इजरायली सेनाले गाजामा बाँकी रहेका अन्तिम बन्धकको शव फेला पारिएको बताएको छ।
इजरायली सेनाका अनुसार अन्तिम बन्धकका रूपमा इजरायली प्रहरी विशेष बलका २४ वर्षीय रान ग्भिलीको शव भेटिएको हो।
इजरायली सेनाले सामाजिक सञ्जालमा लेखेको छ, ‘हामीसँग भएको जानकारी र गुप्तचरअनुसार इजरायली प्रहरी विशेष बलमा सेवा गर्ने २४ वर्षीय रान ग्भिली २०२३ अक्टोबर ७ बिहान कारबाहीमा मारिएका थिए र उनको शव गाजा लगिएको थियो।’
रान ग्भिलीको शव पहिचान भइसकेको र गाड्नका लागि इजरायल फिर्ता ल्याउन लागिएको इजरायली सेनाले उल्लेख गरेको छ।
इजरायली रक्षा बलले एक्समा पोस्ट गरेको छ, ‘आधिकारिक रूपमा गाजामा अब कुनै पनि बन्धक छैनन्।’
इजरायली सेनाले गत वर्ष अक्टोबरमा हमाससँग युद्धविराम सुरु भएदेखि नै रान ग्भिलीको खोजी गरिरहेको थियो।
हमासले युद्धविरामको ७२ घण्टाभित्र मृत वा जीवित सबै बन्धक फिर्ता गर्नुपर्ने सर्त थियो।
यस क्रममा उसले २० जीवित र २७ मृत बन्धक (इजरायली र विदेशी) को शव हस्तान्तरण गरेको थियो।
तर ग्भिलीलाई फेला पार्न नसकेको दाबी हमासले गरिरहेको थियो।
ग्भिली पत्ता लागेको र उनको शव फिर्ता गर्ने कार्य पूरा भएपछि इजिप्टसँग गाजाको मुख्य सीमा नाका पुनः खोलिने इजरायलले बताएको छ।
Shares

प्रतिक्रिया