नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा यसपटक युवा नेता क्षितिज थेबे अगाडि सरेका छन्। कांग्रेसबाट जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याङ लिम्बु, नेपाली कम्युनिष्ट पार्टीबाट खेलप्रसाद बुढाक्षेत्री र राष्ट्रिय स्वतन्त्र पार्टीबाट वीरेन्द्र श्रेष्ठ चुनावी मैदानमा छन्। श्रम संस्कृति पार्टीका सन्तोष राईसहित १३ जना चुनावी मैदानमा छन्।
ताप्लेजुङ एमालेको गढ नै हो। जहाँ पछिल्ला चार वटा चुनाव एक्लै लड्दा होस् वा गठबन्धन हुँदा, एमाले अपराजित छ। पछिल्ला १२ वर्षभित्र क्षितिजका बुबाआमाले नै संसदीय यात्रा गरेका छन्। एमालेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका क्षितिजका बुबा भूपेन्द्र थेबे २०७० सालमा निर्वाचित भए। आमा उर्मिला थेबे निवर्तमान सांसद हुन्। २०७९ मा उनी समानुपातिक सांसद भइन्।
बुबा–आमापछि अहिले संसदीय यात्रामा छन् क्षितिज। युवा संघका अध्यक्ष समेत रहेका उनी एमालेको ११ औँ महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
यही महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको फरक कित्तामा उभिएका योगेशले ताप्लेजुङबाट यसपटक टिकट पाएनन्। योगेशले यसअघि २०७९ को निर्वाचनमा कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका थिए। यो चुनावमा २०८ मतले जितेका योगेश त्यसअघि २०७४ सालमा पनि विजयी भएका थिए।
त्यसअघि २०६४ सालको निर्वाचनमा दुई वटा क्षेत्र रहेकोमा एमाले र कांग्रेसका उम्मेदवार एक–एक क्षेत्रमा निर्वाचित भएका थिए। क्षेत्र नं १ मा कांग्रेसका सूर्यमान गुरुङ र २ मा एमालेका डम्बरध्वज तुम्बाहाम्फेले चुनाव जिते। देशभर माओवादीको लहर हुँदा पनि ताप्लेजुङमा माओवादी नेता राम कार्की करिब ३ सय मतले सूर्यमानसँग पराजित भएका थिए। त्यसपछि एमालेले एकलौटी जित्दै आएको छ।
२०७० सालमा सूर्यमान समानुपातिकमा बसे। दुवै क्षेत्र एमालेले जित्यो। क्षितिजका बुबा भूपेन्द्रले क्षेत्र नं १ जित्दा डम्बरध्वजले क्षेत्र नं २ मा जित दोहोर्याए। डम्बरध्वज एमाले ताप्लेजुङका अध्यक्ष हुन्। यसअघि क्षितिजका बुबा भूपेन्द्र एमालेको जिल्ला अध्यक्ष थिए।
राजनीतिक पृष्ठभूमि बलियो भए पनि क्षितिजलाई अहिले योगेश फ्याक्टरको चिन्ता छ। योगेशले टिकट नपाउँदा एउटा समूह असन्तुष्ट छ। त्यो समूहलाई भड्किन नदिन योगेश आफै पनि सक्रिय छन्। अन्य पार्टीका उम्मेदवार भने यही असन्तुष्ट पक्षको मत तानेर संसद् छिर्ने सपना देख्दैछन्।
कांग्रेसले आफ्नो मुख्य प्रतिस्पर्धी एमालेलाई ठानेको छ। तर आफ्नो माहोल राम्रो बन्दै गएको देखेका गजेन्द्र काठमाडौँमा रहेका ताप्लेजुङका मतदातालाई भेटेर सोमबार मात्रै जिल्ला फर्किएका हुन्। अब योजना बनाएर चुनावी अभियान सुरु गर्ने कांग्रेसको तयारी छ। अहिले घरदैलो गरिरहेको छ।
गजेन्द्रलाई रास्वपाका उम्मेदवारले एमालेको बढी मत तान्ने आकलन छ। हर्क साम्पाङको पार्टी पनि पहिलो पटक चुनावमा छ। यो पार्टीले पनि आफ्नो भन्दा एमालेकै मत घटाउने उनको विश्लेषण छ।
तर, क्षितिज यो कुरा स्वीकार्दैनन्। आफ्नो माहोल धेरै राम्रो देख्छन्। आफूले टिकट पाएकोमा जनता हर्षित भएको उनको दाबी छ। केही प्रश्न भने एमालेलाई पक्कै छन्। आफूले प्रश्न सुन्ने भएकैले प्रश्न गरिएको ठान्छन् उनी।
‘चुनाव जितेपछि नियमित जनताको सम्पर्कमा बस्नु पर्यो। काम गर्नु पर्यो। तपाईंले चुनाव जितेपछि के गर्नुहुन्छ भनेर जनताले सोधेका छन्,’ क्षितिजले भने, ‘अरु प्रतिस्पर्धीलाई जनताबाट त्यति राम्रो रेस्पोन्स छैन। मलाई कुनै दल विशेष मात्रै होइन, सबै पक्षका मान्छेहरू भेट्न आइरहनु भएको छ।’
पार्टी बाहिरबाट पनि आफूले सहयोग पाउने उनको विश्वास छ। हिजोको दिनमा भएका नराम्रा काम बिर्सिन उनले मतदातालाई आग्रह गरिरहेका छन्।
तर नेकपाका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री आफ्नो पनि माहोल राम्रो बन्दै गएको दाबी गर्छन्।
‘विगत हेरेर हुँदैन आजको हेर्नु पर्यो। जेनजी आन्दोलनपछि नेपालको समग्र राजनीतिमा उथलपुथल भएको छ। त्यसको प्रभाव यहाँ पनि परेकै छ। नेपाली कम्युनिस्ट पार्टी बलियो बन्दै गइरहेको छ,’ खेलप्रसादले भने, ‘जनतालाई पनि अब मलाई जिताउनुपर्छ भन्ने सहानुभूति छ।’
२०७९ को निर्वाचनमा उनी २०८ मतले पराजित भएका थिए। त्यसको सहानुभूति आफूले पाउने आशा उनलाई छ। नेकपामा अरु पार्टीमा जस्तो विवाद पनि छैन। जिल्लामा कांग्रेस पनि एकढिक्का नरहेको र एमालेमा पनि असन्तुष्टि रहेकोले आफूलाई फाइदा हुने हिसाब उनले गरेका छन्।
‘धेरै मत तलमाथि हुँदैन। मैले पहिलो स्थान लिन्छु, दोस्रोमा उहाँहरूको प्रतिस्पर्धा हुन्छ,’ बुढाक्षेत्रीले भने, ‘रास्वपाले पनि सम्मानजनक भोट ल्याउँछ, प्रतिस्पर्धी मत छैन।’
यसअघिको निर्वाचनमा कांग्रेससँग मिल्दा खेलप्रसादले २१ हजार ७३८ मत पाएका थिए। योगशले २१ हजार ९४३ मत ल्याएर जिते। प्रत्यक्षमा टक्कर दिएका खेलप्रसादको पार्टी तत्कालीन माओवादीको समानुपातिक मत भने निकै कम छ।
एमालेले १९ हजार ६०४ मत पाएको थियो। कांग्रेसको १५ हजार ७३५ र माओवादीको ५ हजार १६२ मत थियो। अहिले नेकपामै रहेको एकीकृत समाजवादीको मत त्यतिबेला १ हजार ५४५ थियो। प्रत्यक्षमा उम्मेदवार नउठाएको रास्वपाले पनि ९७८ मत समानुपातिकमा पाएको थियो।
त्यसअघि २०७४ सालको निर्वाचनमा एमाले र माओवादीको गठबन्धन थियो। योगेश २९ हजार ४७९ मतसहित निर्वाचित हुँदा कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत पाएका थिए। समानुपातिक मत एमालेको २० हजार ७४०, कांग्रेसको १४ हजार ७९९ र माओवादीको ६ हजार ३४१ थियो।
यसपालि रास्वपाले मत बढाउने आकलन प्रतिस्पर्धी दलका उम्मेदवारको छ। श्रम संस्कृतिको पनि राम्रै प्रभाव देखिएको छ।
Shares

प्रतिक्रिया