भारतको राजधानी दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसननजिकै भएको कार बम विस्फोटबारे अनुसन्धान जारी छ।
सोमबार साँझ भएको शक्तिशाली विस्फोटमा मारिनेको संख्या १२ पुगेको छ भने २० घाइतेको उपचार भइरहेको छ।
यस घटनामा पक्राउ परेका आठ जनाको प्रारम्भिक बयानबाट दिल्ली विस्फोट धेरैवटा प्रमुख सहरमा शृंखलाबद्ध हमला गर्ने योजनाअन्तर्गत भएको संकेत मिलेको दैनिक भास्करले उल्लेख गरेको छ।
विस्फोट भएको आई२० कारका चालकलाई कश्मीरको पुलवामा निवासी डा. उमर नबी रहेको भनी प्रहरीले दाबी गरेको छ। उमर पनि विस्फोटमा बिते। उनी फरिदाबादको अल फलाह विश्वविद्यालयमा सहायक प्राध्यापक थिए।
प्रहरीले उमरका शरीरका अंग पहिचान गर्न जम्मु कश्मीरमा रहेकी उनकी आमाबाट डीएनए नमुना लिएको छ।
स्रोतका अनुसार दिल्ली-एनसीआर र पुलवामामा निरन्तर छापा मार्ने क्रममा उमर दबाबमा थिए। यसपछि हतारहतार अधुरो आईईडी तयार पारिएको थियो, जसले गर्दा कार विस्फोट भयो। यसैकारण विस्फोटको असर सीमित भयो।
विस्फोटको कारण फरिदाबादबाट बरामद सामग्रीसँग मिलेको देखिन्छ। यो मोड्युल जम्मु कश्मीर, हरियाणा र उत्तर प्रदेशमा सक्रिय जैस-ए-मोहम्मद र अन्सार गजवत-उल-हिन्दसँग जोडिएको छ।
Shares

प्रतिक्रिया