यांक संकलन गरेको हो।
कोरोनाका कारण युएईमा ६, आयरल्यान्ड, टर्की, स्वीडेन, नेदरल्यान्ड्स र जापानमा १—१ जना नेपालीले ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ। यो तथ्यांक नेपाली समयअनुसार आइतबार बिहानसम्मको हो।
समितिको तथ्यांकअनुसार विदेशमा रहेकामध्ये कूल ५ हजार ४७२ नेपाली कोरोनाबाट संक्रमित छन्। यो संख्या नेपालभित्र संक्रमित हुनेहरुको संख्या बाहेक हो।
कोरोना संक्रमणमा पर्नेहरुमा विदेशस्थित अस्पतालमा कार्यरत ७४ जनाभन्दा बढी नेपाली चिकित्सक पनि छन्।
कोरोनाबाट सबैभन्दा बढी नेपाली कतारमा संक्रमित भएका छन्। ‘त्यहाँ दुई हजार तीन सय नेपाली संक्रमित भएका छन्, समितिले भनेको छ, ‘दोस्रो धेरै नेपाली संक्रमित हुने देश अमेरिका रहेको छ।’ अमेरिकामा १ हजार ५ सय नेपाली संक्रमित छन्।
कहाँ कतिको मृत्यु, कति संक्रमित? देशअनुसार हेर्नुहोस् चार्ट

कोरोना संक्रमणको दर विदेशमा रहेका नेपाली समुदायमा गत सातभन्दा कम भएको समितिको ठहर छ। संक्रमणमा परेकामध्ये २ हजारभन्दा बढी नेपाली सञ्चो भएको समितिले उल्लेख गरेको छ।
समितिका अनुसार विश्वभरिका नेपालीमध्ये २९ देशमा रहेकाहरुमा कोरोना देखिएको हो। ती मध्ये ९ देशमा नेपालीले ज्यान गुमाएका हुन्। २० देशका नेपालीमा कोरोना देखिएको छ।
एनआरएनए महासचिव डा. हेमराज शर्माका अनुसार कोरोनाका कारण अप्ठ्यारोमा परेका ४६ देशका नेपालीलाई राहतमा वितरणको काम समेत भइरहेको छ। राहतमा प्याकेजमा खाना, मार्क्स, सेनिटाइजर, औषधि समेत रहेको उनले जानकारी दिए।
‘४६ देशका २ सय ७० भन्दा बढी ठाउँमा नेपालीलाई सहयोग गर्ने काम भइरहेको हो। त्यसका लागि १ हजार ६ बढी स्वयंसेवक परिचालन भएका छन्’, शर्माले नेपालखबरसँग भने।
सबैभन्दा बढी खाडी मुलुकमा नेपाली संक्रमित। हेर्नुहोस् चार्ट


प्रतिक्रिया